२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी ’

थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी ’
अ अ+ अ-

महेन्द्रनगर (कञ्चनपुर) । कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन् ।

सत्र वर्षअघि टीकापुर महोत्सवबाट थारू कला, संस्कृति, पहिरन र परिवारसहितको थारू गाउँ मेला–महोत्सवमा राखेर परम्परागत संस्कृतिको संरक्षणसँगै आयमूलक काममा जुटेका कुश्मीसँगै ३० जना थारू समुदाय यतिबेला सुदूर, लुम्बिनी र कर्णाली प्रदेशमा सक्रिय छन् । पहिलोपटक जारी कञ्चनपुर पर्यटन महोत्सवभित्र थारू गाउँ सञ्चालन गरेका कुश्मीलगायत थारू समुदायले हिउँदको समयमा मात्रै यस वर्ष १० महोत्सवमा प्रदर्शनी कक्ष राखिने बताएका छन् ।

“यहाँबाट कैलालीको बौनिया र चिसापानी सोल्टामा पनि महोत्सव आयोजकले बोलाइसकेका छन्”, कुश्मीले भन्नुभयो, “थारूको परम्परागत नृत्यदेखि परिकारसम्म एउटै थलोमा पाउँदा मेला अवलोकनकर्ताको प्रमुख आकर्षण नै थारू गाउँ बन्छ ।” थारू गाउँको सञ्चालक बन्नुअघि मेलामा लत्ताकपडाको व्यापार गरेका कुश्मीले गर्मीयाम सुरु भएसँगै मेला–महोत्सवमा कमी आउने भएपछि आफूहरू खेतीपातीमा लाग्ने गरेको बताउनुभयो ।

“महेन्द्रनगरमा अहिले १२ स्टलको थारू गाउँ छ भने आठ स्टल सुर्खेत र बाँकी दिपायलमा गएको छ”, उहाँले भन्नुभयो, “अब दार्चुलामा जाने कुरा भइरहेको छ ।” उहाँले महोत्सवमा चहलपहल बढी भएका बेला प्रतिस्टलले रु एकदेखि रु एक लाख ५० हजारसम्मको कारोबार गर्ने गरेको बताउनुभयो । थारू गाउँमा परम्परागत पहिरनमा थारू युवायुवतीले नृत्य देखाउनुका साथै परिकारको स्वाद दिने गर्छन् ।

“थारू परिकार घोङ्गी, गङ्गटा, मुसा, ढिक्री, माछा र मासुका अन्य परिकार, अन्धी चामलको भात, जाँड र घोङ्गीलगायतका परिकार थारू गाउँमा उपलब्ध हुन्छ”, कुश्मीले भन्नुभयो, “ परिकार बिक्रीवितरण गर्दा यिनै परिकारको स्वादले धेरैलाई तान्छ ।”

मेलामा स्टल राख्ने क्रममा कैलाली, कञ्चनपुरका साथै सुदूरपश्चिमका पहाडी जिल्लाबाट पूर्वमा दाङसम्म पुगेको उनीहरूको भनाइ छ । “अब वैशाखपछि हामी खेतीपातीमा लाग्छौँ”, उहाँले भन्नुभयो, “मेला–महोत्सवबाट भएको आम्दानीले घरखर्च चलाउँछौँ ।”

कञ्चनपुर पर्यटन महोत्सवमा थारू संस्कृति झल्काउनुका साथै संरक्षणका लागि थारू गाउँ राखिएको थारू गाउँ स्टल संयोजक बेदप्रकाश चौधरीले बताउनुभयो । “थारू कला, संस्कृतिसमेत प्रदर्शन गर्ने भएकाले गाउँमा प्रवेशका लागि प्रतिव्यक्ति रु २५ टिकट राखिएको हो”, उहाँले भन्नुभयो, “गाउँगाउँभित्र हाम्रो समुदायको सबैखाले पहिचान झल्किने कुरा हेर्न पाइन्छ ।” उहाँले थारू गाउँबाट थारू समुदायको आयस्रोत पनि बनिरहेको बताउँदै महोत्सवहरूमा थारू गाउँलाई महत्व दिनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–२ का लक्ष्मी चौधरीले पनि थारू गाउँमा मिसिएर होटल व्यवसायमा लागेको चार वर्ष भयो । “यो व्यवसायमा लाग्नुअघि धनगढीमा मजदुरी गर्थेँ”, उहाँले भन्नुभयो, “श्रीमान् अहिले पनि मजदुरी गर्छन् म मेला–महोत्सवमा स्टल राखेर खटिएको छु ।”

उहाँले विभिन्न थारू परिकारका लागि कच्चा पदार्थ पाउन मुस्किल हुने गरेको बताउनुभयो । “कतिपय खानेकुरा त अहिले पनि भारतबाट मगाउनुपर्छ”, उहाँले भन्नुभयो, “गङ्गटा भने यसपालि लम्कीबाट ल्याइरहेका छौँ ।”

उहाँले थारू गाउँमा परम्परागत परिकार अवलोकनकर्तालाई खुवाउन पाउँदा खुसी लाग्ने गरेको बताउनुभयो । “मेला सकिएपछि धनगढीमा भाडामा लिएको १० कठ्ठा जमिनमा खेतीको तयारीमा लाग्छु”, उहाँले भन्नुभयो, “पछिल्लो समय मेला–महोत्सवमा प्रदर्शनी कक्ष लगाउँदा ठिकै आम्दानी हुने गर्छ ।” रासस