• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

माधव नेपालको घुर्कीले दाहाल र ओली दिक्क, गठबन्धन छाडेर जान दिए चुनौती !



काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा १० सिट लिएर बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चर्को दबाबमा परेका छन् । गठबन्धनको बैठकमा जहिल्यैसुकै मान र आफ्नो हैसियतभन्दा ठूलो भाग खोज्ने गरेका अध्यक्ष नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन छाडेर जान चुनौती दिएपछि दबाबमा परेका हुन् ।

पूर्वप्रधानमन्त्री भइसकेका नेता नेपाल पछिल्लो समयमा गठबन्धनमा निकै मान खोज्ने गरेका थिए । उनले अहिलेको सत्ता समीकरण जोगाउन आफ्नो ठूलो हात रहेको दाबी गर्दै मान खोज्ने गरेका हुन् । प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीसँगको छलफलमा पनि अध्यक्ष नेपालले भाउ खोज्ने गरेका थिए । गठबन्धन टिकाउन आफ्नो दल निर्णायक भूमिकामा रहेकाले उनले दाहाल र ओलीलाई राजनीतिक नियुक्तिमा दबाब दिने गरेका थिए ।

अध्यक्ष नेपालले कहिले राष्ट्रिय सभाको उपाध्यक्ष आफ्नो दलका नेतालाई बनाउनुपर्ने त कहिले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्यमा पनि आफूले भनेकै व्यक्तिलाई पठाउनुपर्ने अड्डी कस्ने गरेका थिए । त्यति मात्र नभएर अहिले दुई जना सांसद्लाई मन्त्री बनाउन सफल भएका उनले थप एक मन्त्रालयले दिनुपर्ने दबाब प्रधानमन्त्री दाहाल र ओलीलाई दिने गरेका थिए ।

संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति होस् वा प्रदेशमा समीकरण परिवर्तनका विषयमा हुने छलफलमै किन नहोस् अध्यक्ष नेपालले आफ्नो पार्टीको हैसियतभन्दा बढी माग गर्ने गरेका थिए । कतिसम्म भने प्रदेशको एउटा मुख्यमन्त्री आफ्नो दललाई नदिए संघीय गठबन्धन धरापमा पर्ने चेतावनी उनले दिएका थिए । जबकी नेपालको दल एकीकृत समाजवादीको कुनै पनि प्रदेशमा पहिलो, दोस्रो त होइन तेस्रो दलको हैसियतमा पनि छैन । त्यति गर्दा पनि उनले मुख्यमन्त्री दाबी गर्न कहिल्यै छाडेनन् ।

केही दिनअघि एकीकृत समाजवादीका अध्यक्ष नेपालले बालुवाटारमा भएको तीन जना शीर्ष नेताहरुको बैठकमा यो गठबन्धन आफ्नो त्यागका कारण मात्र टिकेको र आफ्नै त्यागले मात्र बनेको समेत भन्न भ्याए । उनले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरे पनि अस्वीकार गरेर अहिलेको गठबन्धनलाई टिकाएको दाबी उनले गरे । हैसियतभन्दा ठूलो कुरा गर्ने र जुनसुकै विषयमा अड्को मात्र थाप्न थालेपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली वाक्कदिक्क भइसकेका थिए ।

त्यही क्रममा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धनमा असहज भए छाडेर जान चुनौती दिए । दाहाल र ओलीले आफूलाई फकाउलान् भन्ने उद्देश्यले घुर्की लगाइरहेका नेपाललाई गठबन्धनमा असहज भए छाडेर जान र कांग्रेसले प्रधानमन्त्री बनाइ दिने भए प्रस्ताव स्वीकार गर्न चुनौती दिए । त्यसपछि अध्यक्ष नेपाल फन्किएर बालुवाटारबाट बाहिरिएका थिए । उनले आफूलाई दाहाल र ओलीले अपमान गरेको भन्दै असन्तोष व्यक्त गरे । यसबारेमा उनले तत्काल पार्टीको सचिवालय बैठक बोलाएर छलफल गरे । त्यति मात्र होइन, अब गठबन्धन छाड्नुपर्ने प्रस्तावसमेत राखे ।

अध्यक्ष नेपालले पार्टी सरकारबाट फिर्ता हुनुपर्ने भन्ने पक्षमा आफ्नो राय दिए । तर बैठकमा यस विषयमा एकमत हुन सकेन । नेता झलनाथ खनालले अहिलेको गठबन्धन प्रगतिशील भएकाले मिलेर अघि बढ्नुपर्ने बताए । नेकपा एकीकृत समाजवादीका तर्फबाट सामान्य प्रशासन मन्त्री भएका भानुभक्त जोशी र शहरी विकास मन्त्री बनेका धनबहादुर बुढाले सरकारबाट कुनै हालतमा बाहिरिनु नहुने तर्क गरे । सरकारबाट बाहिरिँदा आफ्नो पार्टी नै जोगाउन नसक्ने अवस्था आउने चेतावनी उनीहरुले दिए । अन्य नेताहरुले पनि सरकारमा हुँदा वा नहुँदा पनि पार्टीमा समस्या देखिइसकेको बताए ।

संघीय सत्ता गठबन्धनमा आफ्नो पार्टीले समर्थन गरे पनि र फिर्ता लिए पनि खासै अर्थ नहुने बुझेपछि नेपालले सुदूरपश्चिम प्रदेश सरकार गठनमा विपक्षीको कित्ता रोज्न लगाए । उनले सुदूरपश्चिम प्रदेशमा एमाले–माओवादीलाई टक्कर दिन सके फेरि दाहाल र ओलीलाई झुकाउन सकिने अपेक्षा थिए । त्यही अनुसार कांग्रेस र राप्रपाको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने तयारीमा रहेका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्न लगाए । तर उनले भने जस्तो सहजै सुदूरपश्चिममा गठबन्धनलाई अप्ठ्यारो परेन । प्रधानमन्त्री दाहालसँग छलफलपछि एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिममा लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता गर्न लगाए ।

प्रधानमन्त्रीसँगको छलफलमा खनालले सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई दिने सहमत गराएका छन् । सम्भवत: अब गठबन्धन दलका तर्फबाट समाजवादीका नेता दीर्घराज सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने छन् । तर यसमा माधवकुमार नेपालको कुनै हात नरहेको बताइएको छ । पार्टीभित्रै पनि नेपाल झन् अप्ठ्रोमा परेका छन् । आफैंले गठबन्धन तोडेर सुदूरपश्चिममा कांग्रेस–राप्रपा–नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने निर्णय गराएका नेपाल अब कति दिन अपमान रहेरै गठबन्धनमा बस्छन् भन्ने चाहिँ यकीन छैन । तर उनलाई गठबन्धनबाट बाहिर निस्कन अब निकै कठीन चाहिँ निश्चय नै भएको छ । योसँगै नेपालले अब के गर्छन् भन्ने अन्योल पनि देखिएको छ ।