१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान
अ अ+ अ-

सल्लेरी । गत आइतबार सगरमाथा क्षेत्र भ्रमणका लागि पुगेका दुई जना भारतीय पर्यटकका लागि हेलिकप्टर बरदान सावित भयो । लुक्लाबाट पदयात्रा गर्दै नाम्चे, खुम्जुङ, लोबुचे हुँदै गोरक्सेप उक्लिएका उनीहरु त्यहाँबाट अघि बढ्न सकेनन् । पाँच हजार १६४ मिटरको उचाइमा अवस्थित गोरक्सेप पुगेपछि लेक लाग्न सुरु भएकाले स्वास्थ्यमा जटिलता देखिन थालेपछि अन्तत: हेलिकप्टरको साहार लिनुपर्‍यो ।

सगरमाथा क्षेत्र भ्रमणमा पुगेका ती पर्यटक ‘हाइ अल्टिच्युट’का कारण सिकिस्त बनेका थिए । लेक लागेर बिरामी परेपछि उद्धारका लागि हेलिकप्टर झिकाउनुपरेको पर्यटक गाइड नाम्गेल शेर्पाले बताउनुभयो । उहाँका अनुसार पाँच हजार एक सय ६४ मिटरको उचाइमा लेक लागेका ती पर्यटकलाई हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प थिएन ।

हवाई उद्धार गरेर दुई हजार आठ सय ६० मिटरको उचाइ लुक्ला ल्याएको केही समयपछि स्वास्थ्य अवस्था सामान्य बन्दै गएकोे शेर्पाले बताउनुभयो । “सुरुमा शरीर कमजोर भएको महसुस गरेका ती पर्यटकले विस्तारै टाउको दुख्ने र वान्तासमेत गरेका थिए”, उहाँले भन्नुभयो ।

अवस्था सामान्य होला कि भन्ने प्रतिक्षामा रहेका पर्यटक गाइड उनीहरूको अवस्था झन् नाजुक हुँदै गएपछि भने बाध्य भएर हेलिकप्टर झिकाउनुपरेको व्यवसायी सुशन राईले बताउनुभयो ।

लेक लागेर श्वासप्रश्वासमा समस्या भइरहेको अवस्थामा समयमा उद्धार हुन नसके मानिसको ज्यान जान सक्ने शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौँका डा सञ्जीव तिवारीले बताउनुभयो । यस्तो बेला बिरामीलाई कम उचाइ भएको स्थानतर्फ झार्नु नै सबैभन्दा राम्रो उपचार विधि भएको उहाँको भनाइ छ ।

“लेक लागेर सिकिस्त बनेका बिरामीलाई सधैँ औषधिले मात्रै काम नगर्ने भएकाले तलतिर झार्नु उत्तम विकल्प हन्छ । झन् माथि गइयो भने त्यसले दुर्घटना निम्ताउन सक्छ”, डा तिवारीले भन्नुभयो, “म आफू पनि माउण्टेन क्षेत्रको उपचारमा सङ्लग्न भएको अनुभवले लेक लागेको बेला उद्धार गरेर कम उचाइ भएको ठाउँमा लैजानु बुद्धिमानी हुने सुझाव दिन्छु ।”

सगरमाथा क्षेत्रमा सिजनमा दैनिक ५० भन्दा बढी हेलिकप्टरले उडान भर्ने गर्दछन् । कैलाश हेलिकप्टर, हेलि एभरेष्ट, अल्टिच्युट, सिम्रिकलगायत कम्पनीका हेलिकप्टरले सो क्षेत्रमा दैनिक दर्जन बढी पर्यटकको उद्धार गर्ने गरेका छन् ।

सवारीसाधन पुग्न नसकेकाले पनि सगरमाथा क्षेत्रका लागि हेलिकप्टर निर्विकल्प उद्धारको साधन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सहायक संरक्षण अधिकृत मनोजकुमार मण्डलले बताउनुभयो । हेलिकप्टरले यस क्षेत्र भ्रमणमा आउने सयौँ पर्यटकको ज्यान बचाउने गरेको उहाँको भनाइ छ ।

मण्डलले भन्नुभयो, “हेलिकप्टर छैन भने त यहाँ धेरै पर्यटकको ज्यान जान सक्छ, भ्रमणमा आउनेहरूलाई उचाइ बढ्दै गएपछि लेक लाग्ने समस्या हुन्छ, त्यस्तो अवस्थामा उनीहरुको उद्धार भएन भने जे पनि हुनसक्छ, त्यसैले यहाँका लागि हेलि भनेको सहरको एम्बुलेन्सजस्तै हो ।” उहाँका अनुसार सगरमाथा क्षेत्रका लागि हेलिकप्टर सडक पुगेका ठाउँको एम्बुलेन्सजस्तै बनेको छ ।

भौगोलिक कारण हिमालमा हरेक सेवा सुविधा नहुने भएकाले राहत, उद्धारदेखि अतिआवश्यक ढुवानीका लागि हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता छ । सगरमाथा क्षेत्र पुग्ने पर्यटक तथा पर्यटन व्यवसायीलाई हेलिकप्टर प्रयोग गर्नु रहर नभई बाध्यता भएको विश्व कीर्तिमानी आरोही तेम्बाछिरी शेर्पाले बताउनुभयो । जसका कारण खुम्बुमा हेलिकप्टर सामान्य बनेको उहाँले बताउनुभयो । “यहाँ अरु साधन छैन, भारीहरू भरिया र चौँरीले बोके पनि आकस्मिक उद्धारमा त्यो सम्भव छैन, त्यसैले यहाँ त हेलि चढ्नुको विकल्प हुँदैन”, उहाँले भन्नुभयो ।

सो क्षेत्रमा विभिन्न सामग्री ढुवानीका लागि पनि हेलिकप्टरलाई भरपर्दो साधनका रूपमा लिइन्छ । सगरमाथा क्षेत्रको पाँच हजार एक सय ६४ मिटरको उचाइमा अवस्थित गोरक्सेपबाट माथिल्लो क्षेत्रमा हेलिकप्टरले प्रतिपटक दुई जनाभन्दा बढी यात्रु बोक्न दिइँदैन । नागरिक उड्डयन प्राधिकरणले अन्तराष्ट्रिय मापदण्ड तथा उडान सुरक्षालाई मध्यनजर गर्दै यस्तो नियम लागू गरिएको आरोही शेर्पाले बताउनुभयो ।

हेलिकप्टरले सगमारथा क्षेत्रको माथिल्लो भेगबाट लुक्लासम्मका लागि प्रतिपटक उचाइअनुसार नौ सय अमेरिकी डलरदेखि एक हजार पाँच सयसम्म लिने गरेका छन् । सो क्षेत्रमा उडानका लागि हेलि कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरण र सगरमाथा राष्ट्रिय निकुञ्जको अनुमति अनिवार्य गरिएको छ । सगरमाथा क्षेत्रमा सिजनमा दैनिक ५० भन्दा धेरै हेलिकप्टर उडान हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

मौसम प्रतिकूलता चुनौती

गत ‘जनवरी’ २० तारिख हेलिकप्टर समयमा आउन नसक्दा सगरमाथा क्षेत्रमा बिरामी भएका एक चिनियाँ नागरिकको ज्यान गयो । गोक्यो क्षेत्रको चार हजार चार सय मिटर उचाइमा पुगेपछि चिनियाँमूलका अन्दाजी २४ वर्षीया एक महिला लडेर घाइते भइन् । उहाँको उद्धारका लागि सो क्षेत्रमा पुगेका पर्यटक गाइड साङ्गे शेर्पाको पहलमा हेलिकप्टर झिकाइयो । मौसम प्रतिकूलताका कारण उक्त दिन हेलिकप्टर अवतरण हुन नसक्दा ती महिलाको सोही स्थानमा ज्यान गएको तितो अनुभव शेर्पाले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “हामी पनि विदेशीसँग गोक्यो क्षेत्र गएका थियो, रात परिसकेको थियो, ती चिनियाँ महिला लडेर घाइते भएको अवस्थामा उद्धार गर्‍यौँ । हामीले हेलि पनि झिकायौँ तर दुर्भाग्य त्यस दिन मौसम खराब भएर हेलि बस्नै सकेन । राति निजको त्यही ठाउँमा ज्यान गयो, मौसमले साथ दिएर हेलिकप्टर आएको भए उहाँको ज्यान बच्ने थियो । मौसमसँग हाम्रो केही लागेन, खुम्बु क्षेत्रमा हेलिकप्टर सञ्चालनका लागि प्रमुख चुनौती नै मौसम हो ।”

हिमाली भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले उडानमा चुनौती हुने कैलाश हेलिकप्टर लिमिटेडका प्रबन्धक प्रतापजङ्ग पाण्डेले बताउनुभयो । कयौँपटक उद्धारमा पुगेको हेलिकप्टर मौसमकै कारण रित्तो फर्कनुपरेको उहाँको अनुभव छ ।

“फोन आउँछ, उद्धारका लागि आइदिनुपर्‍यो भनेर । नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर तोकिएको स्थानमा पुग्छौँ । त्यहाँ पुग्दा मौसममा समस्या आउँछ, भनेको स्थानमा ल्याण्ड हुन सक्दैन, अनि रित्तो फर्कनुपरेको कयौँ अनुभव छन् । त्यस्तो हुँदा कम्पनीलाई इन्धनको भार पर्छ, हिमालमा हेलिकप्टर चलाउन कहाँ सजिलो छ र रु”, प्रबन्धक पाण्डेले भन्नुभयो ।

हिमाली भेगमा पर्यटकका लागि हेलिकप्टर एम्बुलेन्सकै रूपमा तयारी अवस्थामा रहनुपर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताउनुभयो । “हिमाली भेगका विभिन्न सामग्री ढुवानीका लागि पनि यस क्षेत्रमा हेलिकप्टर प्रयोग हुन्छ । पर्यटक तथा बिरामी उद्धारमा चाहिँ हेलिको विकल्प छैन”, उहाँले भन्नुभयो ।

मौसमका कारण हेलिकप्टर समयमा नआउँदा धेरै पर्यटकले ज्यान गुमाउनुपरेको तितो यर्थाथ रहेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो । बिरामी पर्यटकको उद्धारका लागि यहाँ मुख्य चुनौती नै मौसम रहेको उहाँको भनाइ छ ।

हिमाली भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले समस्या हुने गरेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार हेलिकप्टर कम्पनीलाई इन्धन व्यवस्थापन चुनौतीको विषय बनेको छ ।

कम्पनीहरूले आफूलाई आवश्यक पर्ने इन्धन काठमाडौँबाट गाडीमार्फत टाक्सिन्दुसम्म ढुवानी गरेर त्यहाँबाट हेलिकप्टरमा लुक्ला पुर्‍याउने गरिएको सिम्रिक हेलिकोप्टर प्रालिका महाप्रबन्धक मुरलीधर जोशीले बताउनुभयो । तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा इन्धन स्टेशन नहुँदा इन्धन व्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो ।

लुक्ला विमानस्थलमा निर्माण गरिएको हेलिप्याडमा एकैसाथ सातरआठवटा हेलिकप्टर पार्क गर्न सकिने क्षमता भए पनि सिजनको समयमा १२/१४ सम्म हेलिकप्टर एकसाथ पार्क गर्नुपर्ने बाध्यता रहेको सिम्रिक हेलिकप्टरका महाप्रबन्धक जोशीले बताउनुभयो ।  रासस