६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नस्ल सुधारका लागि ल्याइएका याक दुब्लाउँदै गए



अ+ अ-

मनाङ । सोलुखुम्बुको याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गएका छन् । हावापानी तथा भूगोल परिवर्तन हुँदा यिनीहरु राम्ररी फस्टाउन नसकेका गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।

आकारमा साना भएकाले यहाँका ठूला याकहरुसँगै राख्न पनि समस्या भएको मनाङ याकचौँरी पालन तथा संरक्षण संस्थाका अध्यक्ष सुरेश थकालीले बताउनुभयो । उहाँले भन्नुभयो, “भूगोल परिवर्तन भएर होला त्यति खुसीसँग रमाएको पाइएको छैन । यिनीहरुलाई जोगाउन पनि समस्या जस्तै भएको छ ।” आकारमा साना भएकाले ठूला याकले हानेर मारिदिने डर कायमै रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष थकालीले माथि जाने बेला नभएकाले जहाँ वितरण गरिएको थियो सोही ठाउँमा ती याकलाई राखिएको जानकारी दिनुभयो । नार्पाभूमिका लागि छुट्याइएका याकहरु हालसम्म पनि सो पालिकाले नलैजाँदा महिनाको रु ३० हजार खर्च गरी ब्याडका रुपमा पालिरहेको उहाँले बताउनुभयो ।

गत पुस १९ गते सोलुखुम्बुबाट मनाङ हिँडाइएका नौवटा याक मनाङ आइपुगेका थिए । ती याक यहाँका किसानलाई वितरण गरिएको थियो ।

ङिस्याङ गाउँपालिकाको पिसाङ समूहलाई एक, भ्राकास्थित तीन गोठलाई एक तथा नासोँ गाउँपालिकाका तीन समूहलाई एक/एकका दरले वितरण गरिएको थियो । चामे गाउँपालिकामा समहूलाई र तीन गोठको समूहलाई एक/एक वटा वितरण गरिएको छ । बाँकी दुई याक याकचौँरी संरक्षण संस्थामा हेरालुको व्यवस्था गरी राखिएको थियो ।

चारवटा पालिका रहेको जिल्लामा हरेक पालिकालाई दुईवटाका दरले वितरण गर्ने भनिए पनि नार्पाभूमि गाउँपालिका विकटमा हुनुका साथै त्यहाँका कोही पनि सम्पर्कमा नआएपछि संस्थामै राखिएको अध्यक्ष थकालीले बताउनुभयो । २५ प्रतिशत किसानले बेर्होर्ने गरी वितरण गरिएका सबै याकको बीमा गरिएको, काटमार तथा बेचबिखन गर्न नपाइने सर्त राखिएको उहाँको भनाइ छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ल्याएका सबै भाले याक हुन् । हाडनाता प्रजनन्ले मनाङका याकको नस्ल राम्रो नभएकाले किसानको २५ प्रतिशत लागत साझेदारीमा ती याक वितरण गरिएको निर्देशनालयले जनाएको छ । सरकारी मूल्यअनुसार रु २० देखि २५ हजारमा ती याक किनिएको हो । रासस