• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

अहिलेको लडाइँ केपी ओली र हाम्रोबीचको निजी लडाइँ होइन : नेपाल



काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अहिलेको लडाइँ केपी ओली र आफूहरुबीचको निजी लडाइँ नभएको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै नेपालले अहिलेको लडाइँ केपी ओलीसग नभइ उनको प्रतिगामी कदमविरुद्धको लडाइँ भएको बताएका हुन् । 

'केपी ओलीको प्रतिगामी कदमविरुद्ध संघर्षमा रहेको छौं । उनले संवैधानिक शासनलाई चुनौती दिएका छन् । आजसम्म प्राप्त उपलब्धि जोगाउन हामी जुधिरहेका छौं । यो लडाइँ केवल केपी ओली र हामीबीचको निजी लडाइँ होइन,’ उनले भने, संघीयता, लोकतन्त्रलाई कमजोर बनाउने र बलियो बनाउन चाहनेबीचको लडाइँ हो । यो संघर्षमा जित्न सकेनौं भने नेपाली जनता हार्नेछन् । नेपाल राष्ट्र हार्नेछ ।’

अध्यक्ष नेपालले ओली नेकपाबाट चोइटिएर गएको भन्दै उनीसँग साइबर सेना मात्रै रहेको दाबी गरे । 'चोइटिएर गएका केपी ओलीसँग आसेपासे मात्रै छन् । भक्तहरु मात्रै छन् । त्यहाँ क्रान्तिकारीहरु, योद्धाहरु हैन । साइबर सेना मात्रै छ । परिवर्तनको चाहना राख्नेहरु हामीसँग छन्,' उनले भने ।

उनले संविधान, कानुनबमोजिम सर्वोच्च र निर्वाचन आयोगबाट फैसला हुने विश्वासमा आफूहरु रहेको भनाइ छ । '४३३ जनाको केन्द्रीय कमिटीमा झण्डै ३ सयको हाराहारीमा सदस्यहरु हाम्रो साथमा छन् । केपीको पक्षमा १०० जति पनि छैनन् । हामीलाई विश्वास छ, अदालत, निर्वाचन आयोगबाट संविधान र कानुनअनुसार फैसला हुनेछ,' नेपालले भने, 'जहाँ हामी छौं, सूर्य चिन्ह त्यहीँ आउँछ ।'