• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति

जात्रामा सहभागी हुन मेयर बालेन्द्र शाहको निम्तो



तस्बिर : बालेन्द्र शाहको फेसबुक पेज

काठमाडौं । वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहा:द्य:को रथयात्रा आजदेखि सुरु हुँदैछ ।

पाहाँ च:ह्रे जात्राको समापनलगत्तै जनबहा:द्य: अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्‍याइन्छ ।

रथयात्रा समितिका अनुसार मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइएको परम्परागत किंवदन्ती छ । त्यसपछि चैत शुक्ल पूर्णिमाको दिन खटमा राखेर रथमा पुर्‍याउने चलन चल्दै आएको हो ।

तस्बिर : बालेन्द्र शाहको फेसबुक पेज

जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधिविधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने प्रचलन छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा आस्था प्रकट गर्ने मत्स्येन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ ।

सेतो मत्स्येन्द्रनाथ यात्राको प्रमुख आकर्षण हो । यो रथ ३२ हात अग्लो उचाइ बनाइन्छ । यो रथ बनाउन सातदेखि आठ दिनसम्म लाग्ने गर्दछ । दरबार मार्गबाट सुरु हुने यो यात्रा लगनमा गएर टुङ्गिन्छ ।

किंवदन्ती अनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा फेला परेको सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई घर लगेर धानको भकारीभित्र लुकाएका थियो । त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको हो ।

सोही परम्परा अुनसार जमलमै रथ बनाउने गरिएको छ । रथलाई लगनटोलमा रहेको मत्स्येन्द्रनाथको आमाको मन्दिर परिक्रमा गराई रथयात्रा सम्पन्न भएपछि सेतो मत्स्येन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रबहालस्थित मन्दिरमा लगिन्छ ।

रथ बनाउने कार्यमा काठमाडौँका महर्जन, तुलाधर, नकर्मी, मुनिकार, चित्रकार, मानन्धर आदि समुदायको भूमिका रहने गर्दछ । पाङ्ग्रादेखिमाथि गजुरसम्मै रथ निर्माण गर्ने र यात्रा सकिएपछि रथका पूर्जाहरू खोल्ने कामको जिम्मेवारी भने विभिन्न कवलका ७८ जना महर्जन परिवारलाई दिइएको हुन्छ ।

प्राचीन समयदेखि सञ्चालनमा रहेको सो यात्रा नेपालीको महत्वपूर्ण संस्कृतिका रूपमा लिइन्छ । रथयात्राको दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ । चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मछिन्द्रबहालसम्म यात्रा चलाइन्छ ।

त्यसै गरी बुधबार असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म रथ तानिने गरिन्छ । बिहीबार हनुमानढोका, चिकमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुने समितिले जनाएको छ । रथयात्राको रुट काठमाडौँ महानगरपालिका १, १९, २०, २३, २४, २५, २७ र २८ गरी नौ वटा वडा छन् ।

यसैबीच काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मछिन्द्रनाथको जात्रामा सहभागी हुन निमन्त्रण गर्नुभएको छ । शाहले आज सामाजिक सञ्जालमार्फत् सेतो मच्छिन्द्रनाथ रथयात्राको शुभकामना दिँदै, रथ अवलोकनको निमन्त्रणा गर्नुभएको हो ।

तस्बिर : बालेन्द्र शाहको फेसबुक पेज