• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

पनौतीको सम्पदा र सीप जोगाउन जुटे स्थानीय



धुलिखेल । काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक सहर पनौतीको सम्पदा र परम्परागत सीप संरक्षण गर्न पनौती पर्यटन विकास केन्द्रले अभियान सुरु गरेको छ । केन्द्रले नयाँ पुस्तालाई मार्गदर्शन गर्ने उद्देश्यले पनौती–७ त्रिवेणीघाटमा सम्पदा झल्कने कलात्मक भित्तेचित्र लेखन तथा महिलालाई परम्परागत सामग्री बुन्ने तालिम दिएको छ ।

त्रिवेणीघाट मन्दिर परिसरको घरका भित्ताले सम्पदास्थल कुरुप झैँ देखिएको थियो । नगरपालिकाको सुझावलाई आधार मानि विकास केन्द्रले मकर मेला र पनौतीको सम्पदा झल्किने भित्तेचित्र तयार पारेको छ । केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार विज्ञको सल्लाहमा नमुना तस्बिर तयार पारेर भित्तेचित्र बनाउन लगाइएको हो । बागमती प्रदेश सरकारको सहयोगमा चित्रकार आयुस बज्राचार्य नेतृत्वको टोलीले पनौतीको धार्मिक, ऐतिहासिक र पुरातात्विक इतिहास झल्किने आकर्षक भित्तेचित्र कोरेका छन् ।

पनौतीका साहित्यकार सूर्यप्रसाद लाकाजुले पनौतीको सम्पदा झल्कने र परम्परागत सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने काम भएको बताउनुभयो । भित्ते चित्रको परम्परा निकै प्राचीन रहेको उल्लेख गर्दै उहाँले ब्रम्हायणी मन्दिर र त्रिवेणी सत्तलको भित्तेचित्रले पनौतीको ऐतिहासिकता झल्किएको बताउनुभयो । भित्तेचित्रले मोकिल परम्परा, कलासंस्कृति जोगाउने काम गरेको र आधुनिककालको इतिहास लेख्न बाँकी रहेको लाकाजुले बताउनुभयो ।

“रोशी खोला र पुण्यमाता खोलाको बीचमा रहेको त्रिवेणीघाट परिसरमा घरभन्दा मन्दिर बढी छ भन्ने भनाइ छ”, उहाँले भन्नुभयो, “त्यसको संरक्षण गर्न अब सङ्घसंस्था र स्थानीयवासीले यसरी अभियान थालनी गर्नुको विकल्प छैन ।”

भित्तेचित्रमा पनौती नगरपालिका–६, ७ र ९ को सङ्गमस्थल त्रिवेणीघाटमा लाग्ने बाह्रवर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार पारिएको छ । केन्द्रका अध्यक्ष कर्माचार्यले पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो । उहाँले त्रिवेणीघाटमा निर्मित कलाकृतिले पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो । पनौती घुम्न आउने पर्यटकलाई सहज बनाउन ‘सम्पदा राहदानी’ प्रयोगमा ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।

केन्द्रले नेवार समुदायमा प्रयोग हुने सामग्री बुन्ने सीपसमेत सिकाएको छ । त्यस्ता सीप भएका व्यक्ति र सीप लोप हुने अवस्थामा पुगेकाले ज्येष्ठ नागरिकमार्फत सीप हस्तान्तरण गर्ने काम गरेको हो । चोयाबाट बन्ने मिम्चा, ढकिचा, पिचा, खंँचा, कलालीलगायतका सामग्री बुन्ने सीप चैत ४ गतेदेखि १६ गतेसम्म युवा पुस्तालाई सिकाइएको केन्द्रले जनाएको छ । तालिममा सहभागीलाई प्रमाणपत्रसमेत दिइएको छ । सीप सिकाउने काममा ज्येष्ठ नागरिक आशामाया देउला, गणेशमाया देउला र दिलमाया देउला प्रशिक्षक थिए ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले कलामार्फत पनौतीको सम्पदा झल्कने कलात्मक भित्तेचित्रसँगै महासत्व बुद्धको चित्र अङ्कित गर्ने लक्ष्य रहेको बताउनुभयो । पनौतीको पुरानो बजार क्षेत्र संरक्षण र सरसफाइमा आमनागरिक र सङ्घसंस्थाको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । विसं २०५८ मा संरक्षण क्षेत्र घोषणा भए पनि पनौती बजार क्षेत्र ओझेलमा परेको थियो । यसलाई उजागर गर्न नागरिकस्तरबाट लाग्नुपर्ने प्रमुख भण्डारीको भनाइ छ ।

बागमती प्रदेशसभा सदस्य तीर्थबहादुर लामाले पनौतीको ऐतिहासिक महत्व युवापङ्क्तिले बिर्संदै गएकाले यसको महत्व र गरिमा बचाउन जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । रासस