• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री ★   गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु ★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’ ★   सुर्खेत बस दुर्घटना: दुईजनाको मृत्यु, २१ घाइते ★   सभामुखलाई धनराजको पत्र: रातो पासपोर्ट उत्खनन गर्ने गृहमन्त्रीमाथि कारबाही होस् ★   काँग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ? ★   काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला ★   टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क

महाकुम्भ मेलामा सहभागी हुन जगद्गुरु देवाचार्यको आमन्त्रण



सुन्दरहरैँचा (मोरङ): सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार चतराधाम कुम्भ नगरीमा गत मङ्गलबारदेखि १२ वर्षे कुम्भमेला सुरु भएको छ । यस अवसरमा यहाँ आई महिना दिनसम्म व्रत बस्ने, आफ्ना इष्ट देवताको पूजाअर्चना गर्ने, पाठपरायण गर्ने गराउने र स्नान गर्ने गरिन्छ ।

पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका अनुसार यस मेलामा देश विदेशका लाखौँ धार्मिक भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । मेला चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म लाग्नेछ । मेलामा राम्रो सुरक्षा व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको कुम्भ मेलामा नेपाल र भारतका भक्तजनहरु सहभागी हुनेछन् । आध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको सुनसरी बराहक्षेत्रको प्राचीन हरिद्वारा चतराधाममा एक महिने पूर्णमहाकुम्भ मेला लाग्ने भएपछि यहाँको सम्पूर्ण क्षेत्र उत्साहित भएको यस महाकुम्भमेलाका परिकल्पनाकार जगत्गुरू बालशन्त मोहनशरण देवाचार्यले बताउनुभयो ।

उहाँले कुम्भ मेलाबाट नेपाल र नेपालीबीचको एकता तथा धार्मिक सद्भावमा विकास हुनेहुँदा देश विदेशबाट यस मेलामा दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्व बढेर जाने उल्लेख गदै बर्सेनि धर्मका नाममा विदेशिने रकम रोकथाम गर्न कुम्भ मेला आवश्यक भएको जानकारी दिनुभयो ।

मेला भव्यतारुपमा सम्पन्न गर्न बराहक्षेत्र नगरपालिकाको पनि पहल रहेको छ । मेलाका लागि सरसफाइ, पण्डालको निर्माण, प्रचारप्रसार, विद्युत् तथा सञ्चार सुविधा, शान्तिसुरक्षा तथा विपद् जोखिम न्यूनीकरणलगायतका सबै तयारी गरिएको छ । साथै मेला अवधिभर चतरामा मासुजन्य पदार्थ र मदिरा बिक्रीवितरणमा पनि निषेध गरिएको छ ।

महाकुम्भ मेलाका विशेषता 

कुम्भ मेलामा कोटीहोम, वेदपाठ, पुराणवाचन, स्वदेश तथा विदेशका जगत्गुरू, शङ्कराचार्यहरू, धर्माचार्यको सहभागिता प्रवचन, भजनकीर्तन, शास्त्रार्थ सम्मेलनलगायत महास्नान हुनेछ । बाह्रकुम्भमध्ये नेपाललगायत भारतका प्रयाग, नासीक, उज्जैन र हरिद्वारमा कुम्भमेला लाग्ने गर्दछ । कुम्भ मेलाले हाम्रो देशमा हराउँदै गएको धर्म, संस्कार र संस्कृतिको पुनरुत्थान गरेको धार्मिक जानकारहरू बताउँछन् । अघि समुद्र मन्थन जस्तो साह्रै कठिन कार्य शुभारम्भ भयो र त्यसबेला अमृतको सट्टा हला हल बिष निस्कियो । त्यस्तो बिघ्नबाधा आउँदा पनि त्यसबाट पछि नहटी डटिरहँदा कार्य सफल भई अमृतको घडा प्राप्त भएको र सो घडा असल व्यक्तिको हातमा र राम्रो स्थानमा रहोस् भनी कामना गरिएको र सो घडा रहेको एक क्षेत्र कोसी किनारको चतरा रहेको शास्त्रीय मान्यताका आधारमा यस क्षेत्रमा चैत महिनामा कुम्भ मेलाको प्रचलन सुरु गरिएको जगत्गुरु देवाचार्यको भनाइ छ ।

नेपाल र नेपालीको सम्मानसँग जोडिएको विश्वकै पाँचौँ कुम्भका रूपमा अन्तर्राष्ट्रिय जगत्मा ख्यातिप्राप्त १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको प्रचारप्रसार सुदूरपश्चिमका दार्चुलादेखि ताप्लेजुङसम्म मात्र नभएर भारत, भूटान, अमेरिका, अष्ट्रेलिया र क्यानडा नर्वे बेलायतजस्ता देशहरुमा पुगेको छ ।

त्यसैगरी भारतका विभिन्न क्षेत्रबाट जगत्गुरु धर्माचार्य, महामण्डलेश्वर शन्तमहन्त तथा मुख्यमन्त्री, पूर्वमुख्यमन्त्रीज्यूहरु पनि यस मेलामा उत्साहजनकरुपमा उपस्थिति हुने गरेकाले पनि यसको महत्व झन् बढ्दै गएको छ । यसपटकको कुम्भमेला सफल बनाउन अमेरिकास्थित अन्तर्राष्ट्रिय निम्बार्क आध्यात्मिक प्रतिष्ठान, धर्माचार्य भागवत्शरण महाराजलगायत करिब ५० जनाको टोली नेपाल यहाँ आउनुभएको छ ।

महाकुम्भ मेलाको शास्त्रीय मान्यता 

नेपाल र नेपालीको छुट्टै पहिचान कायम गर्न सक्षम रहेको कुम्भ मेलामा सहभागी भई पुण्य कमाउन आयोजकले अपिल गरेका छन् । यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ । नेपालमा प्रथम पिण्डेश्वर कुम्भ मेला महोत्सवका रूपमा २०५९ चैत ६ गतेदेखि सुरु भएको हो । त्यसयता यहाँ चैत महिनामा एक महिनासम्म सञ्चालन हुने गरेको छ । त्यसैगरी विसं २०६३ चैत ६ गतेदेखि एक महिनासम्म अर्धकुम्भका रूपमा प्राचीन हरिद्वार चतरामा मेला लागेको थियो । यसअघि विसं २०७० मा १२ वर्षे महाकुम्भ मेला आयोजना गरिएको थियो ।

यहाँ अर्धकुम्भ मेला विसं २०७५ र ०७६ मा लागेको थियो । समुन्द्र मन्थनबाट निस्किएको अमृतको घडाबाट भारतका जुन स्थानमा एक एक थोपा अमृत झरेको थियो, तिनै स्थानमा कुम्भ मेला लगाउने चलन रहेको थियो । शास्त्रीय मान्यताअनुसार नेपालमा रूद्राक्षको सुन्दर वनमा अमृतको तरलाई पिण्ड बनाएर स्थापना गरिएपछि यसै स्थानमा कुम्भ मेलाको प्रचलन सुरु गरिएको जगत्गुरु देवाचार्य बताउनुहुन्छ ।

कुम्भ आयोजना हुन थालेसँगै हिमवत्खण्डको कौशिकी किनारमा रहेको प्रसिद्ध प्राचीन हरिद्वार चतरा राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा परिचित हुँदै आएको तथा धार्मिक मात्र नभई मुलुकमा धार्मिक पर्यटनका माध्यमबाट आर्थिकरुपमा पनि फलदायी भएको छ ।

नेपालमा कुम्भ मेलाको खोज अनुसन्धान गरी शास्त्रीय आधारमा कुम्भको सुरुआत बालसन्तले गर्नुभएको हो । कुम्भ मेलालाई हिन्दू धर्मावलम्बीको एक महान् स्नान पर्वका रुपमा लिइन्छ । शास्त्रले १२ वटा कुम्भस्थल व्याख्या गरेको छ । हाल खोजी भइसकेका जम्मा पाँच कुम्भ मेलामध्ये चार कुम्भस्थल भारतका हरिद्वार, प्रयाग, नाशिक र उज्यैन हुन् । जहाँ प्रत्येक १२÷१२ वर्षमा कुम्भ मेला लाग्ने गर्दछ । बाँकी एक कुम्भस्थल नेपालको सुनसरी जिल्लास्थित कोसी नदीको किनार प्राचीन हरिद्वार चतराधाममा रहेको शास्त्रहरूले प्रस्तुत गरेको जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य बताउनुहुन्छ ।

उहाँले समुन्द्र मन्थनपछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यकाबीच भएको तानातानका क्रममा जहाँजहाँ अमृत खस्यो, त्यहाँत्यहाँ कुम्भपर्व सुरु भएकोे बताइएको उल्लेख गर्नुहुन्छ । जगत्गुरु बालसन्त महाराज कुम्भ मेलाको महत्व दर्शाउँदै नेपालको प्राचीन हरिद्वार चतराधाममा लाग्ने कुम्भ मेलाका सन्दर्भमा श्रीमद्स्कन्द महापुराणमा स्पष्टरुपमा बताइएको उल्लेख गर्नुहुन्छ ।

नेपालको सुनसरी जिल्लाको धरानअन्तर्गत पवित्र तीर्थ विजयपुर पर्वतका शिखरमा रुद्राक्षारण्यका बीचभागमा अमृत पिण्डस्वरूप पिण्डेश्वर महादेव विराजमान हुनुभएको छ । स्कन्दपुराणमा अमृतको एक बिन्दु झरेको हुँदा नासिक, उज्ज्जैन, प्रयाग र हरिद्वारमा कुम्भमेला भएको देखिन्छ । नेपालको विजय पर्वतमा अमृतको थोपामात्र नभएर स्वयं अमृत कलशमाथि जमेको तर वा सारलाई नै पिण्डरूप शिवलिङ्ग बनाएर स्थापना गरेको प्रमाण शास्त्रहरूमा छ ।

महाकुम्भ मेला र जगत्गुरु देवाचार्य  

जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यको जन्म विसं २०३३ मङ्सिर २७ गते  झापाको हँडिया बुधबारेमा भएको हो । भारतको वृन्दावनबाट शिक्षा आर्जन गर्नुभएका उहाँको पर्शुराम देवाचार्यसँग भेट भएपछि उहाँकै मार्गदर्शनबाट त्यहाँ पुग्नुभएको हो । त्यहाँ पुगेपछि देवाचार्यले ज्ञान भक्ति र साधना प्राप्त गर्नुभयो ।

निम्वार्क सम्प्रदायमा दीक्षित भएपछि उहाँको गुरुप्रदत्त नाम मोहनशरण रह्यो । उहाँको लगनशीलता, कर्तव्यनिष्ठता एवं शान्त स्वभाव र शास्त्रीय विद्धताजस्ता सन्त स्वभावका कारण वृन्दावनका वरिष्ठ विद्वानहरुको भेलाले श्रीनिम्वार्क संस्कृत महाविद्यालयमा बालसन्त उपाधिले विभूषित गरेका थिए ।

वृन्दावनमा बस्दै गर्दा आफू सपनामा नेपाल फर्केको देखेपछि घुम्दै जाने क्रममा बराहक्षेत्रस्थित चतरामा उभिएर उत्तरपट्टि फर्कंदाको दृष्य आफूले सपनामा बारम्बार देख्ने गरेपछि आश्चर्यमा परी उहाँले यस पवित्र भूमिको थप अध्ययन र अनुसन्धानमा लागेको बताउनुहुन्छ । यस पवित्र तीर्थस्थलको दूरावस्था देख्दा उहाँको मन दुखेको र बराहक्षेत्रलाई सुन्दर र गौरवशाली बनाउन आफू लागेको उहाँ बताउनुहुन्छ । बराहक्षेत्र चतरालाई प्राचीन हरिद्वार घोषणा गरी धाममा परिणत गरेर उहाँले यसै क्षेत्रको प्रवद्र्धनमा लाग्नुभएको हो ।

जगत्गुरु बालसन्त महाराजले २०५५ सालको साउन ४ गतेदेखि बराहक्षेत्रदेखि  मुक्तिक्षेत्रसम्म पैदलयात्रा प्रारम्भ गर्नुभयो । यो ५५ दिने पैदलयात्रा सम्पन्न गरी चतराधाममा द्वादश दिवसीय श्रीमद्गोपाल महायज्ञ सम्पन्न गर्नुभयो । जुन महायज्ञ नेपालमै पहिलो पटक सम्पन्न भएको थियो । यस कार्यले भक्तहरूका माझ उहाँ झनै परिचित हुनुभयो । श्रीमद्भागवत महापुराणमा उहाँको बाचन र प्रस्तुतिले पनि उहाँ लोकप्रिय हुनुभएको हो । उहाँले नै स्कन्दपुराणको गहिरो अध्ययन अन्वेषण गरी शास्त्रीय प्रमाणका आधारमा नै नेपालमा २०५९ साल वैशाख १ गतेदेखि एक महिनासम्म नेपाल बृहत् प्रथम पिण्डेश्वर कुम्भ महोत्सवको सुरुआत गराउन सफल हुनुभएको थियो । कुम्भमेलाको आयोजना गरी विश्वमै नेपाल र नेपालीको छुट्टै पहिचान कायम गरेर नेपालको गौरव बढाउने काममा उहाँ लाग्नुभयो । यसै योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई विसं २०६७ मा भारतको काशी पण्डित सभाले जगत्गुरुको उपाधिद्वारा विभूषित गरेको हो ।

जगत्गुरु बालसन्त देवाचार्यले प्राचीन हरिद्वार चतराधाममा भव्यताका साथ गोपाल महायज्ञ सम्पन्न गरेर संस्कृत शिक्षाको प्रवद्र्धन गर्न चतराधाममा संस्कृत गुरुकूलको स्थापना पनि गर्नुभयो । स्वदेशमै रहेका धार्मिक शक्तिपीठ एवं पवित्र धामहरुको खोजी गर्ने क्रममा बालसन्त देवाचार्यले २०७२ वैशाख ५ गते महाकालीबाट पैदल यात्रा प्रारम्भ गर्नुभयो । सबैको घरदैलोमा पुग्दै नेपालका पचहत्तरै जिल्लाको पैदल यात्रा सम्पन्न गरी २०७४ माघ २२ गतेदेखि द्वादश दिवशीय राष्ट्रभक्ति जागरण महायज्ञको आयोजना गरेर महाकाली गङ्गामा १८ करोड दीप प्रज्ज्वलनका साथ आफ्नो भ्रमणको समापन गर्नुभएको थियो ।

विसं २०५० को दशकमा चतरास्थित अहिलेको कुम्भक्षेत्र चतराधाम मसानघाट जस्तै थियो । यहाँ कुनै बस्ती थिएन भने खर र बाक्लो खयर उम्रिएको झाडी थियो । मानिसहरु डराएर एक्लै ओहोरदोहोर गर्ने चेष्टा पनि गर्दैनथे । विसं २०५४ तिर बालसन्त देवाचार्य यहाँ आएपछि उहाँको अगुवाइमा कोसीको तातो बालुवा उड्ने उराठलाग्दो स्थानमा संरचना निर्माण हुन थाले र अहिले यसप्रकारको कुम्भनगरीमा परिणत भएको छ । उहाँले यस क्षेत्रका बारेमा पनि व्यापक खोज अनुसन्धान थाल्नुभयो र सबै शास्त्रकै प्रमाणका आधारमा उहाँले नै नेपालमै प्रथम कुम्भ मेलाको सुरुआत गराउनुभयो ।

त्यसपछि त चतरा प्राचीन हरिद्वार बन्न पुग्यो । विगतमा मसानघाटका रूपमा चिनिएको चतरा अहिले ठूलो तीर्थस्थलका रुपमा विकसित भएको छ । विसं २०५९ बाट यही स्थानमै महाकुम्भ मेलाको प्रारम्भ नै भयो र अहिले यो पाँचौँ कुम्भ सुरु भएको छ । समुद्र मन्थनबाट निस्किएको अमृत इन्द्रपुत्र जयन्तले लिएर भागेका र भाग्दै जाँदा भारतका नासिक, उज्जैन, प्रयागमा एक÷एक थोपा झरेको तथा देवताहरुले लखेटेको देखेर जयन्तले त्यो अमृतको घडा नेपालको हिमालय पर्वतको शिखरमा ल्याइराखेको शास्त्रमा उल्लेख छ । त्यतिबेला सो अमृत तरजस्तो भएको र भगवान् विष्णुको मोहिनी अवतारले त्यो तरलाई निकालेर एउटा पिण्ड बनाउनुभएको पछि महिना दिनसम्म त्यस पिण्डलाई पूजा आराधना र अभिषेक गरेर वर्तमान सुनसरी जिल्लाको धरान बजारभन्दा उत्तरपूर्वी क्षेत्रकोे बराह मन्दिर समीप र कोसी नदीको उत्तरतर्फको विशाल पर्वत शृङ्खलामा लगेर स्थापना गर्नुभएकाले यसको नाम पिण्डेश्वर रहन गएको पनि शास्त्रमा उल्लेख छ ।

जगत्गुरु देवाचार्य भन्नुहुन्छ, “अरु पनि धेरै प्रमाण मैले विस्तृतरुपमा व्याख्या गरिसकेको छु । नेपालमा अमृतको तरलाई नै पिण्ड बनाएर राखिएकाले नै कुम्भको प्रचलन हामीले उचित स्थानमा गरेका छौँ । चैत शुक्ल प्रतिपदाबाट यो कुम्भको प्रारम्भ हुने हुनाले यो चैत्रबाट अपभ्रंश भई चतरा हुन पुगेको हो । त्यसकारण पनि यस कुम्भ मेलाको ठूलो धार्मिक महत्व रहेको छ ।”

यस कुम्भ मेलामा आएर स्नान, दान, यज्ञ, अनुष्ठान, यजन र पूजन गर्दा कहिल्यै पनि ननासिने अर्थात् अक्षय नहुने पुण्य प्राप्त हुने जगत्गुरु देवाचार्यको भनाइ छ । यस कुम्भका समयमा ब्रह्मा, विष्णु, महेश्वर तथा देवताहरुका राजा इन्द्र र अन्य देवगण यसै कुम्भको तिथि पारेर यहाँ स्नान गर्न आउने भएकाले यस समयमा यहाँ स्नान गर्नाले अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । नेपालमा यो कुम्भ मेला सुरु भएपछि धार्मिक पर्यटनको विकास हुनुका साथै नेपालको प्राचीन चतराधामको प्रचार विश्वव्यापी भएको छ । हरेक १२ वर्षमा लाग्ने यस मेलामा सहभागी भई पुण्य कमाउनु जगत्गुरु देवाचार्यले समग्र वैदिक सनातन परिवारलाई आमन्त्रण गर्नुभएको छ ।

मणिराम दाहाल/रासस