१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

पनौतीको सम्पदा र सीप जोगाउन जुटे स्थानीय

पनौतीको सम्पदा र सीप जोगाउन जुटे स्थानीय
अ अ+ अ-

धुलिखेल । काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक सहर पनौतीको सम्पदा र परम्परागत सीप संरक्षण गर्न पनौती पर्यटन विकास केन्द्रले अभियान सुरु गरेको छ । केन्द्रले नयाँ पुस्तालाई मार्गदर्शन गर्ने उद्देश्यले पनौती–७ त्रिवेणीघाटमा सम्पदा झल्कने कलात्मक भित्तेचित्र लेखन तथा महिलालाई परम्परागत सामग्री बुन्ने तालिम दिएको छ ।

त्रिवेणीघाट मन्दिर परिसरको घरका भित्ताले सम्पदास्थल कुरुप झैँ देखिएको थियो । नगरपालिकाको सुझावलाई आधार मानि विकास केन्द्रले मकर मेला र पनौतीको सम्पदा झल्किने भित्तेचित्र तयार पारेको छ । केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार विज्ञको सल्लाहमा नमुना तस्बिर तयार पारेर भित्तेचित्र बनाउन लगाइएको हो । बागमती प्रदेश सरकारको सहयोगमा चित्रकार आयुस बज्राचार्य नेतृत्वको टोलीले पनौतीको धार्मिक, ऐतिहासिक र पुरातात्विक इतिहास झल्किने आकर्षक भित्तेचित्र कोरेका छन् ।

पनौतीका साहित्यकार सूर्यप्रसाद लाकाजुले पनौतीको सम्पदा झल्कने र परम्परागत सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने काम भएको बताउनुभयो । भित्ते चित्रको परम्परा निकै प्राचीन रहेको उल्लेख गर्दै उहाँले ब्रम्हायणी मन्दिर र त्रिवेणी सत्तलको भित्तेचित्रले पनौतीको ऐतिहासिकता झल्किएको बताउनुभयो । भित्तेचित्रले मोकिल परम्परा, कलासंस्कृति जोगाउने काम गरेको र आधुनिककालको इतिहास लेख्न बाँकी रहेको लाकाजुले बताउनुभयो ।

“रोशी खोला र पुण्यमाता खोलाको बीचमा रहेको त्रिवेणीघाट परिसरमा घरभन्दा मन्दिर बढी छ भन्ने भनाइ छ”, उहाँले भन्नुभयो, “त्यसको संरक्षण गर्न अब सङ्घसंस्था र स्थानीयवासीले यसरी अभियान थालनी गर्नुको विकल्प छैन ।”

भित्तेचित्रमा पनौती नगरपालिका–६, ७ र ९ को सङ्गमस्थल त्रिवेणीघाटमा लाग्ने बाह्रवर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार पारिएको छ । केन्द्रका अध्यक्ष कर्माचार्यले पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो । उहाँले त्रिवेणीघाटमा निर्मित कलाकृतिले पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो । पनौती घुम्न आउने पर्यटकलाई सहज बनाउन ‘सम्पदा राहदानी’ प्रयोगमा ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।

केन्द्रले नेवार समुदायमा प्रयोग हुने सामग्री बुन्ने सीपसमेत सिकाएको छ । त्यस्ता सीप भएका व्यक्ति र सीप लोप हुने अवस्थामा पुगेकाले ज्येष्ठ नागरिकमार्फत सीप हस्तान्तरण गर्ने काम गरेको हो । चोयाबाट बन्ने मिम्चा, ढकिचा, पिचा, खंँचा, कलालीलगायतका सामग्री बुन्ने सीप चैत ४ गतेदेखि १६ गतेसम्म युवा पुस्तालाई सिकाइएको केन्द्रले जनाएको छ । तालिममा सहभागीलाई प्रमाणपत्रसमेत दिइएको छ । सीप सिकाउने काममा ज्येष्ठ नागरिक आशामाया देउला, गणेशमाया देउला र दिलमाया देउला प्रशिक्षक थिए ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले कलामार्फत पनौतीको सम्पदा झल्कने कलात्मक भित्तेचित्रसँगै महासत्व बुद्धको चित्र अङ्कित गर्ने लक्ष्य रहेको बताउनुभयो । पनौतीको पुरानो बजार क्षेत्र संरक्षण र सरसफाइमा आमनागरिक र सङ्घसंस्थाको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । विसं २०५८ मा संरक्षण क्षेत्र घोषणा भए पनि पनौती बजार क्षेत्र ओझेलमा परेको थियो । यसलाई उजागर गर्न नागरिकस्तरबाट लाग्नुपर्ने प्रमुख भण्डारीको भनाइ छ ।

बागमती प्रदेशसभा सदस्य तीर्थबहादुर लामाले पनौतीको ऐतिहासिक महत्व युवापङ्क्तिले बिर्संदै गएकाले यसको महत्व र गरिमा बचाउन जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । रासस