९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउने विषय पेचिलो भयो: उपप्रधानमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताउनुभएको छ ।

रुस–युक्रेनबीच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिलता रहेको उहाँको स्पष्टिकरण थियो । मंगलवार साँझ सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दुतावासमार्फत आफूले पाएको बताउनु भयो । नेपालस्थित रुसी राजदुतलाई बोलाएर सेनामा भर्ना भएका नेपालीहरुलाई फर्काउने विषयमा निरन्तर संवाद गर्न आग्रह गरेको बताउनु भयो ।

उहाँले उनीहरुसँग गरिएको सम्झौता रद्ध गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन पनि नेपाल सरकारले रुस सरकारसँग अनुरोध गरेको बताउनु भयो । त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले युक्रेनको कब्जामा रहेका नेपाली नागरिकहरुको रिहाईका लागि पनि रुस सरकारसँग आग्रह गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले रुस सरकारसँग मैले विदेशमन्त्रीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दापनि, रुसको राजदुतसँग कुरा गर्दा पनि र त्यो भन्दा अगाडि हाम्रो परराष्ट्र मन्त्रालयको तर्फबाट लिखित रुपमै हामीले हाम्रो चासो र सरोकारहरु नेपाली नागरिकहरुको सुरक्षाको निम्ति, नेपाली नागरिकहरुको फिर्ताका निम्ति, आवश्यक पत्राचार रुसी सरकारसँग गरिसकेका छौं । अव हाम्रो चासो स्वभाविक रुपले जसले ज्यान गुमाई सक्नुभएको छ । उनीहरुलाई नेपाल भित्र उनीहरुको परिवारले आफ्नो परम्परागत रीतिरिवाज अनुसार अन्तिम संस्कार गर्नपाईयोस् भन्नेछ । त्यसको पनि हामीले उहाँहरुलाई ध्यानाकर्षण गराएका छौं । घाइते सबैको राम्रो उपचार होस् , घायल अवस्थामा उनीहरुलाई त्यस प्रकारको कार्यमा नलगाईयो भन्ने हाम्रो स्वभाविक चासो हुने भयो । हामीले जस्ले जीवन गुमाई सक्नुभएको छ । उहाँहरुलाई बीमा र क्षतिपूर्ति छिटो भन्दा छिटो उपलब्ध गराईयोस भन्ने हामो चासो गम्भिरतापूर्वक नै राखेका छौं । त्यसै गरी हामीले नेपालीहरु कति रुसी सेनामा छन, उनीहरुको अवस्था के छ भन्ने बारेमा आधिकारिक जानकारी माग गर्नु पनि हाम्रो कर्तव्य ठानेका छौं । र त्यस अनुसार हामीले रुसी समकक्षीसँग र रुसी सरकारसँग जानकारी पनि माग गरेका छौं । साथसाथै रुसी सेनामा भएको नेपाली नागरिकहरु जे सम्झौता गरेका छन, त्यो सम्झौता रद्ध गर्न, सबैलाई नेपाल फिर्ता गर्न पनि अनुरोध गरेका छौं । र केही रुसी सेनामा रहेका नेपाली नागरिकहरु युद्धमा युक्रेन सरकारद्धार बन्दी अवस्थामा राखिएको भन्ने पनि हामीलाई जानकारी प्राप्त भएको छ । उनीहरुको रिहाईका लागि सम्पूर्ण पहल र प्रयत्न अगाडि बढाई दिन पनि हामीले अनुरोध गरेका छौं । उहाँहरुले मृतकहरुको क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाएको जानकारी दिनु भएको छ । त्यसलाई तीव्र पार्न र सबैलाई छिटो दिनका लागि हामीले अनुरोध गरेका छौं । उहाँहरु सैद्धान्तिक रुपले हामीलाई बताईएअनुसार नेपाली नागरिकहरु जो रुसी सेनामा हुनुहुन्छ । उहाँहरुको सम्झौता रद्ध गर्न, र उहाँहरुलाई नेपाल फिर्ता पठाउन राजी हुनुहुन्छ भन्ने कुराको जानकारी हाम्रो दुतावासले रुसको विदेश मन्त्रालयसँग गरेको कुराकानीमा, हामीलाई पठाएको पत्राचारमा उल्लेख छ । र आज त्यो कुरा मैले रुसको राजदुतसँग पनि सोधेँ । तर त्यसको प्रक्रियामा बारेमा छिटो निर्णय गरियोस भनेर थप अनुरोध गरेको छु । त्यसैले हाम्रो सम्पूर्ण प्रयत्न रुसी सेनामा रहेका नेपाली नागरिकहरुको रक्षाका निम्ति र उनीहरुलाई नेपाल फर्काउनका निम्ति र उनीहरुले पाउनुपर्ने सुविधाका निम्ति र उनीहरुका परिवारले पाउनुपर्ने सुविधाका निम्ति हामी सम्पूर्ण प्रयत्न गरिराखेका छौं । तपाईहरुलाई थाहा छ रुस–युक्रेन युद्धले यो विषय धेरै पेचिलो पनि छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सरकारले रुसी सेनामा रहेका ज्यान गुमाएका नेपालीहरुको क्षतिपूर्तिको उचित व्यवस्था गर्न र त्यसको प्रक्रिया अघि बढाउन पनि रुस सरकारललाई ताकेता गरिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल