• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज



जानकी । नेपालगञ्ज उपमहानगरपालिकाले धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । नयाँ वर्ष २०८१ को प्रारम्भसँगै धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको उपमहानगर कार्यालयले जनाएको छ ।

पहिलो चरणमा सचेतना प्रवर्द्धन र कानुनी प्रावधानबारे सचेत बनाउने गरी उपमहानगर अगाडि बढेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । धूमपान तथा सुर्तीजन्य पदार्थको कानुनसम्मत बिक्री वितरण, सार्वजनिक ठाउँमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवनदर घटाउने उद्देश्यका साथ अभियान थालिएको उहाँले जानकारी दिनुभयो ।

धूमपान र सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई आमनागरिकमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाइने प्रमुख विष्टको भनाइ छ ।

सचेतना प्रवर्द्धको अभियानसँगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने नीति उपमहानगरले लिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । उहाँले सार्वजनिक ठाउँ, निकाय र पसलहरुमा नियमन गर्ने बताउँदै पालना नगरेको पाइए सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ बमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाले आज बिहान प्रभातफेरी गरेर अभियानको औपचारिक सुरुआत गरेको छ । धूमपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतनामूलक प्रभातफेरी गरिएको प्रमुख विष्टले बताउनुभयो । भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवनचोकमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, सर्वसाधारण, पत्रकारलगायतको उपस्थिति थियो ।

प्रभातफेरी पश्चात् आयोजित कार्यक्रमलाई नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख कार्कीले सम्बोधन गर्दै धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आम नगरवासीको साथ आवश्यक रहेको बताउनुभयो । स्वस्थ र सुसंस्कृत समाज निर्माणका लागि प्रत्येक नागरिकले स्वत:स्फूर्त धूमपान र सुर्तिजन्य पदार्थ त्याग्ने प्रतिज्ञा गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

धूमपान र सुर्तिजन्य पदार्थको सेवनले मुटु रोग, क्यान्सर जस्ता खतरनाक रोगको जोखिम बढाइरहेको छ । एक अध्ययन अनुसार कूल मृत्युको १५ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । २९.९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको प्रमुख विष्टले जानकारी दिनुभयो ।