२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

देउवाले नचाहे पनि कांग्रेसको विरोध कार्यक्रम

देउवाले नचाहे पनि कांग्रेसको विरोध कार्यक्रम
अ अ+ अ-

काठमाडौँ । कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम सच्याउन माग राख्दै थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ । सभापति शेरबहादुर देउवा थप आन्दोलन गर्ने पक्षमा नरहे पनि संस्थापनइतर पक्षको दबाबपछि केन्द्रीय कार्यसमितिले मंगलबार दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो  । माघ १९ गते भ्रातृसंस्था र माघ २४ गते शुभेच्छुक संस्थाको संयुक्त आयोजनामा देशभर प्रदर्शन तथा पार्टी जिल्ला कार्यसमितिको आयोजनामा माघ ३० गते सबै जिल्लामा प्रदर्शन र विरोधसभा गर्ने कांग्रेसको निर्णय छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार कस्तो खालको विरोध कार्यक्रम ल्याउने भन्नेमा पदाधिकारी र शीर्ष नेताहरूबीच लामो छलफल भएको थियो । त्यहाँ सहमति बनेपछि बैठकले कार्यक्रम अनुमोदन गरेको हो ।पार्टी सभापति शेरबहादुर देउवा भने थप आन्दोलन गर्ने पक्षमा थिएनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका संस्थापनइतर पक्षका नेताहरू सशक्त आन्दोलन गर्नुपर्ने अडानमा थिए । उनीहरूले राजधानी र जिल्लाकेन्द्रित जनप्रदर्शन गर्नुपर्ने प्रस्ताव पनि अनौपचारिक छलफलका क्रममा राखेका थिए ।

नेकपाका दुवै समूहले राजधानी केन्द्रित ठूला सभाहरू गरिरहेका बेला कांग्रेसले पनि त्यस्तै खालको सभा गर्नुपर्नेमा पौडेल–सिटौलाको जोड थियो । विरोधका कार्यक्रमको आवश्यकता नभएको तर्क गरेका देउवा अदालतको निर्णय पर्खनुपर्ने पक्षमा थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक भन्दै वडा तहसम्म विरोध भइसकेकाले थप कार्यक्रमको औचित्य नरहेको देउवाको भनाइ थियो । पहिले घोषित कार्यक्रम माघ ८ मा सकिएलगत्तै तत्काल थप कार्यक्रम ल्याउन पौडेल र सिटौलाले दबाब दिँदै आएका थिए । अनौपचारिक छलफलमा सहभागी नेताहरूका अनुसार प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा कांग्रेस उभिएको सन्देश नजाओस् भन्ने सोचेरै देउवाले सडक विरोधलाई सशक्त बनाउन नचाहेका हुन् ।

देउवानिकट केही नेताले थप आन्दोलन आवश्यक नरहेको उल्लेख गर्दै अदालतको निर्णय पर्खनुपर्ने अभिव्यक्ति दिँदै आएका थिए । देउवाले यस विषयमा सोमबार आफूनिकटका नेताहरूसँग छलफलसमेत गरेका थिए । पार्टीभित्रको दबाबका बीच सडक संघर्षलाई बेवास्ता गरेर अघि बढ्दा गलत सन्देश जाने भन्दै संस्थापन पक्षकै कतिपय नेताले सांकेतिक भए पनि विरोधको कार्यक्रम ल्याउन सुझाएका थिए । त्यसपछि मात्रै देउवा सामान्य खालका जनप्रदर्शन गर्न तयार भएका हुन् । केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअघि पनि कस्तो खालको विरोध प्रदर्शन गर्ने भन्नेबारे छलफल भएको थियो ।

पौडेल र सिटौलाले प्रस्ताव गरेजस्तो बृहत् जनप्रदर्शनको कार्यक्रम राख्न भने देउवा तयार भएनन् । ‘बृहत् जनप्रदर्शनका कार्यक्रम पछि गर्ने भनेरै अहिले भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीको आयोजनामा तीन दिनको कार्यक्रम ल्याइएको हो,’ देउवानिकट एक नेताले भने । नेता अर्जुननरसिंह केसीले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम र ओली नेतृत्वको सरकारका तीन वर्षका बेथितिलाई समेत मुद्दा बनाएर विरोध प्रदर्शनमा जाने बताए । ‘आन्दोलनको मुख्य उद्देश्य नै संविधानको रक्षा गर्ने हो । आफ्नै नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्ने दायित्व पनि कांग्रेसकै हो,’ उनले भने ।

अधिवेशन गराउन नसकी तदर्थमा चल्दै आएमध्येका ११ वटा भ्रातृसंस्थाको ६ महिना म्याद थप्ने निर्णय बैठकले गरेको छ । महिला संघ, तरुण दल, विद्यार्थी संघ, भूतपूर्व सैनिक संघ, प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको म्याद थपिएको हो ।

नागरिकमाथि दमनको भर्त्सना

नागरिक समाजको शान्तिपूर्ण आन्दोलनमा सोमबार सरकारले दमन गरेको घटनाप्रति कांग्रेस बैठकले निन्दा गरेको छ । प्रदर्शन गर्न पाउनु अधिकार रहेको उल्लेख गर्दै कांग्रेसले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरू देशविरोधी हुन् भनी दिएको अभिव्यक्ति अनुचित र अलोकतान्त्रिक रहेको टिप्पणी कांग्रेसले गरेको छ । सर्वोच्च अदालतमा जारी बहसलाई तमासाको संज्ञा, वरिष्ठ अधिवक्ताको अपमान, आलोचक पत्रकारमाथि अशोभनीय टिप्पणी ओलीले गरेको उल्लेख गर्दै कांग्रेसले प्रधानमन्त्रीको गरिमा राख्न उनी असफल भएको ठहर गरेको छ ।

यसैबीच केन्द्रीय सदस्य महेश आचार्यले पार्टीको संगठन समायोजन समितिबाट मंगलबार राजीनामा दिएका छन् । लोकतान्त्रिक फोरमसँग एकीकरणपछि समायोजनका धेरै काम पूरा भएको भन्दै उनले राजीनामा दिएका हुन् । कान्तिपुर दैनिक