१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला



अ+ अ-

ढोरपाटन, (बागलुङ) । ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । गतवर्ष फागुनमा एक महिना तालिम लिएपछि रु सात लाख लगानीमा ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका सामान उत्पादनमा लागेकाको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताउनुभयो । उद्योग सातजना महिलाले सञ्चालन गरेको उहाँको भनाइ छ ।

उद्योगबाट ढाकाका विद्यालय पोशाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन गर्दै आएको अध्यक्ष घर्तीमगरले बताउनुभयो । ताराखोला गाउँपालिकाको ७५ र उद्यमी महिलाको २५ प्रतिशत लगानीमा उद्यम सुरु गरिएको भन्दै उत्पादन गरेको सामग्री गाउँमै राम्रो खपत भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उद्योग सञ्चालन गर्न गाउँपालिकाले धेरै सहयोग गरेको छ, हामीले पनि मेहनत गरिरहेका छौँ, छोटो समयमा पनि निकै राम्रो भएको छ, हामीहरूले उत्पादन गरेका सामग्री बिक्री भएन भनेर पिर गर्ने अवस्था छैन, यहीँबाट खपत भइरहेको छ, सिक्दै काम गर्दै गर्दा पनि धेरैतिरबाट हौसला मिलेको छ”, उद्योगलाई थप व्यवस्थित बनाउँदै जाने योजनामा छौँ, गाउँमा पनि केही गर्न सकिने रहेछ भन्ने लागेको छ ।”

ताराखोला गाउँपालिकाकी उद्यम विकास सहजकर्ता निरु घर्तीले महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाइराखेको बताउनुभयो । प्रचारप्रसारका लागि समय–समयमा मेला महोत्सवमा लगेर प्रद्धर्शनसमेत गर्ने गरेको भन्दै पछिल्लो समय ग्राहक उद्योगमै आएर लैजाने गरेको उहाँको भनाइ छ । एकमहिने तालिमले यहाँका महिलाको दैनिकी नै बदलिएको भन्दै पहिले घरको चुलोचौकामा सीमित हुने महिला अहिले उद्यमी बन्न थालेको घर्तीले बताउनुभयो । गाउँपालिकाले उद्यमीका लागि निरन्तर सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

“यहाँका महिला दिदीबहिनी निकै उत्साहित भएर काम गर्नुभएको छ, उहाँहरूले सञ्चालन गरेको उद्योगमा गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ, सुरुमा तालिम लिने बेला त्यत्ति उत्साह देखिएन तर अहिले धेरैले चासो दिनुभएको छ”, सहजकर्ता घर्तीले भन्नुभयो, “उद्यम र सीपले यहाँका महिलालाई आत्मनिर्भर बनाउन थालेको छ, बजारको कुनै समस्या नभएको हुँदा उत्पादन पनि निरन्तर गरिराख्नुभएको छ, गाउँपालिकाले गर्ने प्राविधिकदेखि विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।” रासस