१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

सडक पुगेपछि गाउँगाउँमा पसल, छेउछाउका बस्ती बजार बन्दै

सडक पुगेपछि गाउँगाउँमा पसल, छेउछाउका बस्ती बजार बन्दै
अ अ+ अ-

गलेश्वर । म्याग्दीका ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै गाउँगाउँमा पसल राखी व्यापार गर्ने चलन बढेको छ । यातायातका साधनमार्फत काठमाडौँ, पोखरा र चितवनका ठूला सहरबाट खाद्यान्नलगायत उपभोग्य र निर्माण सामग्री गाउँगाउँमा नै पुग्न थालेपछि बेनीबजार र दरबाङ बजारका साथै जिल्लाका पुराना बजारको व्यापार घटेको छ ।

उत्तरतर्फ बेनी–जोमसोम र पश्चिमतर्फ बेनी–दरबाङ सडकको ट्र्याक खुलेर यातायातका साधन सञ्चालनमा आएपछि म्याग्दीको ग्रामीण क्षेत्रको मुहार फेरिएको छ । सहरी क्षेत्रमा व्यापार व्यवसाय घट्दै गएको व्यापारीहरुले बताएका छन् ।

जिल्लाका करिब एक दर्जन बढी क्षेत्रमा बजार विस्तार हुन थालेको छ । सुगम मानिने सदरमुकाम बेनी बजारदेखि सबैभन्दा विकट मानिने पश्चिम म्याग्दीको गुर्जासम्म बजार विस्तार भएका छन् । सडकसँग जोडिएपछि अब जिल्लाका विकट क्षेत्र पनि सुगममा परिणत भएका स्थानीयले बताएका छन् ।

“अहिले जताततै बजार विस्तार हुँदै गएका छन्, आमनागरिकले सेवासुविधा पनि पाउन थालेका छन्, सामान्य समान किनमेलका लागि घन्टौँ समय लगाएर बजार धाउनुपर्ने बाध्यतामा रहेका स्थानीय अहिले घरै अगाडि सबै सामान किनमेल गर्न पाउने सुविधामा छन्”, मालिका गाउँपालिका–१ की टीकामति पुनले भन्नुभयो । जिल्ला सदरमुकाम बेनी बजारेदेखि पश्चिम म्याग्दीको मुनासम्मका दर्जनौँ स्थानमा अहिले साना ठूला बजार विस्तार भएका छन् । अझै पनि बजार विकास हुने क्रममा छन् ।

विसं २०६३ मा ट्र्याक खुलेको बेनी–दरबाङले म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका २७ गाउँ तथा बागलुङका तमान, बुर्तिबाङ र ढोरपाटन क्षेत्रका नौ गाउँलाई जोडेको छ । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ र मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट त्यस भेगमा जाने १८ गाउँमा ग्रामीण सडक विस्तार भएका छन् ।

सोही सडकको बेनी–तातोपानी खण्डको नौ किलोमिटर सडक ट्र्याक खुलेको १५ वर्षपछि कालोपत्र गर्ने काम सुरु गरिएको छ । सडकले जोडेका सिङ्गा, तातोपानी, बाबियाचौर, रणबाङ, तोराखेत, दरबाङ, मुना, धारापानी, ताकम, बिम, मराङलगायतका स्थान अहिले बजारमा परिणत हुँदैछन् ।

अहिले बजार विस्तार हुन लागेका ठाउँ सडक पुग्नुभन्दा पहिला सुनसान थिए । अहिले यहाँ निकै चहलपहल बढेको दरबाङका गोपाल सुवेदीले बताउनुभयो । सडकले धेरै सहजता प्रदान गर्नुका साथै जीवन नै परिवर्तन गरिदिएको धौलागिरि गाउँपालिका–५ का शेरबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले यति ठूला घर बने, पसल छन्, पहिला त गाई, भैँसी र भेँडाबाख्राका गोठ हुन्थे, सोच्दै नसोचेको विकास भयो, मैले त हाम्रो पालामा यस्तो विकास होला भन्ने सोचेको पनि थिएन ।”

त्यसैगरी सडक र बजार विस्तारले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनता र मुस्ताङीको पनि जीवनशैलीमा परिवर्तन ल्याइदिएको छ । विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेपछि बेनी–जोमसोम सडकमा गाडी गुड्न थाले । बेनी–जोमसोम सडकको क्षेत्रमा रहेका आधा दर्जन बढी ठाउँमा बजार विस्तार भएका छन् । म्याग्दीको बेनी बजार र मुस्ताङको जोमसोम बजारको रौनक थपिएको छ ।

उत्तरी म्याग्दीका विभिन्न गाउँमा भारी बोकेर खाद्यान्नलगायत सामग्री लैजाने भरिया र खच्चडको ठाउँमा गाडीले ढुवानी गर्न थालेका छन् । गाउँगाउँमा बजार विस्तार भएपछि जनतालाई सहज भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

सडक छेउमा बस्ती विस्तार हुनेक्रम बढ्दै गएपछि यस क्षेत्रको रौनक नै फेरिएको दानाका होटल तथा पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । “सडक आएपछि माथिमाथि गाउँबाट मान्छे तल झरेर सडक छेउमा घर बनाउन थाले, पहिला सुनसान हुने ठाउँमा अहिले निकै रमाइलो र चहलपहल भयो”, शेरचनले भन्नुभयो ।

उहाँले सडकले गाउँठाउँको विकाससँगै सुगमका ठाउँदेखि दुर्गमका गाउँ जोडिएको भन्दै यसले गर्दा स्वास्थ्य, शिक्षालगायत धेरै सेवासुविधा उपभोग गर्न पाएको बताउनुभयो । स्वास्थ्य उपचारका लागि टाढाटाढा जाने बाध्यता हटेको जनाउँदै अहिले नजिकै उपचार पाउन थालेको स्थानीयले बताउँछन् ।

“सडक आयो, बजार बन्दैछ, बजारमा ठूला होटल पसलसँगै अस्पताल पनि बनेका छन्, त्यसले गर्दा अब बिरामी परेर डोलामा बोकेर टाढा जानुपर्ने बाध्यता हटे, नजिकै अस्पताल छ, त्यहीँ गएपछि उपचार हुन्छ”, शिखका इन्द्र बरुवालले भन्नुभयो, “पहिले मोटर गुड्ने बाटो पनि थिएन, अस्पताल पनि नजिक थिएन, निकै समस्या थियो, अहिले मोटरबाटो पनि आयो, बजार पनि बन्यो र अस्पताल पनि बन्यो, हामीलाई निकै सजिलो भयो ।” रासस