४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विश्व रङ्गमञ्च दिवस : रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

विश्व रङ्गमञ्च दिवस : रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी
अ+ अ-

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ ।

रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्यपि, रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ । चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्राय: नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ । कला जीवनको महत्त्वपूर्ण पक्ष हो । यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले समाज बदल्न कलात्मक गतिविधिको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत रहेका छन् ।

सानो भूमिकादेखि शीर्ष भूमिकासम्म चलचित्रमा स्थापित भएका रङ्गकर्मी रङ्गमञ्चमा कमै फर्किने गरेका छन् । कलामाथि व्यापार पनि हाबी हुँदा उल्लेखित नामहरू रङ्गमञ्चसम्म आउन नसकेको आरोप लाग्ने गरेको छ ।

चलचित्रमार्फत व्यावसायिक सफलता मिले पनि कलाकारितामा अभिनेता सौगात मल्ल रङ्गमञ्चमार्फत स्थापित हुनुभयो । रङ्गमञ्चमा लामो समय बिताए पनि पछिल्लो समय चलचित्रमा व्यस्त हुनुभएका अभिनेता मल्ललाई नाटकमा नदेखिएको लामो समय भइसकेको छ । उहाँले प्रयास भएता पनि त्यसले सफलता पाउन नसकेको स्वीकार्नुभयो ।

“नाटकमा फर्किने योजना बनिरहेको छ । पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन, तर विविध कारणले त्यो पूरा भएन”, अभिनेता मल्लले भन्नुभयो, “केही साथीसँग चलचित्रमा काम गर्ने र त्यसलाई नै नाटकका रूपमा प्रस्तुत गर्ने तयारी पनि भएको थियो । नाटकलाई समय दिनुपर्छ, अभ्यास र मञ्चन गरेर झण्डै दुईदेखि तीन महिनासम्म समय लाग्छ, त्यही कारण पनि धेरैलाई समय मिलाउन सहज नभएको हुन्सक्छ ।”

अभिनेता मल्लझैँ नाटकमा नदेखिएको लामो समय भएका कलाकारमा अभिनेता रवीन्द्रसिंह बानियाँ पर्नुहुन्छ । षट्कोण आर्टस्मार्फत चलचित्र निर्माण सुरु भएपछि अभिनेता बानियाँ रङ्गमञ्चमा फर्किनुभएको छैन । “षट्कोण आर्टस्मार्फत नाटक बनाउने योजना पनि बनेको थियो । तर चलचित्रकै व्यस्तताले गर्दा त्यसले पूर्णता पाएको छैन । अरुको नाटकमा काम गर्न सहज नै हुन्छ तर आफैँले निर्माण गर्दा चार महिना लाग्ने भएकाले रङ्गमञ्चसम्म पुग्न नसकिएको हो । म नाटकमा देखिने तयारीमै छु”, अभिनेता बानियाँले भन्नुभयो ।

व्यावसायिक पाटोभन्दा कला महत्त्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रङ्गकर्मीको भनाइ छ । रङ्गकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताउनुभयो ।

“रङ्गकर्म गरिरहेकालाई यसैबाट जीविकोपार्जन गर्न सहज छैन, अहिले चलचित्रमा महँगो अभिनेतामा पर्ने केहीले यहीँबाट सुरुआत नगरेको भने होइनन्, तर यो अभिनय बुझ्ने र सिक्ने मञ्चमात्र बनिरहेको छ”, सापकोटाले भन्नुभयो, “मैले पनि पाँच वर्षको अन्तरालमा यो वर्ष नाटकमा अभिनय गरेँ । हामीले रङ्गमञ्चमा फर्किँदा नै अभिनय बाँच्न पाउँछौ ।”

आर्थिक पक्षलाई सबल बनाउन भए पनि चलचित्रमा काम गर्ने क्रम बढेको छ । रङ्गमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार चलचित्रमा मात्र देखिनु दु:खद भएको अभिनेता कमलमणि नेपालले टिप्पण्मी गर्नुभयो ।

“रङ्गमञ्चमार्फत मेरो जीविका चल्थ्यो भने सायद म त्यहीँ हुन्थे, तर हामीकहाँ नाटक हेर्ने संस्कार निकै कम छ, यहाँमात्र नभई विदेशमा कमै मानिस नाटक हेर्न रुचाउँछनर््, यस्तै कारणले रङ्गकर्मी चलचित्रमा बढी व्यस्त हुन्छन् होला”, अभिनेता नेपालले भन्नुभयो, “नाटकमा फर्किन ढिलो गर्न हुँदैन, हामीले आफ्नो उपस्थिति रङ्गमञ्चमा पनि राख्नुपर्छ, चलचित्रमा मात्र केन्द्रित भएर रङ्गमञ्च भुल्यौँ भने कलाकारिता पनि जीवित रहन सक्दैन ।”

अभिनेता रवीन्द्र झाले मैथली नाटकमार्फत अभिनयको सुरुआत गर्नुभयो । ‘जात्रा’मार्फत चलचित्रमा स्थापित भएपछि उहाँ पनि रङ्गमञ्च फर्किन सक्नुभएको छैन तर उहाँले नाटकप्रति माया भएकाले बेलाबखतमा हेर्न पुग्ने बताउनुभयो ।

“हामीले रङ्गमञ्चलाई भुलेको भए समय निकालेर त्यहाँ पुग्ने थिएनौँ । मञ्चमा नभएता पनि दर्शक बनेर आफ्नो प्यास मेटाइरहेका छौँ । चलचित्रमा काम गर्दा समय व्यवस्थापन गाह्रो भएको मात्र हो, रङ्गमञ्च भुल्ने कल्पना पनि गर्न सकिन्न”, अभिनेता झाले भन्नुभयो । नाटकमा आफ्नो कला देखाएर चलचित्रसम्मको यात्रा तय गरेका रङ्गकर्मीलाई ‘थिएटर’मा अहिले विरलै देख्न पाइन्छ । रासस