• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

आईपीएलमा १७ खेलमै ३०० बढी छक्का प्रहार



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । बिहीबार अहमदाबादमा टाइटन्सले टस जितेर पहिले ब्याटिङ गरेको २० ओभरमा १९९ रन बनाएको थियो । पञ्जाबले १९.५ ओभरमा (एक बल बाँकी छँदा) ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

यस खेलमा थुप्रै कीर्तिमानहरु बने । आईपीएलको १७ औं संस्करणमा ३ सय छक्का पूरा भएको छ । गुजरात टाइटन्स र पञ्जाब किंग्सबीचको १७औं खेलमा सिजनको ३०० औं छक्का प्रहार भएको थियो, जुन प्रतियोगिताको १७ संस्करणमा सबैभन्दा छिटो छ ।

यस पटक ३ हजार ७ सय ७३ बलमै ३ सय छक्का प्रहार गरिएको छ । २०१८ को सिजनमा ४५७८ बलपछि मात्रै ३ सय छक्का प्रहार भएको थियो ।

पञ्जाब किंग्सका कप्तान शिखर धवन गुजरातविरुद्धको दोस्रो ओभरमा बोल्ड भएका थिए । उनले २ बलमा एक रन बनाए । शिखरको नाममा नचाहेको रेकर्ड बन्यो । आईपीएलमा ४० औं पटक बोल्ड हुने उनी खेलाडी बने । प्रतियोगिताको इतिहासमा उनीभन्दा बढी कोही बोल्ड भएका छैनन् । विराट कोहली ३८ पटक बोल्ड भएर दोस्रो स्थानमा छन् ।

बिहीबार पञ्जाबविरुद्ध गुजरातका साई सुदर्शनले १९ बलमा ३३ रन बनाए । यससँगै प्रतियोगितामा उनको ६६७ रन पूरा भयो, अहिलेसम्म उनले आईपीएलमा १७ पारी मात्र खेलेका छन् । १७ इनिङ्सपछि उनी प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने खेलाडीको पहिलो स्थानमा पुगेका छन् । उनले ६११ रन बनाएका रुतुराज गायकवाडलाई पछाडि छोडे । गायकवाडले १७ पारीमा ६११ रन बनाएका थिए ।

पञ्जाब किंग्सले गुजरातलाई १९ दशमलव ५ ओभरमा २ सय रनको लक्ष्य पुरा गरेको थियो । योसँगै टोलीले प्रतियोगिताको इतिहासमा छैटौं पटक २०० वा सोभन्दा बढी रनको लक्ष्य हासिल गरेको छ । पञ्जाबले मुम्बईलाई पछाडि छोड्यो, जसले २०० प्लस रनको लक्ष्य ५ पटक सफलतापूर्वक पछ्याएको थियो ।