• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

पर्यटकको आकर्षणमा सङ्ग्रहालय



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सञ्चालनमा आएको सङग्रहालय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

करबाकेली ‘ट्र्याक’ हुँदै भ्रमणमा आउने पर्यटकका लागि प्राकृतिक सौन्दर्यसँगै ‘पुन समुदायको सङ्ग्रहालय’मुख्य आकर्षणको केन्द्र बनेको हो । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा निर्माण गरिएको पहिचान झल्काउने सङ्ग्रहालयमा दैनिकरुपमा भ्रमणमा आउने पर्यटकले रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथान संरक्षण समितिका सचिव रवि गर्वुजाले बताउनुभयो ।

“धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न पाउने यहाँको प्रमुख विशेषता हो, सङ्ग्रहालय सञ्चालनमा आएपछि पर्यटकका लागि थप आकर्षण बनेको छ”, उहाँले भन्नुभयो ।

मौलिकता झल्कने गरी करिब रु ८५ लाखमा निर्माण भएको यो सङ्ग्रहालय बनाउन गाउँपालिकाले रु सात लाख र प्रदेश सरकारले रु पाँच लाख बजेट उपलब्ध गराए पनि अन्य सबै बजेट सहयोगमार्फत जुटाइएको थियो । दुईतला भएको सङ्ग्रहालयमा समुदायका कला, संस्कृति, परम्परा, रहनसहन, जीवनशैलि, पहिचान झल्कने सामग्री सङ्कलन गरेर राखिएका छन् ।

यहाँ आउने सबै पर्यटकले सङ्ग्रहालयमा राखिएका सामानलाई रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथानका कर्मचारी चन्द्रबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार यस सङ्ग्रहालयमा पर्यटकका लागि रु एक सय ५० र स्थानीयका लागि रु ५० प्रवेश शुल्क लिने गरिएको छ । विद्यार्थी, बालबालिका, वृद्धवृद्धा र पत्रकारका लागि भने नि:शुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ ।

सङ्ग्रहालयमा राखिएका परम्परागत पानी घट्ट, कोल, डोको, ढिक्की, जाँतो, मौलिक पहिचान झल्कने पोसाक, हातहतियार, भाँडा, गहनालगायत सामग्रीले पर्यटक आकर्षित हुने गरेका छन् । सङ्ग्रहालयमा राखिएका सामग्रीले परम्परागत समाजको मौलिक कला, संस्कृति, परम्परा, रहनसहन र जनजीवनको झल्को दिने तथा अध्ययनस्थलका रुपमा लिन सकिने बेनीबाट पहिलो पटक करबाकेली पुग्नुभएका रमेश शर्माले बताउनुभयो ।

ढुङ्गा, माटो, चुन, सिमेन्ट, बालुवा र काठ प्रयोग गरेर मौलिकता झल्कने आकर्षक दुईतले सङ्ग्रहालय भवन निर्माण भएको छ । करबाकेलीथान परिसरमा निर्माण भएको सङ्ग्रहालयले परम्परागत र हराएर जाने अवस्थामा पुगेका सामग्रीको संरक्षणमा सहयोग पुगेको अन्नपूर्ण–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । रासस