• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई कुलमानको आह्वान



फाईल फोटो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई आह्वान गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा याडिया जि—६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न स्थानमा गरी ५१ वटा चार्जिङ स्टेशन राखेको भएपनि अहिलेसम्म आइसक्दा विद्युत प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरुमा करिव ४ सय वटा फास्ट चार्जिङ स्टेशन राखिएको बताउनु भयो । उहाँले एकै ठाउँमा चार्जिङ स्टेशनहरु बढी भएकाले यस सम्बन्धी नीति बनाइदिन लगानी कर्ताहरुले आग्रह गरिरहेको बताउनु भयो ।

धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म धेरै संख्यामा चार्जिङ स्टेशन बनेको बताउनु भयो । उहाँले चार्जिङ स्टेशनमा गरिएको लगानी पट्रोल पम्पमा गरिने लगानी भन्दा ठूलो हुने बताउनु भयो । उहाँले प्राधिकरणले चार्जिङ स्टेशनबाट नाफा कमाउन नभइ प्रोत्साहनका लागि लगानी गरिरहेको बताउनु भयो । उहाँले प्राधिकरणको प्रतियुनिट मूल्य ९ रुपैयाँ पर्ने भएपनि राति चार्ज गर्दा ५ रुपैयाँ ७५ पैसामै दिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शुरुमा हामीले प्रमोसनका लागि । वास्तवमा त्यो बेला कतै पनि चार्जिङ स्टेशन थिएन । हामीले प्रमोशनका लागि ५१ वटा फास्ट चार्जिङ स्टेशन, विद्युत प्राधिकरणले राखेको थियो । त्यसलाई थपेर देशभर विभिन्न ठाउँमा ६२ वटा बनायौँ । अहिले निजी क्षेत्र र विद्युत प्राधिकरण गरी करिव ४ सय वटा फास्ट चार्जिङ स्टेशन देशभर रहेका छन् । कुनै ठाउँमा फास्ट चार्जिङ स्टेशन राख्ने लगानीकर्ताहरुले पोलिसी बनाइदिनुपर्छ, एकै ठाउँमा धेरै चार्जरहरु आयो, हाम्रो चार्जर फुल क्यापासिटीमा चल्नुपर्ने थियो, चलेन भन्नेसम्म भएको छ । यो धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म छ । म एउटा आह्वान के गर्न चाहन्छु भने सबै लगानी कर्तालाई फास्ट चार्जिङ स्टेशनमा सबैले लगानी गर्नुपर्छ । यो लगानी अर्को ठूलो लगानी हो । यो पेट्रोल पम्प भन्दा ठूलो लगानी यो फास्ट चार्जिङ स्टेशनमा आउनुपर्छ । फास्ट चार्जिङ स्टेशनको लगानी भनेको मल्टी डाइरेक्शन लगानी हुन्छ । त्यो एउटा ठूलो चेन बिजनेस बन्छ । यसमा निजी क्षेत्र आउनुपर्छ, निजी क्षेत्रलाई ओपन गर्नुपर्छ भनेर गरिरहेका छौँ । हामीले फास्ट चार्जिङ स्टेशनबाट कमाएका छैनौँ, गुमाएका छौँ । हामीले राति चार्ज गर्दा ५ रुपैयाँ, ७५ पैसा दिएका छौँ, हाम्रो कस्ट नै ९ रुपैयाँसम्म पर्छ । यो प्रमोसनका लागि हो । हाम्रो बेसिक प्राइज हामीले हाम्रो कस्ट भन्दा पनि कममा दिएका छौँ ।’

उहाँले अबको पुस्ताले इलेक्ट्रिसिटीमा सबै काम गर्नेगरी विकास गर्न आवश्यक रहेको बताउनु भयो । ‘इलेक्ट्रिफाइ योर लाइफ’ सबैको नारा बन्नुपर्ने बताउनु भयो । याडिया जि—६ मा ३ किलोवाटको मोटर र २.७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ । यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ । यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ । फुल चार्ज हुँदा १५० किलोमिटर गुड्ने बताइएको छ । फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध सो इलेक्ट्रिक स्कुटरको ग्राउण्ड क्लियरेन्स १७० एमएम छ । फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता छन् । कम्पनीले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी दिएको छ । याडिया जि—६ को मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।