११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पकेट’ क्षेत्रमै सुन्तलाको बोट मर्न थालेपछि किसान चिन्तित



अ+ अ-

फिक्कल । गत वर्षसम्म रु दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष रु एक लाखमात्र आम्दानी दियो । सुन्तलाको मूल्य घटेर नभइ अज्ञात रोगले बोट मरेपछि आम्दानी पनि घटेको हो ।

यस वर्ष बोट मरेका कारण सुन्तला नफलेपछि अधिकारीको परिवारलाई आफ्नो परिवार चलाउन त्यति सहज छैन । “विगतका वर्षहरूमा बर्सेनि सुन्तला बिक्रीबाट रु दुईदेखि रु दुई लाख ५० हजारसम्म कमाई हुन्थ्यो तर, यस वर्ष रोगले सुन्तला फलेन”, उहाँले भन्नुभयो, “बल्लतल्ल रु एक लाख आम्दानी गरियो, उत्पादन नै नभएपछि आम्दानी पनि घट्यो ।”

व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएका किसान अधिकारीको बगैँचामा पहिले एक सय ५० बोटसम्म थियो अहिले यो सङ्ख्या घटेर ७० मा सीतित भएको छ । रोगको पहिचान नभएको रोगका कारण अधिकांश बोट मरेका छन् । केही बोट मर्न थालेका छन् । बाँकी बोटमा पनि अन्य समयको जस्तो सुन्तलाका दाना फलेन । फलेका दाना पनि साना र स्वादमा समेत अमिलो हुने गरेको उहाँ बताउनुहुन्छ ।

सुरुमा रोगको सामान्य मात्र लक्षण देखिएको थियो । सुन्तलाको बोट फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने, पात झर्ने र विस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । रोग नियन्त्रणका लागि विभिन्न विज्ञको टोली आए पनि कुनै उपलब्धि नभएको उहाँ बताउनुहुन्छ ।

“हामीले रोग नियन्त्रणका लागि विभिन्न निकायमा हारगुहार गर्यौँ, विज्ञको टोली पनि आउनुभयो”, उहाँले भन्नुभयो, “तर टोलीले स्थलगतरूपमा अनुगमन गरे पनि रोग पत्ता लागेन । के कारणले सुन्तलाको बटो मरेको भन्ने कारणसमेत जानकारी गराएन ।” रोग नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यान गए सुधार हुने आशा अझै रहेको उहाँले सुनाउनुभयो ।

किसान अधिकारीको मात्र होइन, अन्य किसानको पनि अवस्था उस्तै छ । किसान देवराज खनालले सुन्तलाको बगान नै मासिएको बताउनुभयो । वार्षिक रु दुई लाखको सुन्तला बेच्ने गर्नुभएका खनालको बगानमा यस वर्ष एक दान पनि सुन्तला नफलेको जानकारी दिनुभयोे । “मेरो बगैँचामा ६० भन्दामाथि सुन्तलाको बोट थियो, सिजनमा रु दुई लाखसम्म आम्दानी दिन्थ्यो”, उहाँले भन्नुभयो, “तर मुख्य उत्पादन दिने बेलामा सबै बोट मरे, यसपटक बेचिएन ।”

व्यावसायिक सुन्तलाखेती गरेका सलकपुरका दर्जनौँ किसानको बगैँचामै बोट मरेको अर्का किसान टार्जन रानामगरले बताउनुभयो । विगतका वर्षमा रु ६० हजारको सुन्ताला बेच्दै आउनुभएका उहाँले यस वर्ष रु २० हजारको मात्र उत्पादन भएको बताउनुभयो । पछिल्लो समय सुन्तालको बोट मर्ने समस्या बढ्दो क्रममा रहेको उहाँको भनाइ छ ।

मुख्य नगदेबालीका रूपमा खेती गरिँदै आएको सुन्तलामा रोगले सङ्क्रमण गर्न थालेपछि यहाँका दर्जनौँ किसान वैकल्पिक खेतीको खोजी गर्न बाध्य भएका छन् । सलकपुरका दुई सय ५० किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएकामा रोगको सङ्क्रमणका कारण अहिले करिब ३५ घरधुरीले मात्र सुन्तलाखेती गरिरहेका छन् ।

कुनैबेला सुन्तालको पकेट क्षेत्रका रूपमा घोषणा गरिएको सलकपुरका किसानले लगाएको सुन्तलामा रोगले सङ्क्रमण गरेपछि उत्पादनमा ह्रास आएको किसान अधिकारीको भनाइ छ । “विगत यहाँबाट वार्षिक करिब चार करोडको सुन्तला उत्पादन हुने गरेको थियो”, उहाँले बताउनुभयो, “बगैँचाबाटै प्रतिकिलो रु एक सय २० का दरले बेच्दासमेत यस वर्ष करिब रु एक करोडको मात्र सुन्ताला उत्पादन भएछ ।” यहाँ उत्पादित सुन्तला झापाको चारआली, विर्तामोड, दमक तथा भारतको मिरिक, दार्जिलिङ, सिलगुडीलगायत विभिन्न क्षेत्रमा निकासी हुने गरेको छ ।

मुख्यगरी इलामको रोङ गाउँपालिकाको सलकपुर, माईजोगमाई गाउँपालिकाको नामसालिङ, सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर तथा इलाम नगरपालिकाको सुम्बेक, बरबोटे, सोयाक र गोदक क्षेत्रमा व्यावसायिकरूपमा सुन्तलाखेती गरिँदै आएको छ । रासस