• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो

राजुबाबु, हरि र विश्व नेपालीको गजल ‘कसले रचायो माया’ सार्वजनिक



काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका तीन सुपरिचित नाम गीतकार डा. राजुबाबु श्रेष्ठ, संगीतकार हरि लम्साल र गायक विश्व नेपालीको सांगीतिक सहकार्यमा निर्माण भएको ‘कसले रचायो माया’ बोलको गजल युट्युबबाट सार्वजनिक गरिएको छ ।

ट्वेल्ब नोट्सले बजार व्यवस्थापन गरेको र हरि लम्सालकै संगीत संयोजन रहेको यो गजल नेपाली संगीत पारखीहरुको लागि एउटा राम्रो कोसेली बन्नेछ भन्ने विश्वास गर्न सकिन्छ । गजल सुन्दा शब्द, संगीत र स्वर तीनै पक्ष बेजोड लाग्छन् । शब्दलाई संगीतले न्याय गरेको छ भने शब्द संगीतलाई स्वरले साथ दिएको छ । समग्रमा नेपाली संगीत भण्डारमा एउटा स्तरीय र कर्णप्रीय गीत थपिएको छ ।

गीत सार्वजनिक हुँदै गर्दा यसका प्रथम सर्जक गीतकार डा. श्रेष्ठसँग हामीले सोधेका थियौँ । गीतका बारेमा उहाँको मत यस्तो थियो ‘छ वर्ष अगाडि नै संगीत सिर्जना गरिएको गजल हो यो । हरि भाई र विश्व भाई दुबै मेरा लागि प्रीय छन् । प्रीय मात्र होईन आफ्नो क्षेत्रमा दुबै अब्बल पनि छन् । त्यसैले पनि उनीहरु दुबैसँग म सिर्जनाका लागि सहज महशुस गर्दछु । हामी तीनजनाको सहकार्यमा यस अघि पनि ‘सारा संसारै भुलेर’ बोलको गजल आएको थियो । जुन श्रोताले रुचाईदिनु भएको थियो । यसलाई पनि पक्कै मन पराईदिनुहुनेछ भन्ने विश्वास लिएको छु । आजबाट यो हाम्रो हातबाट बाहिर गएको छ । आम श्रोताको भएको छ । श्रोताको अदालतमा जे निर्णय हुन्छ स्वीकार्य छ ।’

उहाँले अगाडि भन्नुभयो ‘शाश्त्रीय संगीतमा आधारित गायकको गायकी देखिने खालको गजल बनेको छ । यो गजल संगीतका विधार्थीहरुको लागि एउटा राम्रो पाठ बन्नेछ भन्ने मेरो विश्वास छ । राजुबाबु दाईको शब्दमा मैले ‘पानीको फोका जस्तै’, ‘सकिएन भुल्न,’ ‘तिम्रो माया रैछ पानी जस्तो’ लगायत दर्जनौँ सफल गीतहरु गरिसकेको छु तर यो गजलसँग मेरो मोह छुट्टै छ । यसमा विश्व भाईको गायकीको जति तारिफ गरे पनि कम हुन्छ जस्तो लाग्दछ । बाँकी श्रोताको जिम्मामा ।’

‘राजुबाबु दाई र हरि दाई दुबै जना मेरा लागि आदरणीय हुनुहुन्छ । उहाँहरुसँगको सहकार्यको लागि म सधै किन लालायीत हुन्छु भन्ने कुराको जवाफ मैले यस गीतबाट श्रोतामाझ पस्केको छु । मेरो तर्फबाट मैले उत्कृष्ट दिएको छु बाँकी मेरो भगवानका रुपमा रहेका श्रोताको मायाले निर्धारण गर्दछ ।’ – गायक विश्व नेपाली गीतका बारेमा यस्तो धारणा राख्नुहुन्छ ।

वर्तमान सन्दर्भमा गीत सुन्ने भन्दा पनि हेर्ने सिर्जनाको रुपमा विकास हुँदै गइरहेको पाईन्छ । आवश्यक बजेट नहुँदा र खर्च गरेर म्युजिक भिडियो बनाउन नसक्दा राम्रा र उत्कृष्ट गीतहरु पनि ओझेलमा परेका थुप्रै भेटिन्छन् । गीत ज्यादै उत्कृष्ट रहे पनि सरल र सामान्य म्युजिक भिडियोका कारण यो गीत पनि अन्यायमा नपर्ला भन्न सकिन्न । यस्ता मिठा गीतहरुलाई माया गर्न सके मात्र नेपाली संगित क्षेत्रमा स्तरीयता कायम रहन जान्छ भन्ने कुरामा भने हाम्रो पनि सहमति रहेको कुरा प्रष्ट पार्न चाहन्छौँ ।