६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राना समुदायको पृथक होली



अ+ अ-

दोधारा चाँदनी । अन्य समुदायले भन्दा राना समुदायले होलीपर्व पृथक तरिकाले मनाउने गरेका छन् । झण्डै ३८ दिनसम्म मनाइने राना समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ । रानाथारू समुदायमा दुई चरणमा होलीपर्व मनाइने गरिन्छ । पहिलो चरणअन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ ।

त्यसपछिका आठ दिनको समय मृत्त होली मनाउने प्रचलन रहेको रानासमुदायका अगुवा बताउँछन् । “मृत्त होली अन्य समुदायको होली सकिएपछि सुरु हुन्छ”, भीमदत्त नगरपालिका–१९ का साहेव रानाले भन्नुभयो, “माघ पूर्णिमादेखि फागु पूर्णिमासम्म जिउँदो होली मनाउँछौँ”, उहाँले फागू पूर्णिमापछि रानाथारू समुदायमा बल्ल रौनक छाउने बताउनुभयो ।

“गाउँभरिका महिला पुरुष, वृद्धदेखि बालकसम्म सबैजना होलीमा रमाउँछन्”, रानाले भन्नुभयो, “होली खेलेकै घरमा खाना खाने र रातभरि होली खेलेर रमाइलो गर्ने चलन छ ।” राना समुदायका जानकारका अनुसार हिरण्यकश्यपले विष्णु भगवान्का भक्त आफ्नो छोरा प्रह्लादलाई अग्निमा नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकासँग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए । प्रह्लादले पनि आफ्नो बुवाको कुरा नकाटी फूपू होलिकाको काखमा बसे । जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर खरानी भइन् भने प्रह्लादलाई अग्निले केही गर्न सकेन भन्ने किंवदन्ती छ । त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भएको भनेर होलीपर्व राना समुदायले मनाउँछन् ।

होलीको सुरुको दिन होलीको प्रतीक स्थापना गर्ने दिन हो । “माघ महिनाको पूर्णिमाको दिन दाजुभाइ गुइँठा, काठदाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन्”, भीमदत्त–१९ का मालती रानाले भन्नुभयो, “गाउँको चाकर अर्थात् चौकीदारले घर–घरबाट ल्याएको पूजा सामग्रीसहित होलीको प्रतीक पुत्ला स्थापना गर्छन् ।”

उहाँका अनुसार यसरी होली राख्ने परमपरागत चलनलाई राना समुदायमा ‘होरी धरन’ भनिन्छ । यसको उद्देश्य होलीलाई मथुराबाट आफ्नो गाउँसम्म बोलाउने वा निमन्त्रणा गर्ने हो भन्ने जनविश्वास रहेको उहाँले बताउनुभयो । यसरी होलीको प्रतीक स्थापना गर्ने क्रममा र गरिसकेपछि उपस्थित सबै मिलेर ढोल बजाउने तथा परम्परागत परिहनमा गीत गाउँदै नाच्ने प्रचलन रहिआएको छ ।

फागु पूर्णिमाको दिन बिहान सबै सरसफाइ गरी मीठा–मीठा खानेकुरा पकाइ खाने परम्परा रहेको राना बताउनुहुन्छ । सोही दिन अपराह्न करिब तीन–चार बजे गाउँका सबै दाजुभाइ दिदीबहिनी आ–आफ्नै परम्परागत पहिरनमा सजिएर होलीको पुत्ला दहन गरिएको ठाउँमा गई चामल, गहुँ वा जौँ चढाउँदै जलेको गुइँठालगायत अन्य काठ दाउराको खरानीको टीका लगाउने चलन रहेको स्थानीय मधोवर राना बताउनुहुन्छ ।

“यो दिन वर्षभरिका दु:खकष्टलाई बिर्सने, छिमेकमा हुने आपसी मतभेद, लडाइँ, झगडा एवं हरेक प्रकारका बेमेल त्यागेर ‘राम राम’ भन्दै भेटघाट गर्ने दिन हो”, रानाले भन्नुभयो, “होलीको टीका लगाउनुपूर्व आगो निभाउन र त्यसपछि टीका लगाउनका लागि खेलिने होलीमा गाइने गीतको छुट्टा–छुट्टै भाका हुन्छ ।”

होलीकै अवसर पारी सामाजिक सद्भाव एवं आपसी सम्बन्ध बलियो बनाउन पालैपालो छर–छिमेकमा समेत निम्ता गरी भोज खुवाउने परम्परा चलिआएको उहाँको भनाइ छ । “कहीँ कहीँ राना सामूहिकरूपमा घरघरमा गई गीत गाउँदै होरी नाच गरी दक्षिणा ९फगोहा० माग्ने चलन पनि छ”, उहाँले भन्नुभयो, “होलीको गीतमार्फत मथुराबाट होली मगाउने प्रचलन रहेको छ, परम्परागतरुपमा मनाइँदै आएको होली एक महिना आठ दिनसम्म खेलिन्छ ।”

परम्पराअनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ । जुन घरमा खेल्यो त्यही घरमा खाना खाने र रातभर होली खेल्ने प्रचलन छ । पूर्णिमाको दिन होली दहनपछि आठ दिन मृत्त होली मनाउने चलन छ । होली दहन गरेको ठाउँमा चामल चढाएर सु–स्वास्थ्य र लामो आयुका लागि आशीर्वाद माग्ने चलन रहेको स्थानीय बताउँछन् । महिलाहरूले घगरिया, अङिया, फतुइ (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने प्रचलन रहे पनि पछिल्लो समय डिस्को डिजेमा मात्रै सीमित हुने र होली खेल्ने समय पनि छोटिँदै गएकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् । रासस