४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला



अ+ अ-

ढोरपाटन, (बागलुङ) । ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । गतवर्ष फागुनमा एक महिना तालिम लिएपछि रु सात लाख लगानीमा ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका सामान उत्पादनमा लागेकाको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताउनुभयो । उद्योग सातजना महिलाले सञ्चालन गरेको उहाँको भनाइ छ ।

उद्योगबाट ढाकाका विद्यालय पोशाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन गर्दै आएको अध्यक्ष घर्तीमगरले बताउनुभयो । ताराखोला गाउँपालिकाको ७५ र उद्यमी महिलाको २५ प्रतिशत लगानीमा उद्यम सुरु गरिएको भन्दै उत्पादन गरेको सामग्री गाउँमै राम्रो खपत भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उद्योग सञ्चालन गर्न गाउँपालिकाले धेरै सहयोग गरेको छ, हामीले पनि मेहनत गरिरहेका छौँ, छोटो समयमा पनि निकै राम्रो भएको छ, हामीहरूले उत्पादन गरेका सामग्री बिक्री भएन भनेर पिर गर्ने अवस्था छैन, यहीँबाट खपत भइरहेको छ, सिक्दै काम गर्दै गर्दा पनि धेरैतिरबाट हौसला मिलेको छ”, उद्योगलाई थप व्यवस्थित बनाउँदै जाने योजनामा छौँ, गाउँमा पनि केही गर्न सकिने रहेछ भन्ने लागेको छ ।”

ताराखोला गाउँपालिकाकी उद्यम विकास सहजकर्ता निरु घर्तीले महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाइराखेको बताउनुभयो । प्रचारप्रसारका लागि समय–समयमा मेला महोत्सवमा लगेर प्रद्धर्शनसमेत गर्ने गरेको भन्दै पछिल्लो समय ग्राहक उद्योगमै आएर लैजाने गरेको उहाँको भनाइ छ । एकमहिने तालिमले यहाँका महिलाको दैनिकी नै बदलिएको भन्दै पहिले घरको चुलोचौकामा सीमित हुने महिला अहिले उद्यमी बन्न थालेको घर्तीले बताउनुभयो । गाउँपालिकाले उद्यमीका लागि निरन्तर सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

“यहाँका महिला दिदीबहिनी निकै उत्साहित भएर काम गर्नुभएको छ, उहाँहरूले सञ्चालन गरेको उद्योगमा गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ, सुरुमा तालिम लिने बेला त्यत्ति उत्साह देखिएन तर अहिले धेरैले चासो दिनुभएको छ”, सहजकर्ता घर्तीले भन्नुभयो, “उद्यम र सीपले यहाँका महिलालाई आत्मनिर्भर बनाउन थालेको छ, बजारको कुनै समस्या नभएको हुँदा उत्पादन पनि निरन्तर गरिराख्नुभएको छ, गाउँपालिकाले गर्ने प्राविधिकदेखि विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।” रासस