२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राखिँदै

पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राखिँदै
अ अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले प्राचीन स्मारक संरक्षण ऐन र शैव दर्शनविपरीत हुने गरी पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने भएको छ । प्राचीन स्मारक संरक्षण ऐनले सम्पदा स्थलमा कुनै पनि नयाँ संरचना राख्न निषेध गरेको छ । यसअघि कोषले शिवलिंगमा सुनको जलहरी राख्न लाग्दा मन्दिरकै भण्डारी, स्थानीय बासिन्दा र सम्पदा संरक्षणकर्मीको विरोधले काम रोकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको हो । ‘शैव दर्शनअनुसार पशुपतिनाथलाई जलहरी लगाइदिन मिल्दैन,’ पशुपतिनाथका पालोवाला भण्डारी विजयराज भण्डारीले भने, ‘हामी यस्तो कामको विरोध गर्छौं ।’

कोष सञ्चालक परिषद्को बुधबार बसेको बैठकले सुनको जलहरी राख्ने काम अघि बढाउने निर्णय गरेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । ‘यही शिवरात्रिसम्ममा राखिसक्ने गरी काम अघि बढेको छ,’ उनले भने । प्रधानमन्त्री ओलीले सोमबार पशुपतिमा दर्शन र संकल्प पूजा गर्ने क्रममा काम अघि बढाउन निर्देशन दिनुका साथै सरकारले तत्काल ३० करोड रुपैयाँ उपलब्ध गराउने घोषणासमेत गरेका थिए ।

कोषले तीन वर्षअघि नै १ सय ४१ किलो सुनको जलहरी राख्ने गरी प्रक्रिया अगाडि बढाएको थियो । त्यस क्रममा पटकपटक सार्वजनिक सूचनासमेत निकालिएको थियो । तर विरोधपछि प्रक्रिया अघि बढेको थिएन । ‘जलहरी राख्ने मुद्दा लगभग मृत अवस्थामा थियो । अहिले प्रधानमन्त्री ओलीले ब्युँताएका छन्,’ कोषका पूर्वकोषाध्यक्ष तथा वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले भने, ‘हामी यो काम हुन दिँदैनौं ।’

तीन वर्षअघि भारतीय मूलका एक अरबी व्यापारीले पशुपतिको दर्शन गर्ने क्रममा सुनको जलहरी राख्न ८० किलो सुन दिने वचन दिएका थिए । त्यही बेलादेखि कोषले जलहरी राख्ने प्रक्रिया अघि बढाएको थियो । भण्डारीले समेत जलहरी राख्ने प्रक्रियाको विरोध गरेका थिए ।

विरोध बढेपछि विदेशी नागरिकबाट नभई भक्तजनबाटै सहयोग जुटाएर जलहरी राख्ने निर्णय कोषले गर्‍यो । कोषका कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा सहयोग संकलन समितिसमेत गठन गरिएको थियो । गत वर्षको शिवरात्रिमै कोषले सहयोग उठाउन सुरु गरेको थियो । जलहरी राख्न एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । भक्तजनबाट ४० लाख रुपैयाँ मात्र उठाएको कोषले जनाएको छ ।

कोष सञ्चालक समितिले चन्दा उठाउन गत वर्ष कार्यविधिसमेत पारित गरेको थियो । कार्यविधिमा सहयोग गर्न चाहनेले कम्तीमा १ तोला र बढीमा १ किलोसम्म सुन सहयोग गर्न सक्ने व्यवस्था थियो । सहयोग गर्न चाहनेले त्यही दिनको सुनको बजार भाउअनुसार रकम बैंकमा दाखिला गर्नुपर्ने प्रावधान थियो । शिवरात्रिलाई लक्ष्य गरी गत वर्ष पशुपतिनाथ मन्दिरमा पनि दुई वटा घैलासमेत राखिएको थियो । घैलामा गोप्य रूपमा स्वेच्छाले पैसा राख्न सकिने व्यवस्था थियो । घैलामा पैसा राख्नेको नाम रेकर्ड हुँदैन । बैंक दाखिला गरेर १ तोलादेखि १ किलोसम्म सहयोग गर्नेको भने अभिलेख राख्ने कार्यविधि थियो ।

रकम कति उठ्यो भनेर हरेक १५ दिनमा सूचना सार्वजनिक गर्ने कार्यविधिमा उल्लेख थियो । अब भने जलहरी राख्न भक्तजनसँग चन्दा नउठाइने कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए । ‘सरकारले दिएको रकमबाहेक बाँकी कोषले नै जुटाउँछ,’ उनले भने, ‘जनतालाई चाहिँ काम पारदर्शी गराउने प्रक्रियामा सहभागी गराउँछौं ।’

कोषले सुनको जलहरीले सौन्दर्य बढाउने र पशुपतिको सम्पत्ति बढ्ने दाबी गर्दै आएको छ । तर प्राचीन स्मारक संरक्षण ऐनको दफा १२ ले पुरातात्त्विक वस्तुको स्वरूप परिवर्तनमा निषेध गरेको छ । दफा १२ को खण्ड ग मा कुनै पुरातात्त्त्विक वस्तु नष्ट गरे, भत्काए, विरूप पारे, चोरी गरे, अनधिकृत रूपमा हटाए वा परिवर्तन गरे वा कुनै किसिमको हानि गरे सजाय हुने व्यवस्था गरेको छ । यस्तो पुरातात्त्विक वस्तुको विगोबमोजिम रकम असुल गरी ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने भनिएको छ ।

कोषका पूर्वकोषाध्यक्ष वैद्यले शिवलिंगमा सुनको जलहरी राख्नु उचित नरहेको बताए । ‘महादेव आफैं नांगै बस्छन् । यस्ता देवतालाई सुन किन लगाइदिनुपर्‍यो रु’ उनले भने, ‘महादेव आफू साधारण तर भक्तलाई धनी बनाउने देवता हुन् । सरल देवतालाई जटिल बनाइदिनु धार्मिक दर्शनविपरीत हो । यो शैव दर्शनविपरीत पनि हो ।’ वैद्यका अनुसार राणाकालमा चाँदीको जलहरी राखिएको थियो । ‘विभिन्न समयमा राजा–महाराजाले पनि गहना थपिदिए,’ उनले भने, ‘शिवलिंगमा गहना सुहाउँदैन । यो निरञ्जन, निराकार छ । कालो रङको शिवलिंग विशाल देखिन्छ । कालै रङको शिवलिंग हेर्दा मन प्रफुल्लित हुन्छ । त्यस्तो आनन्द सुनले आउन सक्दैन । सुन राख्नु भनेको महादेवलाई सामन्ती बनाउनु हो । महादेव सामन्ती देवता होइनन् । उनी समाजवादी देवता हुन् ।’

वैद्यले पशुपतिमा सुनको जलहरी राख्ने रकमले मन्दिर वा अस्पताल बनाउनुपर्नेमा जोड दिए । ‘ओली सरकारले गर्नुपर्नेचाहिँ गर्दैन, गनै नपर्नेचाहिँ गरिरहेको छ,’ उनले भने ।

के हो जलहरी ?

शिवलिंगमा चढाएको पानी बगेर झर्ने भाग नै जलहरी हो । लिंग रूप प्रतिमा र मानव रूप प्रतिमा गरी शिवका दुई थरीका प्रतिमा हुन्छन् । पशुपतिको लिंग प्रतिमा रूप हो । शिवलिंगमा भोगभाग, भद्रपीठ र ब्रह्मपीठ गरी लिंगका तीन भाग हुन्छन् । लिंगको माथिल्लो भाग भोगपीठ, बीचको भद्रपीठ र सबभन्दा तल्लो ब्रह्मपीठ हो । जलहरी ब्रह्मपीठमा हुन्छ । माटोबाट बनेको, काठबाट बनेको, प्रस्तरको, धातुको, रत्नबाट र बालुवा, चामल, चन्दन, रुद्राक्षबाट बनेको गरी ६ प्रकारका शिवलिंग हुन्छन् । पशुपतिको शिवलिंग प्रस्तरको हो ।

पशुपति गर्भगृह भएको मन्दिर हो । शिवलिंग गर्भगृहभित्र छ । गर्भगृहभित्र भट्टबाहेक अरू जान पाउँदैनन् । यहाँको मन्दिरको रेखदेखको मुख्य जिम्मेवारी पाएका भण्डारीले समेत शिवलिंग छुन पाउँदैनन् ।

मन्दिरमा ५ जना भट्ट छन् । जलहरी राख्ने काम पनि ५ जना भट्टले मात्रै गर्नुपर्छ । ‘चार जना भट्टले जलहरी राख्नै सक्दैनन्,’ वैद्यले भने, ‘पहिला चाँदीको जलहरी राख्दा पनि शिवलिंग चोइटिएको जानकारी आएको थियो । ५ जनाले कसरी उचाल्न सक्छन् ?’ कोषका कार्यकारी निर्देशक खतिवडाले भने पुजारीले जलहरी राख्न सक्ने बताए । ‘५ जनालाई तालिम दिइसकेका छौं,’ उनले भने, ‘उहाँहरूले राख्न सक्नु हुन्छ ।’ कान्तिपुर दैनिक