काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घका सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवासमक्ष उहाँले राजीनामा बुझाउनुभएको हो । नेपाल गणतन्त्रमा प्रवेश गरेसँगै संशोधन गरिएको सङ्घको विधान चार वर्षसम्म पनि पार्टीको केन्द्रीय कार्यसमितिबाट स्वीकृत हुन नसक्दा सङ्घको महाधिवेशन गर्न नसकेको भन्दै उहाँले राजीनामा दिनुभएको हो ।
त्यस्तै पार्टी सभापति देउवालाई सम्बोधन गरी बुझाएको राजीनामा पत्रमा विसं २०७५ वैशाख २० गते आदिवासी जनजातिहरुको सांस्कृति चाड पर्वहरुको सार्वजनिक बिदा केपी ओली सरकारले खारेज गरेको अवस्थामा ती बिदालाई यथावत राख्न पार्टी सभापतिलाई ज्ञापनपत्र बुझाउँदा पनि उहाँले संसद्मा यससम्बन्धमा केही नबोल्दा मौन समर्थन गरेको जस्तो देखिएको उल्लेख गर्नुभएको छ ।
पार्टीको १४ औँ महाधिवेशनमा भ्रातृ संस्थाहरुले पाउने महाधिवेशन प्रतिनिधिसमेत सङ्घले नपाएको उहाँले गुनासो गर्नुभएको छ । उहाँले यही माघ ११ गते बुझाउनुभएको राजीनामा पत्रमा सङ्घको सभापतिका साथै पार्टीको क्रियाशील सदस्यबाट समेत राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।