२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

वर्षान्त २०८० : चलचित्रका लागि सुखद्

वर्षान्त २०८० : चलचित्रका लागि सुखद्
अ अ+ अ-

काठमाडौं । चलचित्र क्षेत्रका लागि वर्ष २०८० को सुरुआत राम्रो भयो । नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो ।

उपेन्द्र सुब्बाको निर्देशक रहेको जारीमा लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको थियो  । चलचित्रले कूल रु १७ करोडको कूल व्यापार (ग्रस कलेक्सन) गरेको थियो ।

हालसम्म यस वर्ष ५० वटा चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई वटा चलचित्र प्रदर्शनको तयारीमा छन् । यही चैत ३० गते दुई चलचित्र ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ प्रदर्शनको क्रममा छन् ।

यो वर्ष ‘जारी’ पछि गत चैत ९ मा प्रदर्शन भएको ‘महाजात्रा’ सर्वाधिक सफल मानिएको छ । चलचित्र निर्माण र समूह र वितरकले उपलब्ध गराएको तथ्याङ्कअनुसार ‘महाजात्रा’ यस वर्षको दोस्रो सर्वाधिक व्यापार गर्ने चलचित्र बनेको छ । तेस्रो सातामा प्रदर्शन चलचित्रले १३ करोडभन्दा बढी कूल व्यापार (ग्रस कलेक्सन) गरिसकेको बताइए पनि तथ्याङ्क केही दिनमा सार्वजनिक गरिने निर्माण समूहले जानकारी दिएका छन् ।

यो वर्ष नेपाली चलचित्रमा आश गरिएका निर्देशकहरू प्रदीप भट्टराई, रामबाबु गुरुङ, निश्चल बस्नेत, दीपेन्द्रकुमार खनालका चलचित्र दर्शकले हेर्न पाए । यस वर्ष अनमोल केसी, प्रदीप खड्काजस्ता स्टार भनिने कलाकारको चलचित्र प्रदर्शन भएन । दयाहाङ राई, विपिन कार्की, सौगात मल्लजस्ता अभिनेता आफ्नो अभिनयका कारण चर्चामा रहनुभयो ।

चलचित्र वितरक तथा निर्माण समूहको दाबीअनुसार यो वर्ष घरेलु बजारमार्फत अघिल्ला दुई चलचित्रसँगै ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘दिमाग खराब’, ‘परदेशी २’, ‘नाङ्गो गाउँ’ले लगानी सुरक्षित गरेका छन् । यसबाहेक विदेशी बजारसहित ‘दयारानी’ र ‘बगान’ चलचित्रले निर्मातालाई घाटा गराएन ।

कूल ५२ वटा चलचित्रमा ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ले कस्तो व्यापार गर्छ यो भने हेर्न बाँकी छ । किनकी उल्लेखित दुई चलचित्र वर्षको अन्तिम दिन चैत ३० गते प्रदर्शन हुँदैछन् । यसवर्ष अभिनेता दयाहाङ राईले अभिनय गर्नुभएको नौ वटा चलचित्र प्रदर्शन भए ।

“मैले कथामा विविधता देखेर चलचित्रमा काम गरेको हुँ । तपाईंले सङ्ख्यासँगै विषयवस्तु हेर्नुभयो भने एउटा अभिनेता त्यसलाई छाड्न सक्दैन । साथै मेरो उपस्थितिले कुनै निर्देशक र निर्मातालाई लाभ मिल्छ र मलाई विषय मन परेको छ भने किन नगर्ने रु”, अभिनेता राईले भन्नुभयो, “आउँदो वर्ष प्रदर्शन बढी भए पनि म कमै चलचित्रमा काम गर्ने योजनामा छु । किनकी सङ्ख्या बढ्दा गरिएको मेहनत ओझेलमा पर्छ ।”

उहाँ यो वर्षभर चर्चामा रहनुभयो । किनकी वर्षको सुरुआतमा उहाँको दुई चलचित्र एकसाथ प्रदर्शन भयो । सफल र असफल हुने चलचित्रको सङ्ख्या उहाँको उस्तै छ । यसलाई अभिनेता राईले पनि महशुस गर्नुभएको छ ।

“यो वर्ष काम धेरै गरियो । तर, चलचित्र विभिन्न किसिमका प्रदर्शन भए । व्यावसायिकसँगै कलात्मक चलचित्रमा देखिएको आकर्षण हाम्रा लागि खुसीको कुरा हो । किनकि विश्वमञ्चमा हामीले देखाउने थुप्रै कथाहरू तयार भएका छन्”, अभिनेता राईले भन्नुभयो ।

चलचित्र वितरक तथा प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र सङ्घका कार्यसमिति सदस्य रहनुभएका करण श्रेष्ठले चलचित्रका लागि यो औसत वर्ष मान्न सकिन्छ ।

“यो वर्ष चलचित्रको व्यापार राम्रै देखियो । तर, जसरी वर्षको सुरुआत भएको थियो, त्यहि रुपमा अन्य चलचित्र व्यावसायिक पक्षलाई अगाडि बढाउन सकेन । यद्यपि सफल भएको सङ्ख्या हेर्ने हो भने राम्रो छ”, उहाँले भन्नुभयो ।

अभिनेता विपिन कार्कीका लागि यो वर्ष सुखद रह्यो । उहाँद्वारा अभिनित दुई चलचित्रले राम्रो व्यापार गरिसकेका छन् । ‘महाजात्रा’मार्फत उहाँको चर्चा स्वदेशसँगै विदेशमा पनि भयो । यद्यपि अभिनेता कार्कीले आफ्नो ध्यान काममा मात्र केन्द्रित रहने गरेको बताउनुहुन्छ ।

“मैले राम्रो काम गर्ने कोशिस गर्छु । पात्रलाई दुरुस्तै पर्दामा ल्याउने मेरो ध्याउन्न हुन्छ । व्यावसायिक सफलताले पक्कै अभिनेतालाई ऊर्जा दिन्छ नै तर हाम्रो ध्यान अभिनयमा बढी केन्द्रित हुनुपर्छ”, अभिनेता कार्कीले भन्नुभयो । उहाँले अभिनय गरेको दुई चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘महाजात्रा’ व्यावसायिकरुपमा सफल चलचित्र हुन् ।

यस वर्षलाई हेर्दा दर्शक रमाइला चलचित्रमै केन्द्रित देखिएको चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेनाको विश्लेषण छ । कोरोना महामारीपछि डिजिटल प्लेटफर्ममा बढेको आकर्षण र चलचित्र साक्षरता बढेको मानिए पनि त्यसको प्रभाव नदेखिएको उहाँको बुझाइ छ ।

“यस वर्ष शृङ्खला र रमाइला चलचित्रमा दर्शकको उपस्थिति देखियो । यसले दर्शक चलचित्र भवनमा दु:खका कथालाई हेर्न इच्छुक हुनुहुन्न भन्ने पनि सङ्केत गरेको छ । ओटीटीमा हेरेर प्रशंसा गरिएका विदेशी चलचित्रकै विधामा तयार भएका नेपाली चलचित्रलाई दर्शकले चासो देखाएनन्”, उहाँले भन्नुभयो ।

चलचित्र हेर्न परिवारलाई नै दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सकेमा व्यापार बढ्ने निर्देशक प्रदीप भट्टराईको बुझाइ छ । उहाँले निर्देशन गरेका चलचित्र सोही शैलीमा तयार गरिएको छ । ‘जात्रा’ शृङ्खलासँगै ‘शत्रु गते’ र ‘महापुरुष’ निर्देशन गर्नुभएका भट्टराई निर्देशित ‘महाजात्रा’ वर्षकै दोस्रो व्यावसायिक सफल चलचित्रसँगै उहाँको पहिलो सफल चलचित्र बनेको छ ।

“म र मेरो समूहले व्यापारलाई सोचेर चलचित्र तयार गरेका छैनौँ । हाम्रो विश्वास घट्न नदिने र चलचित्र भवनसम्म आउँदा दर्शकमा देखिएको उत्साह निस्किँदा पनि देखियोस् भन्ने सोच राख्ने गरेका छौँ । अहिले पनि सोही कारण परिवार नै दर्शक बनेर चलचित्र भवनमा आउनुभएको छ”, निर्देशक भट्टराईले भन्नुभयो ।

चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी यस वर्ष सकिदा स्वदेशी ५२ सँगै विदेशी ८८ चलचित्र प्रदर्शन हुने बताउनुभयो । अन्तिम शुक्रबार चलचित्र प्रदर्शन भएपछि विसं २०८१ वैशाख १ मा बक्सअफिस रिपोर्ट सार्वजनिक गरिने तयारी भइरहेको उहाँले बताउनुभयो ।

“हामीले आधिकारिकरुपमै बक्सअफिसको विषयमा कुरा गर्दैछौँ । त्यसकारण अहिले व्यापारबारे हामीले बोल्न मिल्दैन । यद्यपि यो वर्ष नेपाली चलचित्रको व्यापार राम्रो देखिएको छ । सुखद पक्ष विदेशी चलचित्रलाई स्वदेशीले टक्कर दिएका छन्”, बोर्ड सदस्य अधिकारीले भन्नुभयो ।

यो वर्ष चलचित्र भवनले सो सङ्ख्या नदिएको विवाद धेरै पटक उठ्यो । तर, वर्षको अन्त्यमा नेपाली चलचित्रले गरिरहेको व्यापार देखेर कुनै वितरकले विदेशी चलचित्र नेपालमा ल्याउने आट गर्न सकेनन् ।

विदेशी चलचित्रकै कारण स्वदेशी चलचित्र हेपिएको प्रश्न उठिरहँदा पछिल्लो उदाहरणले नेपाली निर्मातालाई साहस र ऊर्जा थपेको छ । सम्भवत धेरैपछि विदेशी ठूला चलचित्र नेपालमा एकै मितिमा प्रदर्शन हुने छैनन् । यसले ‘हाम्रो नयाँ वर्षमा, हाम्रै चलचित्र’ भन्ने नारालाई सफल बनाएको छ ।

समग्रमा विसं २०८० मा भएका कामले आशावादी हुने ठाउँ प्रसस्तै दिएको छ । किनकी प्रदर्शन भएकासँगै हुन् बाँकी चलचित्र धेरै छन् । जसको नतिजा आउँदो वर्ष देखिनेछ । जहाँ नेपाली चलचित्रले कलात्मक र व्यावसायिक दुवै पाटोमा आफूलाई अब्बल सावित गर्नेछ । रासस