२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु

अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु
अ अ+ अ-

बेनी (म्याग्दी)। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो । सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकर्मी, भूगर्भविद्, वातावरणविद्, जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले स्थलगत अवलोकन, निरीक्षण गरेर गुरुयोजनाको प्रारम्भिक काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा गएको टोलीले तीन दिन लगाएर गुरुयोजनाको लागि स्थलगत अध्ययन सकेर प्रतिवेदन तयार गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।

एकीकृत गुरुयोजनामा आधार शिविरमा रहेको पञ्चकुण्ड ताल परिसर र भुसकेटमेलामा लज निर्माण गर्ने योजना समेटिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख बजेटबाट लजको पूर्वाधार बनाउन सुरु गरिने भएको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणलाई व्यवस्थित र योजनाबद्ध गर्नका लागि एकीकृत गुरुयोजना बनाएर अघि बढ्न लागेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

“गुरुयोजनामा समेटिएका पूर्वाधारलाई गाउँपालिका, प्रदेश र सङ्घीय सरकार तथा पर्यटन बोर्डलगायतका निकायसँग साझेदारी र सहकार्य गरेर निर्माण गर्ने योजना बनाएका छौँ, यस वर्ष होटल निर्माण भएपछि आधार शिविरमा खाना बस्नको सुविधा पुग्छ”, उहाँले भन्नुभयो । गुरुयोजनामा ताल परिसरमा रहेको मन्दिरको व्यवस्थापन गर्ने, अन्नपूर्ण हिमालको पहिलो आरोही मौरीस हर्जोगको सालिक स्थापना गर्ने, शौचालय र खानेपानीको सुविधा पुर्‍याउने, आरोहीको सुविधाका लागि गोदाम घर बनाउने योजनासमेत अध्ययन गरिएको छ ।

त्यसैगरी पदमार्गअन्तर्गत सुनखोलामा आश्रयस्थल थप गर्ने, गुफाफाँट र साँधिखर्कमा रहेको आश्रयस्थलको क्षमता विस्तार गरी खानेपानी, शौचालयलगायतका पूर्वाधार थप गर्ने, सबै आश्रयस्थलमा सोलार सुविधा पुर्‍याउने योजना बनाइएको छ । गुरुयोजनामा पदमार्गको आकर्षणको रुपमा रहेको फुतफुते झरनालाई व्यवस्थित गर्ने, झरनाको पानी बगेर जाने खोलामा आर्क प्रविधिको पुल बनाउने, झरना परिसरमा रक गार्डेन बनाउने र कफी सप सञ्चालनको लागि पूर्वाधार बनाउने योजनालाई समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

गुरुयोजनामा नारच्याङमा पर्यटन सूचना केन्द्र बनाउने, प्रवेशद्वारलाई पर्यटक प्रवेशद्वारको रुपमा व्यवस्थित गर्ने योजनालाई समेत समावेश गरिएको छ भने हुमखोला, साँधिखर्क र भुस्केटमेलाको झोलुङ्गे पुललाई व्यवस्थित गर्ने, सुनखोला र नजिकैको खहरेमा समेत पूर्वाधार निर्माण गर्ने, आकासे गुफाको पहिरो रोकथाम र नियन्त्रण गर्ने योजनालाई समेत समावेश गरिएको छ ।

गाउँपालिकालाई पर्यटन बोर्डले समेत रु तीन करोड बराबरको पर्यटन पूर्वाधारका योजना माग गरेकाले यसै पदमार्गका पर्यटन पूर्वाधारका योजनालाई नै सिफारिस गर्ने गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्ग र आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको गउाँपालिकाले नारच्याङमा घरबास र पर्यटक पथ प्रदर्शक तालिम सञ्चालन गर्ने तयारी गरेको छ । एकीकृत गुरुयोजना निर्माण गर्न गाउँपालिकाले यस वर्ष रु १५ लाख बजेट विनियोजन गरेको थियो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालमा छ ।

सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’ को पहिचान गरिएको थियो । नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ ।

हुमखोलादेखि आधार शिविरसम्मको १६ किलोमिटर दूरीमा आठ किलोमिटर व्यवस्थित पदमार्ग निर्माण भएको छ भने पाँच किलोमिटर पदमार्ग मर्मत र तीन किलोमिटर पदमार्ग नयाँ निर्माण गर्नुपर्ने छ । सडक र पदमार्गका पूर्वाधार बनेर यात्राअवधि छोटिएको भए पनि पर्यटकको सुविधाको लागि होटल, लज, खानेपानी, शौचालयलगायतको सुविधा नभएपछि गाउँपालिकाले एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणमा जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ । रासस