• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र ★   पहिरोले पुरिँदा बालकको मृत्यु ★   एकीकृत समाजवादी महाधिवेशन: बन्दसत्र सुरु ★   नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ? ★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट !

कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित



विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो ।
प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन)समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा सो सङ्कल्प प्रस्ताव पेस गर्नुभएको थियो ।
प्रस्तावलाई सभामुखले मत विभाजन गरी निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तावका पक्षमा ५२ जना, तीन तटस्थ र विपक्षमा रहने सदस्यहरु सहभागी हुन नचाहेकाले प्रस्ताव बहुमतले पारित भएको ब्यहोरा पढेर सुनाउनुभयो ।
इन्द्रबहादुर आङ्बो, नारायणबहादुर मगर, गोम्बू शेर्पा, गीता तिमल्सिना, सपना दर्जी, लीलाबल्लभ अधिकारी, कमला दर्नाल, विदुरकुमार लिङ्थेप, तिलचन पाठक र निर्मला लिम्बूले सङ्कल्प प्रस्तावको समर्थन गर्दै मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने वा विश्वासको मत लिनुपर्ने बताउनुभयो ।
छलफलकै क्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई सङ्कल्प प्रस्तावको समर्थन नगरे पनि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिई संविधान पालना गर्नुपर्ने बताउनुभएको थियो ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाम र विनोद राईले प्रस्तावकर्तालाई प्रदेशको विकास, समृद्धि र गरिबी निवारणका निम्ति सङ्कल्प प्रस्ताव ल्याउन आग्रह गर्दै उक्त प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो ।
छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीले आफूले ८६ जनाको विश्वासको मत प्राप्त गरेको बताउनुभयो । आफूले प्रक्रिया पूरा गरी विश्वासको मत लिएको उहाँको भनाइ थियो ।
संवैधानिक सङ्कटबाट पार लगाउन र राजनीतिक निकास दिन आफू मुख्यमन्त्री बन्दा संसद् विघटन हुनबाट जोगिएको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार थोरै समयमा धेरै जनहितका काम गरेकाले सङ्कल्प प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभयो ।
उहाँले संविधान र विधान पालना गर्ने प्रतिबद्धता जनाउँदै आफ्नै नेतृत्वमा सर्वदलीय सरकार बनाई प्रदेशको बृहत् हितमा काम गर्न अपिल गर्नुभयो । मुख्यमन्त्री कार्कीले आफूले संविधान र कानुनअनुसार नै काम गरेकाले सङ्कल्प प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो ।