६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली विकास बैंकका देशीय निर्देशकद्वारा अर्थमन्त्री पुनसँग शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) को नेपालका लागि देशीय निर्देशक आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय साझेदारी मजबुत बनाउने र सम्भावित आयोजनामा लगानीका लागि थप सहकार्य गर्ने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । भेटका क्रममा निर्देशक कोशवाले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुन: डिजाइनको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलासययुक्त दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम चाँडै सुरु हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

जवाफमा अर्थमन्त्री पुनले प्रमुख विकास साझेदार एडिबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा व्यक्त गर्नुभयो । दूधकोशी र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगानी साझेदारी गर्न गइरहेकोमा पनि अर्थमन्त्री पुनले खुसी व्यक्त गर्नुभयो । “दूधकोशी जलाशययुक्त र माथिल्लो अरुण नदी प्रवाहमा आधारित ठूला आयोजनामध्येका हुन् । म ऊर्जामन्त्री छँदा सुरु भएका यी आयोजनालाई प्राथमिकतामा राखेकामा एडिबीलाई धन्यवाद दिन चाहन्छु”, अर्थमन्त्री पुनले भन्नुभयो ।

नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले त्यसमा सुधार गर्न क्षमता अभिवृद्धि र जनशक्ति विकासमा कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिनुभयो । युवा वर्ग लक्षित रोजगारीका कार्यक्रम ल्याउने तथा निजी क्षेत्र र आमजनतामा आशा जगाउने गरी काम गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभयो । अर्थमन्त्री पुनले नेपालमा लगानी बढाउन पनि एडिबीलाई आग्रह गर्नुभएको छ ।