• ३० चैत्र २०८०, शुक्रबार
  •      Fri Apr 12 2024
  •   Unicode
Logo
Latest
★   उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट ★   अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रियाअघि बढाइएको छ: उपप्रधानमन्त्री यादव ★   ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाको सहमति ★   विसं २०८०: वन मन्त्रालयमा के के काम भए ? ★   व्यवस्था बदलिएपनि कुनै गुणात्मक परिवर्तन हुन सकेन: पूर्वराजा शाह ★   नेपाललाई पहिलो सफलता, दिपेन्द्रले लिए विकेट ★   वर्षान्त २०८०: विद्यालय शिक्षा विधेयकले तताएको वर्ष ★   सुनकोसी मरिण डाइभर्सन: वैशाख २६ गते ब्रेक थ्रुको तयारी ★   लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत ★   मलेसियाविरुद्ध नेपालले टस हार्यो, पहिला फिल्डिङ गर्दै

उद्यमी बन्दै वनकरियाका महिला



हेटौँडा । मकवानपुरको मजहरी गाउँपालिकामा बसोबास गर्दै आइरहेका अतिलोपोन्मुख वनकरिया बस्तीका महिलाले खोलाको किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन उत्पादन गरी गुजारा चलाइरहेका छन् । मसिने शान्ति सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परिणत भएसँगै वनमा आधारित यस समुदायका महिला खेर गइरहेको तीतेपाती र निमको प्रयोग गरेर उद्यमी बनेका हुन् ।

विसं २०६२ मा जिल्ला विकास समिति मकवानपुर र मनहरी गाविसको सहयोगमा वनको घुमन्ते जीवनबाट बस्तीमा बस्न आएका वनकरिया समुदायका वासिन्दा अहिले विस्तारै आत्मनिर्भर हुन थालेका हुन् । अहिले उनीहरुले आफ्ना सन्तानलाई विद्यालय पठाउनेदेखि सामाजिक कार्यहरुमा पनि संलग्न हुन थालेका बनकरियाकी मुखिया सन्तमाया बनकरियाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जङ्गली जीवनबाट गृहस्थ जीवनमा आएका हौँ । हामीले पाएको जस्तो दु:ख हाम्रा छोराछोरीलाई नपरोस् भनेर कोशिस गरिरहेका छौँ ।”

हिजो जङ्गलकै गिठ्ठाभ्याकुर र अन्य फलफूल खाएर बाँचेका उनीहरु अहिले अन्नबाली उत्पादन गर्न लागिपरेका छन् । उहाँले भन्नुभयो “हामीलाई अन्न खान रहर लाग्दा लोग्नेमान्छेहरुले कुरिलो, कुचो, माछा लिएर बस्ती जाने गर्थे, अहिले हामी आफैँ फलाइरहेका छौं ।” बिरामी र सुत्केरी हुँदा खान नपाएको सम्झँदै त्यो दिन भोलिको पुस्ताका लागि कथा जस्तो हुने उहाँले बताउनुभयो ।

जेटिए अध्ययन गरेकी सन्तोषी वनकरियाले पढाइपछि गाउँमा नै काम गरेर सबैलाई कृषितर्फ लाग्न प्रेरित गर्नुभएको छ । उहाँका अनुसार अहिले प्रत्येक घरमा भैंसी पालिएको छ । भैंसीको दूध बिक्री गर्नुभन्दा पनि घिऊ बनाएर बेच्दा फाइदा हुने भएकाले धेरैले घिऊ बिक्री गर्ने गरेका छन् । केही वर्ष पहिला प्रत्येक घरमा करेसामा माछापोखरी खनिएको भएपनि सर्पले माछा खाइदिने समस्या रहेकाले अहिले उनीहरु पशुपालन र कृषितर्फ आकर्षित भएका छन् ।

गाउँपालिकाले उनीहरुलाई समयसमयमा सिलाइबुनाइ, तरकारी खेतीलगायतका तालिम उपलब्ध गराउँदै आएको छ । त्यस्ता तालिमबाट सिकेको ज्ञानले उनीहरु अहिले आफ्ना बारीमा तरकारी, फलफूल, मकै आधुनिक तरिकाले लगाउन थालेका छन् । कतिपयले बाख्रा, कुखुरा तथा माछापालनसमेत गरेका छन् । यसले उनीहरुको जीवनस्तरमा विस्तारै सुधार आएको छ ।

साबुन उत्पादनतर्फको आकर्षण

विगतमा मसिने शान्ति सामुदायिक वनबाट कुचो/खरेटो, कुरिलो, गिट्ठा भ्याकुर खोज्ने र खोलामा माछा मार्ने काम गरेर गुजारा चलाउँदै आएका उनीहरुलाई सो वन मध्यवर्ती क्षेत्रमा परेपछि उनीहरुलाई समस्या भएको थियो । अहिले समुदायमा बस्न थालेपछि उहाँहरुले तीतेपाती, नीम र ध्यूकुमारीबाट साबुन बनाउने व्यवसाय थालनी गरेका हुन् । हाल वनकरिया चेपाङ महिला साबुन उद्योग दर्ता गरेर उत्पादन सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

बनकरिया र चेपाङ बस्तीको २५ जना महिला मिलेर साबुन बनाउन थालेको मुखिया सन्तमायाको भनाइ छ । उहाँका अनुसार गत वर्ष राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उहाँहरुलाई साबुन बनाउने तालिम दिएको थियो । तालिमपछि आयआर्जनमा आफूहरु जोडिने अवसर पाएको उहाँले बताउनुभयो । साबुन उत्पादन गर्नको लागि आवश्यक औजार समेत मञ्चले प्रदान गरेको छ ।

अब उनीहरुको चुनौती भनेको आवश्यक कच्चापदार्थ र बजारीकरणको रहेको छ । “साबुनका लागि कच्चा पदार्थ निम रोप्न थालेका छौँ, घ्यूकुमारी बारीमा अलिअलि रोपेका छौँ, तीतेपाती वरिपरि बगर, बाटोतिर पाउँछौँ”, सन्तमायाले भन्नुभयो । सानो, मध्यम र ठूलो साबुन उत्पादन गरेका उनीहरुले २० देखि ६० रुपियाँ सम्ममा साबुन बेच्ने गरेका छन् ।

मञ्चले फर्मा र साबुन बनाउन आवश्यक सामग्री र दुई लाख लगानी गरेको थियो । स्थानीय सम्झना बनकरियाले साबुन बनाउन बुटवलबाट फर्मा ल्याएको बताउँदै भन्नुभयो ‘‘साबुन बनाउन मेहनत पर्छ, तीतेपाती टिप्न जानुपर्‍यो, केलाउनु पर्‍यो, पकाउनु पर्‍यो ।’’ यहाँ उत्पादन गरिएको साबुन घाउ खटिरा, चिलाउने समस्या र छालाका लागि राम्रो हुने भएकाले विस्तारै माग बढ्न थालेको उहाँको भनाइ छ ।

अहिले मञ्चले नै उनीहरुले बनाएका साबुन किनिदिएको छ । सधैँ यसरी एउटा संस्थाले किनदिएका भरमा मात्रै व्यवसाय दिगो हुन नसक्ने भएकाले अब बजारीकरणको भने चिन्ता लागेको सम्झनाले बताउनुभयो । मञ्चले दिएको थोरै रकमबाट सुरु गरिएको काममा लगानी पुँजी न्यून हुँदा उत्पादन पनि न्यून भएकाले आफूहरुलाई व्यवसाय विस्तार गर्न समस्या भएको उहाँको भनाइ छ ।

जङ्गली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने बनकरिया समुदायमा पछिल्ला वर्षहरुमा क्रमश: परिवर्तन देखिएको छ । आधुनिक जीवनउपयोगी सीपसँग टाढा रहेका बनकरिया समुदायका पाँच किशोरी र एक किशोरले एसएलसी/एसइई परीक्षा उत्तीर्ण गरेका छन् । दुई जना किशोरी प्राविधिक क्षेत्रमा लागेका छन् । बनकरिया जातिमा पहिलो शिक्षित महिला सन्तोषी बनकरियाले कृषि प्राविधिक ९जेटिए० बनेर गाउँमा नै काम गर्न थालनी गरेकी छिन् । वनकरिया समुदायबाट पहिलोपटक एसएलसी परीक्षा ९२०७२० उत्तीर्ण गरेकी पम्फा वनकरिया ल्याब असिस्टेन्ट टेक्निसियन विषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्टको जागिर खाइरहेको मुखिया सन्तमायाले जानकारी दिनुभयो ।

पछिल्लो वर्षमा सरकारले वनकरिया समुदायलाई जनही मासिक रु चार हजार सामाजिक सुरक्षाबापत भत्ता दिन थालेपछि उनीहरुको आर्थिक अवस्थामा केही सुधार आएको छ । विगत १८ वर्षदेखि सुकुम्बासीका रूपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसङ्ख्यक वनकरीयाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालमा यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको थियो । उनीहरुले यही बसोबास गरेकै स्थानमा सामूहिक जग्गाधनी पूर्जा माग गर्दै आएका छन् ।

‘वनकरिया’ नेपालको सबैभन्दा थोरै जनसङ्ख्या भएका आदिवासी जनजातिमध्येको एक जाति समुदाय हो । उनीहरुको सङ्ख्या दैलेखमा फिरन्ते जीवन गुजारिरहेका राउटे जातिको भन्दा पनि कम छ । मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने नजिक मुसेधापमा बसोबास गर्ने यो समुदाय लोपोन्मुख जाति समुदायभित्र पर्दछ । मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् ।

मनहरी गाउँपालिका–४ मा रहेका वनकरियाहरुले राष्ट्रिय परिचयपत्र पनि बनाइसकेका छन् भने दुईवटा निर्वाचनमा मतदान पनि गरेका छन् । स्थायीरुपमा बसोबास गर्न र एकमुठ्ठी माटो आफ्नो भन्न नपाएकोमा भने उनीहरु दु:खी छन् ।

शिक्षित बन्दै वनकरिया समुदाय

वनकरिया समुदायका बालबालिका हरुलाई अध्ययन गराउनको लागि उनिहरुकै बस्तिमा स्थानिय सरकारले इसिडी कक्षा सञ्चालनमा ल्याइरहेको छ भने उक्त कक्षा अध्यापनको जिम्मा सन्तोषी वनकरियालाई नै दिइएको मनहरी गाउँपालिका–४ का वडाध्यक्ष प्रकाश थापाले जानकारी दिनुभयो ।

पशुपति माविका प्राध्यापक भानुभक्त आचार्यले वनकरिया समुदायमा छोराछोरी बढाउनुपर्ने चेतना जागृत भएको बताउनुहुन्छ । उहाँको अनुसार हालसम्म तीन जनाले एसएलसी र तीन जनाले इसइई पास गरेको छन् भने करिब १९ जना बालबालिका नियमित विद्यालय आइरहेका छन् । वनकरिया बस्तिमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रासमेत भएको उहाँले बताउनुभयो । वनकरियाहरु बिद्यालय भर्ना नहुँदा उनिहरुको घरमा नै गएर विद्यालय भर्ना अभियान चलाउनु परेको उल्लेख गर्दै प्राध्यापक आचार्य हाल विद्यालय आएका बालबालिकामा पनि पढाइप्रति लगाव बढेको बताउनुहुन्छ ।

कक्षा १२ मा अध्ययन गरिरहनुभएकी सम्झना वनकरियाले आफूलाई पत्रकार बन्ने ठूलो धोको रहेको बताउनुभयो । उहाँले आफ्नो समुदायको खबर लेख्न आउने अन्य पत्रकार जस्तै आफू पनि समाचार बनाउन सक्षम बन्ने चाहना राख्नेभयो ।

जनसङ्ख्या घट्दो अवस्थामा

देशकै अल्पसङ्ख्यक यस समुदायमा जनसङ्ख्या घट्दो रहेको छ । विवाहका लागि योग्य उमेर समूहका पुरुषभन्दा महिलाको सङ्ख्या बढी भएकाले जनसङ्ख्या घट्दो रहेको देखिन्छ । महिला विवाह गरेर समान संस्कृति भएका चेपाङ जातिसँग जाने भएकाले जनसङ्ख्या घट्दो भएको स्थानीयवासी बताउँछन् । उनीहरुमा चेपाङ समुदायसँग विवाहबारी गर्ने चलन छ ।

दुई दशकअघिदेखि मात्रै फिरन्ते जीवनशैलीलाई त्यागेर एकै स्थानमा बसोबास शुरु गरेका आदिवासी वनकरिया जातिले अझै पनि स्थायी बसोबास गर्न पाएका छैनन् । केही वर्षअघि देशका ‘धर्तीपुत्र’ भएको ठहरसहित स्थानीय प्रशासनमार्फत नागरिकता पाएका वनकरिया जाति अहिले पनि शतप्रतिशत सुकुम्वासी छन् । विसं २०५९ मा देशको लोपोन्मुख आदिवासी जनजातिका रूपमा सूचीकृत भएको वनकरिया जाति अहिले राष्ट्रिय निकुञ्जको जग्गामा अस्थायीरूपमा बसोबास गर्दै आएका छन् ।

हाल वनकरियाको बसोबास रहेको मुसेधाप खहरेको बगर भएकाले यहाँ कृषि उत्पादन राम्रो हँुदैन । यहाँको उत्पादनले वनकरिया समुदायका लागि तीन महिना मात्रै खान पुग्छ । वनकरिया समुदायको आर्थिक अवस्था सुधार गर्न गाउँपालिकाले वनकरिया होमस्टे सञ्चालन गरिदिएको भएपनि प्रभावकारी बन्न नसकेको पालिकाकी उपाध्यक्ष सीता पुलामीले जानकारी दिनुभयो । गाउँपालिकाले लोपोन्मुख वनकरिया जातिको रहनसहन, खानपिन, परम्परा एवं संस्कृतिको प्रचारप्रसार गर्दै उनीहरुको आर्थिकस्तर माथि उकास्न तथा उनीहरुको जीवनशैलीको अवलोकन गर्न चाहने र उनीहरुकै घरमा बास बस्न चाहनेका लागि घरबास सञ्चालन गरे पनि पाहुना नआउँदा यो प्रयास सफल नभएको उहाँ बताउनुहुन्छ ।

उपाध्यक्ष पुलामीका अनुसार आर्थिक स्तरमा सुधार ल्याउन पालिकाले उनिहरुले नै सुरु गरेको साबुन उत्पादन कार्य प्रबद्र्धनमा सहयोग योजना बनाएको छ । गाउँपालिकाले वनकरिया बस्तीलाई विस्तारै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको छ । वनकरिया बस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूलसँगैको खोलाको माछा, त्यहीको घट्टमा पिसेको पिठोका परिकार प्रवद्र्धन गरिने उहाँले बताउनुभयो । रासस