• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

कतारका राजा काठमाडौँमा



काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आईपुग्नुभएको छ । दुई दिने भ्रमणका क्रममा उहाँ मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थल पुगेर स्वागत गर्नुभएको छ । बङ्गलादेशको भ्रमणमा रहनुभएकाका अमिर त्यहाँको कार्यक्रम सकेर काठमाडौँ आउनुभएको हो।

कतारी अमिरले आज नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उहाँको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नुहुनेछ ।

त्यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनुहुनेछ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल र कतारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति ९रासस० र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदाप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।

कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भएपनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ । कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् ।

कतारका अमिर थानी वैशाख १२ गते नै अपराह्न काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।