१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

लोकमार्ग छेउछाउमा बढ्दै बस्ती

लोकमार्ग छेउछाउमा बढ्दै बस्ती
अ अ+ अ-

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गाबाट पूर्वीरुकुम र रोल्पाको सिमाना पातीहाल्नेसम्म जोडेको छ । उक्त लोगमार्ग बागलुङ, गलकोट र ढोरपाटन नगरपालिका तथा काठेखोला, बडिगाड र निसीखालोला गाउँपालिकाको मध्यभागबाटै चिरेर गएको छ । लोकमार्गसँग जोडिएपछि पछिल्लो आधा दशकयता धेरै ठाउँमा बस्ती विस्तार हुँदै गएका छन् ।

बागलुङमा करिब एक सय ४२ किलोमिटर फैलिएको लोकमार्गले काठेखोलाको बिहुँ खण्डअन्तर्गत १२ किमीबाहेक सबै कालोपत्र भइसकेको छ । लोकमार्ग विस्तार र स्तरोन्नति भएसँगै छेउछाउमा बस्ती निर्माण हुँदै गएका छन् । बागलुङ दशकौँ अगाडि पनि बजार र बाक्लो बस्ती भएको क्षेत्र थियो । पछिल्लो समय काठेखोलाको अक्षते, गलकोटको हटिया, बडिगाडको हाँडीखोला, खर्बाङ, न्वारा, खौलारा, खारा, भीमगिठे, निसीखोलाको देवीस्थान, खाडु, जुग्जाखोला, ढुवाखोर, झिवाखोला, कानाबर, निसी, भल्कोट, सीप हुँदै पातीहाल्नेमा पनि बस्ती विस्तार हुँदै गएका हुन् ।

विकासको दृष्टिकोणमा पश्चिम बागलुङका सबै पालिका पछाडि रहेकामा मध्यपहाडी लोकमार्गसँग जोडिएपछि यहाँ विकासले गति लिन थालेको स्थानीय पदमबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार पछिल्ला केही वर्षयतादेखि बढ्दो बसाइँसराइ कम भएको छ ।

जिल्लाकै सबैभन्दा विकट मानिने निसीखोला क्षेत्रका लागि लोकमार्ग वरदान सावित भएको छ । धेरैजसो ठाउँमा बस्तीसँगै बजारसमेत बस्न थालेका छन् । बस्ती विस्तार हुन थालेपछि लोकमार्ग छेउछाउका जग्गाको मूल्यसमेत आकासिएको स्थानीय बताउँछन् ।

गलकोटको हटियामा एक दशक अगाडि थोरै घर र सानो बजार थियो । बजार नजिकका जग्गामा धानखेती हुन्थ्यो । अहिले धान उत्पादन हुने खेत ठूला–ठूला कङ्क्रिटका घरले भरिएका स्थानीय खत्रीले बताउनुभयो । उहाँका अनुसार जिल्लाको तेस्रो ठूला बजारका रूपमा हटिया क्षेत्र विस्तार भएको छ । घर तथा अन्य भौतिक संरचना निर्माणका लागि खाली जग्गा पाउनै गाह्रो हुन थालेको उहाँ बताउनुहुन्छ ।

करिब १५ वर्ष अगाडिसम्म सुनसान हुने हटिया बजारमा अहिले चहलपहल निकै बढेको खत्रीले बताउनुभयो । लोकमार्गले जोडिएर कालोपत्र भएपछि गाउँबाट धमाधम हटिया झरेर बस्न थालेका उहाँले बताउनुभयो । “विकास हुन धेरै समय लाग्दोरहेनछ । हेर्दाहेर्दै हटिया घरैघरले ढाकिएको छ । साँघुरो ठाउँ थियो, अहिले यहाँ खाली जग्गा कतै देखिँदैन । बजार परका खेत पनि घरले भरिन थालेका छन्”, खत्रीले भन्नुभयो, “पहिला खेती हुने ठाउँ सबै मासेर अधिकांशले घर बनाउन थालेका छन्, विकास र सुविधाले बस्ती बाक्लिँदै छ ।”

काठेखोला गाउँपालिका–२ अक्षतेमा डेढ दशक अगाडिसम्म धान, गहुँ र तोरी फल्ने खेत थियो । दुई–चार साना छाप्रा थिए । अहिले बजारको स्वरुप लिएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षतेको पछिल्लो एक दशकमा मुहार फेरिएको छ । लोकमार्ग छेउमै रहेको अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ ।

काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँहरू यही बजार हुँदै जानु पर्दछ । विसं २०५४ मा सडक सञ्जालसँग जोडिएको अक्षेत बजारमा लामो समयसम्म बस्ती विस्तार हुनसकेको थिएन । अहिले यहाँ घर, ठुल्ठूला भवन बन्ने र बजार विस्तार तीव्रगतिमा भइरहेको स्थानीय मेखबहादुर भण्डारीले बताउनुभयो । कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढा–टाढा पुग्नुपर्नेमा अहिले घरघरमै पाउन थालेको उहाँले भन्नुभयो ।

अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तङ्ग्राम, धम्जालगायत गाउँका स्थानीयको नजिकको बजार बनेको भण्डारीले बताउनुभयो । गाउँ सडक सञ्जालसँग जोडिन थालेपछि चहलपहल बढ्न थालेको छ । स्थानीय भण्डारीले उदयीमान सहरका रूपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै स्थानीय निकायले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हरेक वर्ष नयाँ घर बन्ने क्रम बढेको सुनाउँदै ढल व्यवस्थापन, खानेपानी तथा पूर्वाधार विकास, नक्सा पासलगायतका कामको सुरुआत गर्नुपर्ने उहाँले बताउनुभयो ।

“विकासको मेरुदण्ड सडक रहेछ, जब सडकले यो ठाउँ जोडियो, त्यसपछि यहाँ विकाससँगै बस्ती विस्तार हुँदै गए । अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ, यहाँ सडक आएपछि मात्रै विकासको सुरुआत भएको हो । यसअघि नुन, तेललगायत दैनिक उपभोग्य वस्तु ल्याउन पर्वतको कार्कीनेट वा बागलुङ बजार पुग्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले पहिलेजस्तो समस्या छैन, सबै सेवा सुविधा घरै अगाडि आएका छन् ।”

बागलुङमा लोकमार्गको सबैभन्दा बढी खण्ड करिब ४० किमी निसीखोला गाउँपालिकामा पर्दछ । पाखुट्टेबाट पातीहाल्नेसम्म करिब दर्जन स्थानमा बजार बन्न थालेका छन् । निसीखोलाकै सबैभन्दा ठूला बजारका रुपमा झिवाखोलालाई लिइन्छ । झिवाखोला एक दशक अगाडिसम्म सुनासन थियो । स–साना काठ, माटो र ढुङ्गाले बनेका घर थिए । व्यापारीहरूले त्यही साना घरटहरामा दोकान राखेर सामान बिक्री वितरण गर्दथे ।

मध्यपहाडी लोकमार्गले जोडिएसँगै यातायातका साधन सञ्चालनले व्यापार, व्यवसायका साथै पूर्वाधार निर्माणमा सहजता थपेको छ । यसअघि निसीखोलाको माथिल्लो भाग सबै धानखेत थियो । अहिले धानखेत घर तथा भवनले भरिएका छन् ।

पूर्वीरुकुम र रोल्पाको प्रवेशद्वारका रूपमा रहेको झिवाखोला पनि पछिल्लो समय व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको स्थानीय प्रेम पौडेलले बताउनुभयो । विकासका हिसाबले अझै पूर्वाधार निर्माण हुन बाँकी रहे पनि बसाइँसराइ रोकिएको र बाहिरी मानिसको आकर्षण बढेको उहाँ बताउनुहुन्छ ।

लोकमार्गले गर्दा सहरबजारमा पाइने सुविधा यहीँ पाउन थालेपछि गाउँबाट यहाँ झर्नेहरू बढेका पौडेलले बताउनुभयो । लोकमार्गले झिवाखोला बजार नजोडिँदा यहाँ खेतको मूल्य निकै कम पर्ने गरेको सुनाउँदै अहिले मूल्य आकासिएर छोइ नसक्नुभएको उहाँले जानकारी दिनुभयो ।

“पहिले साना किराना पसलमात्रै थिए, त्यो पनि घोडा खच्चडमा सामान लिएर बेच्ने गर्थे, मानिसको आवतजावत पनि निकै कम थियो । अहिले बजार क्षेत्रमा मानिसको भीडभाड बढ्न थालेको छ, किनमेल गर्नेदेखि लोकमार्ग हुँदै रोल्पा रुकुम जानेहरू दैनिक यहाँ आउने गर्छन्”, पौडेलले भन्नुभयो, “पहिलेको तुलनामा व्यापार पनि केही बढेको छ । यहाँ वरपर घरघडेरी किन्ने र बाहिरी ठाउँबाट बसाइँसराइ गरी आउने पनि बढेका छन् ।”

सबैभन्दा दुर्गम गाउँका रूपमा लिइने निसीमा पनि अहिले बजार बनेको छ । पहिले बुटवल, तानसेनलगायत ठाउँबाट सामान बोकेर उपभोग गर्ने गरिएकामा अहिले घर–घरमै पसल सञ्चालन हुन थालेका निसीवासी बताउँछन् । लोकमार्ग भएर पूर्वबाट पश्चिमतर्फ दैनिक दर्जनौँ गाडी गुड्छन् । पूर्वाधार विकास, सडक सञ्जाल विस्तारसँगै दुर्गम गाउँको परिचय बदलिँदै गएको छ । रासस