• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन



त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षणका रुपमा सुरु गरेको जुस उत्पादन सफल भएको हो ।

गाउँपालिका अध्यक्ष शङ्कर थापाका अनुसार उत्पादित जुसको सेवन योग्य प्रमाणीकरणको परीक्षण प्रक्रिया अघि बढाइएको छ । “जङ्गलमा प्रशस्त पाइने लालीगुराँसको फूल उपयोगविहीन हुने गरेकामा अब आर्थिकोपार्जनसँग जोड्ने प्रयासमा लागेको छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले किसानको आर्थिकस्तर वृद्धिका लागि यो वर्षदेखि सुरु गरेको ‘अध्यक्षसँग किसान सवलीकरण कार्यक्रम’मार्फत लालीगुराँसका फूलको सङ्कलन गरेर जुस उत्पादनमा संलग्न गराउने प्रयासमा लागेका छौँ ।”

यही साता आएको वर्षा र हावाहुरीले झारेका फूल सङ्कलन गरेर बनाइएको जुसको गुणस्तर मापन हुन बाँकी भए पनि न्यून लागतमा तयार गरिएको जुस गुणस्तरीय प्रमाणित भए राम्रो उत्पादन लिन सकिएको गाउँपालिकाका कृषि शाखाका सुदेश सुवेदीले बताउनुभयो । उहाँका अनुसार सेवनयोग्य परीक्षणमा प्राप्त नतिजामा आवश्यकताअनुसार सुधार गरेर सवलीकरण कार्यक्रममार्फत किसानलाई व्यावसायिक उत्पादनमा संलग्न गराउने लक्ष्य गाउँपालिकाले बनाएको छ ।

“किसानको खेतबारी र जङ्गलमा झरेका फूल सङ्कलन गरेर त्यसलाई सरसफाइ गरी उमालेर र फिल्टर गरेर सेवनयोग्य जुस तयार गरिएको छ”, सुवेदीले भन्नुभयो, “अन्यत्र सफल भएका योजनाको अवलोकन र किसानलाई तालिम दिएर जुससहित जामलगायतका उत्पादनको योजनामा लाग्नेछौँ ।”

चिकित्सकका अनुसार लालीगुराँसको फूलबाट उत्पादित जुस तथा अन्य उत्पादनको सेवनले घाँटीको दुखाइ कम गर्ने, रगतको मात्रा बढाउने, उच्च रक्तचाप रोक्ने, मिर्गौलासम्बन्धी रोगबाट बचाउने तथा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ । रासस