• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

तेह्र वर्षीया बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद



symbolic picture

इलाम । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ ।

करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो ।

अदालतका न्यायाधिश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो । दिलबहादुरसहित अन्य दुई जनाले बालिकामाथि पटकपटक करणी गरेको भन्दै विसं २०७९ वैशाख १६ र जेठ २९ मा प्रहरीमा बेग्लाबेग्लै जाहेरी परेका थिए । विसं २०७९ असार २९ मा इलाम अस्पतालले पीडित बालिकाको गर्भ रहेको पुष्टि गरेको थियो । घटनाबारे २०७९ साउन १९ मा अदालतमा छुट्टाछुट्टै मुद्दाको अभियोग दर्ता भएको थियो ।

गर्भवती बालिका, गर्भपतन गराइएको शिशु र दिलबहादुरको डियोक्सिराइबो न्यूक्लिक एसिड (डिएनए) विधिविज्ञान प्रयोगशालामा परीक्षण गराउँदा मिलेको रिपोर्ट आएको अदालतले जनाएको छ ।

अदालतले यही फागुन १५ गते दिलबहादुरको कसुर ठहर गरेको थियो । फैसलापछि दिलबहादुरलाई कारागार चलान गरिएको छ । घटनाका थप दुई आरोपी भने बालिकामाथि करणी गरेको पुष्टि नभएपछि सफाइ पाएका छन् ।