चटक्क परेको जोडिलाई हेर्न कसलाई मन नलाग्ला ? बाटोघाटो , सिनेमा जहिंतहीं प्रेमिल जोडी देख्दा रमाइलो लाग्छ । राम्रा जोडीलाई फेसबुकका भित्तामा देख्ने बित्तिक्कै अहा ! भन्न मन लाग्छ ।
मान्छेको चाहना नै मिलन हो , आखिर विछोड किन मन पराउथ्यो मान्छे ! " उ मेरो बेस्ट फ्रेन्ड मात्रै हो " शामला ( नाम परिवर्तन गरिएको ) को उत्तरले म हैरान भएँ । " तिमीहरु बिहेको भोज कहिले खुवाउछौ ? " ख्याल ठट्ठामै मैले यो प्रश्न गरेकी थिएँ । अमेरिकाको असी वर्ष पुरानो प्लाजा अमेरिका मलमा मेरो एउटा सानो गहना पसल छ । त्यो मलको सुरक्षाकर्मी हो शामला । पातली , लिखुरी मुश्लीम केटी ।
जो सधै ढाकेकी हुन्छे कालो कपडाले आफ्नो शीर । अनुहार चाँही देखिने हुँदा उ अर्ध बुर्कामा हुन्छे भन्दा फरक नपर्ला । पिटर ब्राउनको प्रेमिका भनेर चिनेकी मैले शामलालाई । उसले नै चिनाएको थियो । उ पनि यही मलको सुरक्षाकर्मी थियो पहिले । आफ्नो ठाउँमा प्रेमिकालाई राखेर उ बस ड्राइभिंग तर्फ गयो । सरल र मिलनसार थियो पिटर । आफ्नो काममा दत्तचित्त । कहिले काँहि गफगाफको सुरमा आफ्ना केही प्रेम प्रसङ्ग बताउथ्यो । बिर्यानी खुवायो उसले हामीलाई , शामलाले पकाउन सिकाएको भन्दै थियो । शामलाको हजुरआमासँगको झगडादेखि उसले गरेको बिहेको प्रस्ताव समेत सुनाएको थियो ।
मेरो स्टोरमा शामलालाई रोजाउदै उसले औंठी समेत किनीदिएको थियो। तर आज दुई महिना पनि नबित्दै शामलाले पिटरलाई आफ्नो प्रेमी भन्न हिचकिचाएको देखेर म छक्क परे । पाँच वर्षदेखि मार्सेलालाई चिन्दै आएकी छु । पचपन्नदेखि साठी वर्षका हुँदा हुन् दुवै जोइपोई । उनीहरुको जोडी देखेर कतिले भन्थे अहा ! कस्तो मिलेको जोडी । मिजासिला र मिहेनती । प्राकृतिक औषधिको पसल छ उसको पनि प्लाजा अमेरिका मलमा । कसैलाई नभन्नु है भन्दै उसले आफ्नो मनको कुरा खोली एकदिन – " आजकल म र मेरो लोग्नेको सम्बन्ध छैन नी । " उसको कुराले म अवाक भए । धेरै दिन भएको थियो दुबैलाई सँगै नदेखेको ।
त्यस्तो होला भन्ने त सोचेकै थिएन । मेरी असल ग्राहक पनि हो मार्सेला । लोग्नेको अरुसँगको गोप्य सम्बन्धले गर्दा उनीहरु वीच फाटो बढेको रहेछ । "मामा ,यू वाइ दिस रिङ्ग ? आई ब्रोक विथ हर …"भन्दै आयो नियमित आउने कालो वर्णको ग्राहक । विवाहको औंठी किनेर रमाउदै गएका दुई जोडी छ महिना नपुग्दै छुट्टी सकेछन् । यी सानातिना प्रसङ्गहरु मात्रै हुन् । आए दिन यस्ता अनेक विछोड र मिलनका कथाहरु देख्न र सुन्न पाइन्छ । विकसित मुलुक , शिक्षित परिवेश , स्वर्णीम परिपाटी तर सम्बन्ध भने अति फितलो किन होला ? यही मुलुकमा बस्ने हाम्रा शिक्षित नेपाली समुदायमा पनि यो प्रभाव फैलिदै गएको छ आजकल । सारै नै उदेकलाग्दो तवरले सम्बन्ध जोडिदो र टुक्रदो छ । फलस्वरूप महिला वा पुरुष एक्लिदै जाने क्रम बढ्दो छ । नेपालको परिवेशमा पनि सबन्धहरु पहिले जस्ता मजवुत छैनन् । फेसबूकको भित्तामा घरिघरी पोष्ट गरिने , हेर्दा सुन्दर देखिने जस्ता पनि छैनन् सम्बन्धहरु । सम्बन्धहरु बढी देखावटी भएको छ आजकल । देखासिकी र प्रतिस्पर्धाबिचका सम्बन्धहरु त्यस्तै प्रगाढ़ होलान् र !
कुनै जमाना थियो , देख्दै नदखेको , देखे पनि नबोलेको वा भेट्दै नभेटेको मान्छेसँग बिहे गरी जानुपर्थ्यो । यस्तो थियो हाम्रो जमाना भनेर आमा , हजुरआमाले उनीहरुको बिहे प्रसङ्ग सुनाउदा आङ्ग सिरीङ्ग हुन्थ्यो , लाग्थ्यो कुनै नमिठो कथा वा कहानी पढ्दै छु । तर बाबु आमा , हजुरबुबा हजुरआमाको माया प्रेम देख्दा ती तीता प्रसङ्गहरु ओझेलमा पर्थे । हुन त त्यसरी सम्झौतामा जिन्दगी बाँच्नेहरु सबै भाग्यमानी कहाँ हुन्थे र ! पुरुषलाई त अन्त रमाइलो गर्न मात्र होइन अर्को बिहे गर्ने छूट थियो तर महिला कुण्ठित भएर बाँच्ने जिन्दगी कति भयावह थियो होला ! हो आज समय फरक छ ,फराकिलो सोच छ , शिक्षा र संचारका माध्यमहरुले जनचेतना बढाएको छ । सबै भन्दा ठूलो कुरा स्वतन्त्रता छ रोजाइमा तर पनि सम्बन्ध यति कमजोर किन छ ? विश्वास , सम्मान , त्याग , समर्पण , माया अनि प्रेममा कमी छ ।
स्वार्थ , घमण्ड , इर्ष्याले सम्बन्धलाई फितलो पारेको छ । छिनमा सम्बन्ध जोडिन्छन् छिनमै तोडिन्छन् । जो कोहीले आफ्नो जोडीबाट माया , प्रेम , सम्मान र इज्जत चाहेको हुन्छ । शंका , अविश्वास , हेपाई , वेवास्ता र लापरवाहीजस्ता कुराहरु सम्बन्ध टुक्रिने कारण भएका छन् । मन भन्ने कुरा या त मिल्छ या मिल्दैन । हिन्दीमा कहावत छ नि " इश्क मे जोर कहाँ ? " मिल्दै नमिल्ने मनलाई वलजफती गरेर मिलाउनु खोज्नु हुदैन भन्ने मेरो मान्यता हो । सम्झौताका सम्बन्ध प्रायस ढिलो या चाँडो टुटेकै हुन्छ । जहाँ असीम प्रेम छ , अटुट माया छ , त्यो सम्बन्ध टुट्दै टुट्दैन , जति कोशिस गरे पनि छुट्दै छुट्दैन । किताब , कहानि र सिनेमामा मात्र होइन तपाई हाम्रै वरिपरि पनि प्रसस्तै छन् आदर्श प्रेमिल जोडीहरु । ति आदर्श जोडीको प्रेमलाई सेक्स, सम्पति र सन्तानका कारणबाट टुक्रिनु पर्दैन । उनीहरू वीच त माया , सम्मान , त्याग र समर्पण मात्र हुन्छ । आफ्ना वरिपरि ध्यानपूर्वक हेर्दा आजपनि शान्त सीतल जोडीहरु भेटिन्छन् । उनीहरूलाई भेट्दा आनन्द आउँछ , मनमा सम्मान जाग्छ ।
त्यस्तो जोडी पो जोडी ! माया र प्रेमको परिभाषा अलि फरक छ । अहिले म त्यतातिर जान्न । यी दुवै संजिवनी बुटी हुन् जिन्दगीका । यसले जीवन फलाउँछ फुलाउँछ । माया , प्रेम विनाको मान्छे त यसै आधा मरिरहेको हुन्छ । बाटो विराएर भड्किरहेको हुन्छ । प्रेम त यस्तो अमृत हो जसलाई जति बाँड्यो उति बढ्छ । यो महिना भ्यालेन्टाइनको रुपमा चर्चित छ , फेब्रुवरी १४ लाई त्यसैले प्रेम दिवस भनेर मनाइन्छ । पश्चिमी सभ्यताबाट सापटमा आएको यसले विश्वमै प्रभाव छोडिसकेको छ ।
अहिले यतिखेर प्रेम दिवस मनाउने होडवाजी छ । नेपाल किन अछूतो रहन्थ्यो र ! नेपाली माझ पनि यो प्रभाव केहि वर्ष यतादेखि फैलदै गएको छ । एक दिन गुलाफको फूल दिंदैमा र रेस्टूरेंन्टमा गएर खादैमा माया बढ्ने होइन । वर्षदिनभरी एकले अर्काको मन बुझ्न नसकेपछि एकदिनको देखासिखिले के के नै फलिफाप हुन्छ र ! हुन त प्रेम दिवस मनाउने प्रचलनलाई नराम्रो भन्न खोजेको होइन । माया प्रेम साटासाट गर्ने दिवस आफैमा किन नराम्रो हुन्थ्यो !
माया त्यसै पनि मीठो र अमूल्य हुन्छ । मनभरी मायाको फूल फुलाउने जोडिलाई ओइली जाने त्यो गुलाफको फूलको आवश्यकता नै पर्दैन । " जीवनलाई जोड़दछ मायाले " अशेष मल्ल दाइले भन्नु भएको कुरा सारै चित्त बुझ्यो । प्रेम दिवसको शुभकामना ।











