मेलबोर्नः अस्ट्रेलियन ओपन टेनिसको महिला एकलको पहिलो सेमिफाइनल बिहीबार अमेरिकी सेरेना विलियम्स र जापानी खेलाडी नाओमी ओसाकाबीच हुँदैछ ।
यी दुई बीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने सम्भावना छ । अझ, ३९ वर्षीया सेरेनाको भिडन्त २३ वर्षीया ओसाकाबीच हुँदैछ अर्थात यी दुई बीचको उमेरको अन्तर झण्डै १६ वर्षको छ ।
अहिले सेरेना विश्व वरियतामा ११ नम्बरमा छिन् भने ओसाका ३ नम्बरमा छिन् ।
यसअघि अमेरिकी ओपनको खेलमा ओसाकाले सेरेनालाई पराजित गरेर पहिलो ग्रान्ड स्लाम हात पारेकी थिइन् । त्यस खेलमा सेरेनाले देखाएको व्यवहारलाई लिएर चौतर्फी आलोचना भएको थियो । खेलमा सेरेनाले अम्पायर कार्लोस रामोसलाई “चोर” को संज्ञा दिएपछि अम्पायरले सेरेनाको नम्बर घटाइदिएका थिए ।
त्यसपछि यी दुई खेलाडी एक पटक आमनेसामने भएका छन् अर्थात् रोजर्स कपमा । त्यस खेलमा भने सेरेनाले ओसाकालाई पराजित गरेकी थिइन् । त्यसपछि ओसाकाले दुई वटा ग्रान्डस्लाम जितिसकेकी छिन् ।











