• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

दूधको उचित मूल्य नपाउँदा किसान मारमा



फाईल फोटो

घोराही । दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्नहुन्छ । उहाँले २९ भैँसी पाल्नुभएको छ । बिहानै यादव दूध बिक्री गर्न लमही बजारका गल्ली तथा डेरीसम्म पुग्नुहुन्छ ।

यादवले दैनिक ८० लिटर दूध बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले प्रति लिटर दूध रु ७० देखी रु ७५ सम्ममा बिक्री गर्नुहुन्छ । यादवले मोटरसाइकलमा दूध बिक्री गर्न जाँदा बढी खर्च हुने गरेको बताउनुभयो ।

“खर्च धेरै छ, आम्दानी न्यून हुन्छ”, यादवले भन्नुभयो । बिहान उठेदेखि बेलुकासम्म उहाँलाई भैँसीको स्याहार सुसार गर्न भ्याइनभ्याई हुने गरेको छ । भैँसीको स्याहार सुसार गर्नु तथा दूध बिक्री गर्न लमहीसम्म पुग्नु यादवको दैनिकी नै हो । मेहनत अनुसारको दूधको मूल्य नपाएको उहाँको भनाइ छ । “दूधको मूल्य बढाए बिक्री नहुने समस्या छ”, उहाँले भन्नुभयो, “निश्चित ग्राहक छन्, मूल्य बढाउने बित्तिकै ग्राहकको सङ्ख्या घट्छ ।” दूध खेर फाल्नुभन्दा सस्तोमा बिक्री गर्नु उचित भएको यादव बताउनुहुन्छ ।

यसैगरी राजपुर–३ बसन्तपुरकै लवकुस यादवले पनि दूध प्रति लिटर रु ४५ देखि रु ६० सम्ममा बिक्री गर्दैआउनुभएको छ । खरिदकर्ताले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको उहाँको भनाइ छ । यादवले गाउँकै होटल तथा सङ्कलन केन्द्रमा दूध बिक्री गर्नुहुन्छ । “दूध उत्पादन बढी भएकाले सस्तोमा बेच्नु परेको छ”, यादवले भन्नुभयो । राज्यले कृषकले उत्पादन गरेको दूध उचित मूल्यमा खरिद गर्ने वातावरण बनाइदिनुपर्ने उहाँको भनाइ छ ।

घोराही उपमहानगरपालिका–२ रामपुरमा ‘ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म’ सञ्चालन गर्दै आउनुभएका गोपाल खनाल दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्नुहुन्छ । उहाँले रु ९० मा दूध स्थानीय डेरीलाई बिक्री गर्दैआउनुभएको छ । बाँकी दूध उपभोक्ताको घर घरमा गएर पनि बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “प्रति लिटर रु ७० भन्दा बढीमा दूध बिक्री गर्नै सकिएको छैन”, खनालले भन्नुभयो । उहाँसँग रु ७० मा दूध खरिद गर्ने डेरीले भने उपभोक्तालाई रु एक सयमा बिक्री गर्ने गरेका छन् ।

सरकारले दूधको उचित मूल्य निर्धारण गर्नुपर्ने कृषकको माग छ । स्थानीय तहले कृषकको समस्या बुझ्न नसकेको उनीहरु बताउँछन् । “स्थानीय सरकार कृषकको समस्याबारे बेखबर छ”, खनालले भन्नुभयोे । उहाँको फार्ममा हाल २८ गाई भैँसी छन् ।