१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी

बसाइँसराइले उजाडिएको गाउँमा रमाइरहेका पौडेल दम्पती

बसाइँसराइले उजाडिएको गाउँमा रमाइरहेका पौडेल दम्पती
अ अ+ अ-

ढोरपाटन । वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् । घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन् । सेवासुविधाको खोजीमा गाउँले तराई झर्न थालेपछि बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवा गाउँ सुनसान बन्न थालेको छ ।

सुनसान बन्दै गएको गाउँमा स्थानीय बाबुराम पौडेल र उहाँकी श्रीमती मायादेवी पौडेल भने व्यावसायिक मौरीपालनमा रमाई राख्नुभएको छ । बसाइँसराइले उजाड बन्न थालेको गाउँमा व्यावसायिक बन्दै गएका पौडेल दम्पतीलाई बसाइँसराइ गर्नुभन्दा गाउँमै उद्यमी बन्नु ठिक लाग्यो । अहिले उहाँहरु धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।

पौडेलले तराईमा घडेरीसमेत जोड्नु भएको छ । गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुँने हुँदा बसाइँसराइ नगरेको बाबुरामले बताउनुभयो । उहाँको घरको बार्दली, कौसी, छानो र पिँढीभरि मौरीका घार छन् । घारमा मौरीले रस बनाइरहेका छन् । आधुनिक प्रविधि अपनाएर मौरीपालनमा लाग्नुभएका पौडेल दम्पतीले तरकारीसँगै सुन्तला खेती पनि गर्दै आउनुभएको छ ।

बाबुराम आफैँले आधुनिक मौरीको घार बनाउने हुँदा हरेक वर्ष हजारौँको खाली र मौरीसहितका घार बिक्री हुने गरेको उहाँले बताउनुभयो । हातमा सीप र जाँगरले गर्दा सुनसान गाउँमा बाबुराम सफल उद्यमीकारुपमा चिनिनुहुन्छ ।

पौडेलले बारीमा दुई वटा हाइटेक टनेल बनाएर मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आउनुभएको छ । पाँच वर्ष अगाडि लगाएका एक सय बोट सुन्तलाले पनि अहिले उत्पादन दिन थालेका बाबुरामले बताउनुभयो । मौरीपालनलाई मुख्य पेसा बनाएको भन्दै लोकल कुखुरा, दूध, घ्युका लागि भैँसीसमेत पालन गरेको उहाँको भनाइ छ ।

गाउँमा थुप्रै छिमेकी धमाधम बसाइँसराइ गरे पनि यहाँ अवसर धेरै भएकाले गाउँ छोड्न नसकेको बाबुरामले बताउनुभयो । दश वर्ष अगाडि साथीभाइको लहलहैमा मलेसिया पुगेर २२ महिना दु:ख गरेको सुनाउँदै सङ्घर्ष गरे घरमै पनि प्रशस्त कमाइ गर्न सकिने उहाँको भनाइ छ ।

घरमा पहिले बाउबाजेको पालादेखि दुई/चार घार मौरी पाल्दै आएको बताउँदै बाबुरामले अहिले आधुनिक तरिकाले व्यावसायिकरुपमा लागिएको जानकारी दिनुभयो ।

“गाउँमा काठ जति पनि पाइन्छ, हातमा सीप भएकाले मौरीको घार आफँै बनाउँछु । पहिले मुडे घारमा मौरी पाल्ने चलन थियो, अहिले सबै आधुनिक घारमा राखेका छौँ”, बाबुरामले भन्नुभयो, “विदेश २२ महिना बसेर आएपछि स्वदेशमै केही गरौँ भन्ने लागेर व्यावसायिक मौरीपालन सुरु गरको हुँ । अहिले प्रशस्त आम्दानी भइरहेको छ ।”

आफूले मौरीपालन सुरु गर्दा कुनै तालिम नलिएको बताउँदै बाबुरामले व्यवसाय सुरु गरेको धेरै वर्षपछि मौरी विकास केन्द्र गोदावरीबाट तालिम लिएको जानकारी दिनुभयो । झण्डै डेढ दशकदेखि मौरीपालन गर्दै आए पनि आठ वर्ष अगाडि मात्रै फर्म दर्ता गरेर व्यवसायलाई व्यवस्थित गरेको उहाँको भनाइ छ ।

पौडेलले हाल ४० घार मौरी पाल्नुभएको छ । गत वर्ष एक सय घार मौरी रहेकामा केही बिक्री गरेको र २० घार बचेका उहाँको भनाइ छ । पोहोर साल धेरै घार मौरी अपरिचित रोगले मर्दा झण्डै रू पाँच लाख नोक्सानी व्यहोर्नु परेको बाबुरामले बताउनुभयो । पौडेल दम्पतीले मौरीपालनबाटै दुई छोरोछोरीलाई पोखरामा पढाइ राख्नुभएको छ । छोरीले आइटी इञ्जिनियर र छोराले कम्प्युटर विज्ञान पढिरहेका छन् ।

पौडेलकी पत्नी मायादेवी विहान सबेरै उठेदेखि साँझसम्म मौरीको हेरचार र बारीमा रहेका सुन्तला, टनेलमा गोडमेल र पानी लगाउने काम गर्नुहुन्छ । उहाँहरुले आफ्नो जग्गा कतै पनि बाँझो राख्नुभएको छैन । बारीमा बाँझो जमिनमा लम्सी र फलफूलका बिरुवा लगाउनुभएको छ । जमिनलाई उपयोग गर्ने मान्यताले सबै ठाउँमा विभिन्न प्रजातिका वनस्पतिका बिरुवा लगाइएको मायादेवीले बताउनुभयो । गत वर्ष ४० घार मौरी बेचेकामा यस वर्ष भने कम भएको उहाँको भनाइ छ ।

दुई सिजनमा मौरीको घारबाट मह निकाल्ने हुँदा आम्दानी पनि राम्रो हुने मायादेवीले बताउनुभयो । उहाँहरुले हरेक वर्ष दुई क्विन्टल मह बच्ने गर्नुभएको छ । एक किलोलाई रू एक हजार पाँच सय देखि दुई हजारसम्ममा बिक्री हुँदा मेहनतको मूल्य पर्ने गरेको उहाँले सुनाउनुभयो ।

महको माग धेरै हुने भएकाले बजारको अभाव नभएको मायादेवीले बताउनुभयो । यस वर्षदेखि सुन्तला उत्पादन हुन थालेपछि पहिलो पटकमा रू ७० हजार बढीको बिक्री भएको उहाँले जानकारी दिनुभयो । तरकारीबाट पनि विस्तारै आम्दानी हुन थालेको भन्दै गाउँको माया र माटोप्रतिको सम्मानले गर्दा अन्त बसाइँ सर्न मनले नमान्ने उहाँले बताउनुभयो ।

गाउँमा सामान्य कृषि गर्नेले राज्यबाट पाउने अनुदान सहजै प्राप्त गरिरहेका भन्दै आफूहरुले निरन्तर यही काम गर्दै आए पनि सहयोग पाउन नसकेको बाबुरामले दुखेसो पोख्नुभयो । टाढाबाठाले मात्रै अनुदान पाउने तर वास्तविक किसानले नपाउने उहाँको भनाइ छ ।

“मलाई यहाँ भएको कुनै पनि बारी बाँझो राख्न मन लाग्दैन, गाउँमा हरेक दिन खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । मकै, गहुँ खेती गर्दैनौँ”, मायादेवीले भन्नुभयो, “फलफूल र तरकारीखेती तथा मौरीपालनलाई निरन्तरता दिएका छौँ । मौरीले बारीबाट रस लिन्छन् । मौरी, बोट बिरुवा र माटोसँग खेल्न निकै आनन्द लाग्छ ।” रासस