६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनाका घाइते भन्छन्: मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो



अ+ अ-

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दैआउनुभएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उहाँ सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्नुहुन्छ । परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उहाँ घर सल्यान जाँदै हुनुहुन्थ्यो । वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आउनुभएकाले परिवारमा छुट्टै रमाइलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो चाहना पूरा हुन सकेन ।

घर जानका लागि चारैजना चढेको ग१ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा सडकबाट दुई सय ५० मिटर तल खसेर दुर्घटना भयो । दुर्घटनापछि घाइते चारै जनाको अहिले मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

पोखराको हरिचोक सल्यान रुटमा चल्ने जीप दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । घटनामा १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते सोनिसाको हात र खुट्टामा चोट छ भने परिवारका अन्य सदस्यको अवस्था मध्यम छ । सोनिसा जीपको अघिल्लो सिटमा हुनुुहुन्थ्यो । ग्रामीण सडक भए पनि जीपको गति तीव्र थियो । “सल्लाघारीको डाँडाको ओरालो घुम्तीमा पुगेपछि विपरीत दिशाबाट एउटा मोटरसाइकल आयो । मोटरसाइकल तीव्र गतिमा थियो । घुम्तीमा मोटरसाइकलाई जोगाउन खोज्दा जीप भिरमा खस्यो”, सोनिसाले दुर्घटनाबारे बताउनुभयो ।

घुम्तीमा दायाँ मोडिनुपर्ने जीप बायाँ मोडिएर भिरबाट तल खसेको थियो । दुर्घटनापछि स्थानीयले उद्धार गरी अस्पताल ल्याएको सोनिसाको भनाइ छ । “दुर्घटनापछि पनि म पूरै होसमा थिएँ । हामीलाई गाउँकै अन्यले उद्धार गरी अस्पतालमा ल्याउनुभएको हो”, उहाँले भन्नुभयो । सो जीप दुर्घटनामा पोखरा–२३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको छ ।

घटनामा पोखरा–२३ का ६० वर्षीय रामप्रसाद सुनार, अन्नपूर्ण गाउँपालिका–४ की ५० वर्षीया देउमाया केसी, सोही ठाउँका २२ वर्षीय धनराज सुनार, पोखरा–२३ का ५८ वर्षीय लक्ष्मण कामी, सल्यानका सात वर्षीय आरुष विक र ४१ वर्षीय राजकुमार विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेमध्ये ६ जनाको मणिपाल र अन्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । रासस