• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी ★   राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय ★   मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती ★   क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको निधन ★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण ★   गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए ★   मुस्ताङका च्याङग्राको भुवा परीक्षण ★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गराइन्छ: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाईमार्ग लागि कुरा भइरहेको तथा चीन र श्रीलङ्कासँग सिधा उडानका लागि संवाद भइरहेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीन सरकारबाट प्राप्त ऋणलाई अनुदानमा परिणत गर्न पनि पनि आफूले कोसिस गरिरहेको जानकारी गराउनुभयो । उहाँले हेटौँडा, बुटवल, जनकपुर, विराटनगरका रुग्ण उद्योगहरु पुन: सञ्चालनमा ल्याइ कपडा, चिनी, धागो, जुटआदि उत्पादन गराउन छलफल भइरहेको जानकारी गराउँदै कोशी नदीमा तटबन्ध बनाउन र कोशी टप्पुको जग्गा संरक्षणका लागि काम भइरहेको स्पष्ट गर्नुभयो ।

उहाँले नदी र नदी जोड्ने खालका परियोजना अघि बढाइ सिँचाइ सुविधामार्फत उत्पादन बढाउने र भूमि सुधारलाई लालपूर्जा वितरणको कामका रुपमा नलिइ जमिनको चक्लाबन्दी र उत्पादनमा जोड दिइ समाजवादको आधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सशस्त्र जनयुद्धका सहिद, घाइते र बेपत्ता परिवारका लागि न्याय तथा राहत दिन सरकार गम्भीर रहेको बताउँदै सत्य तथा मेलमिलाप आयोग विधेयक चाँडै संसदीय समितिबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

समितिका सभापति मायाप्रसाद शर्माले संसदमा उठेका प्रश्नको सम्बोधन र आफ्ना प्रतिबद्धतालाई कार्यान्वयनमा संकल्प लिनुभएकामा प्रधानमन्त्री दाहाललाई धन्यवाद दिनुभयो ।