• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

सत्ता गठबन्धन भत्काउने काँग्रेसको अनुचित प्रयास सफल हुँदैन: प्रदीप ज्ञवाली



काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली काँग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गर्नुभएको छ ।

उपमहासचिव ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने काँग्रेसको प्रयास उचित नभएको पनि जिकिर गर्नुभयो । सरकारबाट हटन नपाउँदै जोजो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रश्ताव गर्दै हिँड्ने काम काँग्रेसले गरिरहेको उल्लेख गर्दै त्यो सत्ताबाट अप्रत्याशित रुपमा हट्नुपर्दा छटपटाहट मात्रै भएको उहाँले बताउनु भयो ।

बुधवार अपरान्ह पार्टी मुख्यालय च्यासलमा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले काँग्रेस जिम्मेवार पार्टीको रुपमा भन्दा पनि प्रतिसोधको भावनाबाट चल्न खोजेको आरोप समेत लगाउनु भयो । काँग्रेसले समानान्तर गठबन्धनको प्रयास गरिरहेका बेला उपमहासचिव ज्ञवालीले काँग्रेसलाई प्रतिपक्षमा रहेर सरकारको गतिविधिलाई ‘पर्ख र हेर’को नीति लिन पनि सुझाव दिनुभयो । उहाँले जनतामा छाएको निराशा र मुलुकको व्यवस्थामा आएको संकटलाई पार लगाउन पनि आफ्नो पार्टीले नयाँ गठबन्धनलाई पूरै कार्यकाल टिकाउन हरसम्भव प्रयास गर्ने पनि स्पष्ट पार्नुभयो । अव यो विकल्प पनि कम भएको र प्रणाली समेत जोखिममा परेको कुरालाई ध्यानमा राखेर राजनीतिक दलहरुले पनि नयाँ सत्तारुढ गठबन्धनलाई टिकाउन काम गर्नेपर्ने उपमहासचिव ज्ञवालीको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘हामी राजनीतिलाई सधैंभरी प्रयोगको एउटा मञ्च, देशलाई एउटा एक्सपेरिमेन्टको थलो बनाउन चाहँदैनौं । मुलुकलाई चाहिएको स्थिरता हो । सरकारमा को रहन्छ, सरकारको नेतृत्वमा को रहन्छ, कुन पार्टीले कुन मन्त्रालय सम्हाल्छ ? साह्रै ठूलो कुरा होइन होला । यद्यपि नेतृत्वले कतातिर लैजाने भन्ने कुराले धेरै कुराहरु फरक पार्छ । तर, त्यो उद्देश्यसँग जोडिएन भने सरकारमा को छ, कसले नेतृत्व गरेको छ, कुन पोर्टपोलियो कसले सम्हालेको छ ? भन्ने कुराको खासै अर्थ हुँदो रहेनछ । अव नेपाली काँग्रेसमा एउटा छटपटी देखिन्छ । उहाँहरुमा एकखालको आवेग जस्तो कि सरकारबाट अप्रत्याशित रुपमा हट्नु परेपछि त्यो देखिन्छ । र यतिबेला नेपाली काँग्रेसका कतिपय मुभहरु चाहीँ प्रतिशोधबाट मुलुकको जिम्मेवारी पार्टीको हैसियतले होइन कि प्रतिसोधको भावनाबाट उहाँहरु चलेको हामी देख्छौं । अब संसदको अंक गणित यस्तो छ कि अब जसरी पनि संयुक्त सरकार नै बन्ने हो । एउटा कुनै पार्टी विशेषको स्पष्ट बहुमत छैन । सय सिट पनि छैन सबभन्दा ठूलो पार्टी भन्नेको पनि ।’

‘त्यसले गर्दांखेरी हामी विभिन्न शक्तिहरुसँग मिलेर अगाडि बढ्न बाध्य नै छौं । यो एउटा सिमाना हो । तर अस्ती सरकारबाट हटने र आज चाहीँ जोजो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रस्ताव गर्दै जाने काँग्रेसको यो तरिका चाहीँ जिम्मेवार तरिका भएन । उहाँहरुले एक छिन वेट एण्ड वाच गर्नुपर्छ । प्रतिपक्षको हैसियतले नयाँ बन्ने सरकारले राम्रो काम गरेन भनेदेखि खबरदारी गर्ने दायित्व उहाँहरुको हुन्छ । तर सरकार बन्ने आकार लिन नपाउँदै जसरी पनि भत्काउने, जे गरेर भएपनि भत्काउने । यो बाटो चाहीँ किमार्थ पनि उचित हो भन्ने मलाई लाग्दैन । काँग्रेसको त्यो व्यग्रता हो । र, यो स्थिति निम्त्याएको पनि उहाँहरुले नै हो । यहाँलाई मैले अलिकति जानकारी गराउ । हामी २०७९ सालको निर्वाचन भन्दा अगावै काँग्रेससँग लामो सम्वाद गरेको हौं कि निर्वाचनमा हामी एक्लाएक्लै प्रतिस्पर्धा गरौं । निर्वाचन अगाडि एलायन्स नगरौं । त्यसले राजनीतिलाई एकदम विकृत बनाउँदो रहेछ । निर्वाचनमा हरेक पार्टीले आफ्नो एजेण्डा लिएर जाने हो नि । उनीहरुको एजेण्डाको आधारमा जनताले उनीहरुलाई चुन्ने हो नि । त्यसो भएर एक्लाएक्लै प्रतिष्पर्धा गरौं । उहाँहरुले मान्नु भएन । चुनावले छरिएको म्यान्डेट दिएपछि देश अस्थिरतातर्फ गयो भन्ने निष्कर्षमा साथ हाम्रो पहिलो प्रस्ताव नेपाली काँग्रेससँग सहकार्य गरौ भन्ने थियो । त्यो कुरा त शेरबहादुर देउवाले अस्ती भन्नु पनि भयो । मिडियाहरुमा पनि त्यो कुरा आयो कि केपी ओलीले दिनमा दुई चोटी फोन गर्दा पनि मैले भेटिन भनेर । तर प्रचण्डले धोका दिए भनेर । भन्नुको तात्पर्य एमालेले त एउटा जिम्मेवार पार्टीबीच एलाइन्स गरौं भन्ने सोचिराखेको थियो । तर काँग्रेसको यो छटपटाहट चाहीँ राम्रो हो भन्ने मलाई लाग्दैन ।’

‘अहिले तत्काल उहाँहरुले भने अनुसार केही हुने स्थिति पनि छैन । हामी चाहीँ अहिले सम्पूर्ण रुपमा हाम्रो ध्यान चाहीँ अस्तीबाट शुरु भएको कोर्सलाई निष्कर्षमा पुर्‍याउने, यसमा रिजल्ट दिने कुरामा हामी केन्द्रित छौं । अव कस्तो भन्छन भने नेपालीमा एउटा उखान छ–तातो दुधले मुख पोलेपछि मान्छेले मोही देखेपनि फु फु गरेर खान्छे भनेजस्तो धेरै चोटी धेरै खालका प्रयोगहरु असफल भए । हामीले २०७४ सालमा बाम सहकार्य गर्‍यौ । पछि पार्टी एकता गर्‍यौं । झन्डै दुई तिहाई बहमत थियो । टिकाउन सकिएन, टिकेन भनौं । यसमा विभिन्न कारणहरु छन् । पोहोर साल पुसमा एउटा कोर्समा लैजाने प्रयास गर्‍यौ । त्यो पनि टिकेन । यसले गर्दा सत्ता गठबन्धनको आयुबारे सोधिने प्रश्नलाई मैले स्वभाविक रुपमा ठान्छु । अब यो प्रश्नको जवाफ मैले भन्ने भन्दा पनि हाम्रा व्यवहारले देखाउने हो । तर हामीसँग, सबै राजनीतिक दलहरुसँग समय पनि र विकल्पहरु पनि साह्रै कम छन भन्ने मलाई लाग्छ । किनभने भुँईतहमा जनस्तरमा चाहीँ असन्तुष्टि असाध्यै धेरै बढेको छ । निराशा असाध्यै धेरै बढेको छ । पात्रहरुको प्रवृत्तिका कारणले, पात्रहरुको गलत क्रियाकलापका कारणले प्रणाली नै अहिले संकटमा छ । प्रणाली गलत होइन हामीले ल्याएको । हामीले ल्याएको लोकतन्त्र, हामीले ल्याएको गणतन्त्र, हामीले बनाएको संविधान यो गलत होइन आफैंमा । तर, गलत पात्रहरुको हातमा, गलत ड्राईभरको हातमा स्टेरिङ पर्‍यो भने त जतिसुकै आधुनिक गाडी पनि, जतिसुकै सुविधासम्पन्न गाडी पनि, जतिसुकै बलियो गाडी पनि त दुर्घटनाग्रस्त हुन्छ । आज त्यो बिन्दुमा हामी छौं ।’

‘अव पनि राजनीतिक दलहरुले जिम्मेवार भुमिका नखेल्ने हो, अब पनि उनीहरुले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर राजनीति नगर्ने हो । र खाली सत्ताको भागबण्डामा मात्रै गएको छ । उसलाई छिर्के हान्ने, त्यहाँ पुग्ने । आखिर गर्ने पनि केही होइन । जस्तो गएको १४ महिनाकै रिजल्टले के देखियो त ? प्रधानमन्त्री सन्तुष्ट हुुनुहुन्न । काँग्रेस सन्तुष्ट छैन । काँग्रेसका धेरै साथीहरु भनिरहनुभएको छ हलुंगो भयो भनेर । किन बस्नुभएको थियो त ? प्रधानमन्त्री पनि सन्तुष्ट नहुने र उहाँलाई प्रधानमन्त्रीको रुपमा यहाँसम्म लिएर आउने सबै भन्दा ठूलो दल पनि सन्तुष्ट नहुने भनेपछि गएको १४ महिना त देशका लागि खेर गएको नै रहेछ नि त । त्यसो हो भने अब यो विकल्प पनि एकदम कम भएको, प्रणाली समेत एकदम जोखिममा परेको कुरालाई ध्यानमा राखेर दलहरुले काम गर्नुपर्छ । त्यो बोध अहिले यो नयाँ कोर्स शुरु गर्ने ४ वटा दलमा छ भन्ने म ठान्दछु । त्यसो भएको हुनाले यो सहकार्यलाई टिकाउनै पर्छ । टिकाउने हाम्रो हरसम्भव प्रयत्न हुनेछ । यसलाई भत्काउने प्रयास पनि हुनेछ ।’

उपमहासचिव ज्ञवालीले गएको १४ महिना काँग्रेस प्रमुख दल रहेको गठबन्धन सरकारले मुलुकमा केही पनि गर्न नसकेको जिकिर गर्दै जनतामा छाएको निराशा र व्यवस्थामाथि आएको संकट समाधान हुने गरी सरकारको काम केन्द्रित हुने पनि बताउनु भयो ।