• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले गुमायो तेस्रो विकेट, कुशल मल्ल ४ रन जोडेर आउट ★   नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेल १ रनमै आउट ★   नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ ★   आले: खमटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित ★   नेपालले गुमायो पहिलो विकेट, आसिफ शून्य रनमै आउट ★   बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल ★   वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य ★   टाढाका विद्यार्थीलाई आवासीय सुविधा ★   सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत

वैशाख १ गतेदेखि ठमेल २४ सैँ घण्टा खुल्ने



काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ ।

नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्नुहुनेछ ।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय ९काठमाडौँ०ले लिनेछ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन व्यवसाय वैशाख १ गतेदेखि लागू हुने गरी सुरक्षा तयारी गरिएको बताउनुभयो । उहाँले पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको जानकारी दिनुभयो । चैत ३० गते जिल्ला सुरक्षा समितिको बैठकले उक्त मापदण्ड पारित गरेपछि लागू हुनेछ ।

सबै सरोकारवालासँगको रायसुझावका आधारमा पूर्णकालीन व्यवसाय सञ्चालनसम्बन्धी सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

ठमेलमा अहिले बिहान ४ बजेसम्म क्लब खुल्छन् । रात्रिकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन् ।

परिषद्का अध्यक्ष शर्माले सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगवानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सैँ घण्टा रात्रिकालीन व्यवसाय खुला गरिने बताउनुभयो । ठमेलको सातघुम्ती, चाक्सीबारी, च्याठा: सोह्रखुट्टे क्षेत्र खुला गरिनेछ ।

आचारसंहिताअनुरुप मापदण्ड नपुगेका व्यवसायलाई वैशाख २ गतेदेखि बन्द गरिने जनाइएको छ । मापदण्ड पूरा गर्न समय सीमा दिइने र त्यो पूरा गरेको खण्डमा खोल्न दिइने यदि पालना नभए कानुनी दायरामा ल्याइने परिषद्ले जनाएको छ ।

पूर्णकालीन व्यवसाय सञ्चालन गर्ने निर्णयले ठमेल र दरबारमार्गका व्यवसायी उत्साहित बनेको क्लब एसोसिएसन अफ नेपालका महासचिव अमित ठकुरीले बताउनुभयो ।

महासचिव ठकुरीले भन्नुभयो, “ठमेल २४ सैँ घण्टा खुलेपछि पर्यटकीय चहलपहल बढ्ने र व्यवसाय फष्टाउने आशा जागेको छ, लामो समयको प्रयासपछि यो निर्णय हुँदैछ, घोषणा मात्रै हैन कार्यान्वयन पनि दीर्घकालीन हुनुपर्छ ।” रासस