• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

तीन सातामा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…



file photo

कास्की । मादी गाउँपालिका–१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन् । लिपेयानीस्थित नारायणप्रसाद बरालले सञ्चालन गर्नुभएको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण मरेका हुन् ।

बरालले पछिल्ला २० दिनमा अधिकांश बाख्रा मरेर खोर रित्तै भएको र अहिले तीन वटामात्र बाँकी रहेको जानकारी दिनुभयो । बाख्रामा सुरुआतमा घाँस, दाना, पानी नखाने, सिगान बगाउने लगायतका लक्षण देखा परेको बताइन्छ ।

सुरुआतमा गत पुसमा केही बाख्रा बिरामी भएपछि औषधि गरेर निको भए पनि अहिले पछिल्लो दुईदेखि तीन सातामा सबै बाख्रा मरेको बरालले बताउनुभयो । “सुरुमा पुस अन्तिमतिर केही बाख्राले नाकबाट सिगान बगाउने, घाँसपानी नखाने, झोक्रयाउने भएपछि गाउँपालिकाका पशु प्राविधिकलाई बोलाएर उपचार गरेपछि ठीक भएका थिए”, बरालले भन्नुभयो, “तर अहिले पुन: पहिलाकै समस्या देखियो र बीस दिनमा सबै बाख्रा मरे ।”

बरालले बाख्रा मर्न थालेपछि प्राविधिकलाई बोलाएर उपचार गर्दासमेत कम नभएको बताउनुभयो । पशु प्राविधिकले रोग पत्ता लगाउनका लागि ल्यावमा परीक्षण गर्दा क्रोनिक निमोनिया पुष्टि भएको थियो । थप क्षति हुन नदिनका लागि इन्जेक्सन लगाएको भए पनि काम नगरेको बरालले बताउनुभयो । बरालले रोगका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि अनुमानित रु डेढ करोड क्षति पुगेको उल्लेख गर्नुभयो ।

बरालले केही बाख्रोको बीमा गरेपनि तीन महिनाभन्दा साना पाठापाठीको नभएको जानकारी दिनुभयो । पेसाले शिक्षक बरालले विसं २०७४ देखि व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय गर्दै आउनुभएको थियो । बाख्रासँगै उहाँले कुखुरापालन गर्नुभएको छ । बरालले गत वर्ष बाख्रापालनबाट रु ३८ लाखको आम्दानी गर्नुभएकामा यसवर्ष रु ५० लाखको बिक्री गर्ने योजना बनाउनुभएको थियो ।

“सानो उमेरदेखिनै कृषि गर्ने चाहनाले बाख्रा र कुखुरा पाल्न सुरु गरेँ । अहिले एकाएक सबै सकियो, ठूलो क्षति हुँदा धेरै पीडा भएको छ”, बरालले भन्नुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले मरेका पशुको प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको जानकारी दिनुभयो ।

हालसम्म निमोनियाका कारणले क्षति पुगेको भए पनि अन्य कारणसमेत खोजी भइरहेको पाण्डेले बताउनुभयो । “विज्ञ केन्द्रमा समेत ढिला गरी जानकारी आएको थियो । त्यसपछि हामीले रोग नियन्त्रणका लागि केन्द्रबाट र प्रयोगशालाबाट समेत पशु चिकित्सकलाई पठाएर परीक्षण गरेका हौँ । धेरै ढिला भएकाले उपलब्धि भएन”, उहाँले भन्नुभयो ।

सो वडाका अध्यक्ष कृष्णराज दाहालले बरालद्वारा सञ्चालित बाख्रा फार्म पालिकाकै नमुना भएको भन्दै उक्त क्षतिले आफूहरुलाई समेत दुखित बनाएको बताउनुभयो । पीडित किसानलाई राहतका लागि पालिका, प्रदेश सरकार लगायतसँग पहल गरिने दाहालले बताउनुभयो । रासस