२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुडुँले–मालिका–पञ्चकोट सडक स्तरोन्नति गर्न थालियो



अ+ अ-

गलकोट । यहाँको स्थापित पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने गरी निर्माण सुरु भएको चक्रपथ सडक स्तरोन्नति गर्न थालिएको छ । ठेक्का सम्झौता भएको चार वर्षसम्म कालोपत्र गर्न नसकेको उक्त सडक ढिलोगरी निर्माण व्यवसायीले काम थालेको हो ।

दुई वर्षभित्रै स्तरोन्नति तथा कालोपत्र सक्नेगरी विसं २०७६ असोज २८ गते सम्झौता भएको सडक अहिले कालोपत्र गर्न थालिएको हो । पञ्चकोट पुग्नेगरी कुडुँले चोकदेखि मालिका हुँदै पञ्चकोट घुमेर काठेखोला पुग्ने सडकको १४ किलापमिटरमा कालोपत्रको काम थालिएको जनाइएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुले चोकदेखि मालिका–पञ्चकोट पुग्ने क्षेत्रीय रिङ्गरोड सडक निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएको ठेकेदार एक वर्षपछि काममा फर्केको बागलुङ–५ का पूर्वजनप्रतिनिधि शिव सापकोटाले बताउनुभयो । तीन पटकसम्म सम्झौता मिति थपिएको उहाँको भनाइ छ ।

अलपत्र परेको सडक कालोपत्र गर्न थालेपछि यहाँका स्थानीय खुसी भएका सापकोटाले बताउनुभयो । पूर्वाधारको काम सकेर ठेकेदार सम्पर्कविहीन हुँदा उक्त सडक एक वर्षदेखि अस्तव्यस्त बन्न थालेपछि स्थानीय आक्रोशित भएकामा अहिले कामले निरन्तरता पाएसँगै खुसी भएका छन् ।

सडक कालोपत्र भएपछि पञ्चकोट जाने तीर्थालुलाईसमेत सहज हुने स्थानीय बताउँछन् । चार वर्षदेखि कालोपत्रको पर्खाइमा रहेको उक्त सडक निर्माणको जिम्मा पाएको काष्ठमण्डप कन्ट्रक्सन प्रालि माघदेखि काममा फर्केको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरेले जानकारी दिनुभयो ।

उहाँका निर्माण व्यवसायीलाई पत्र पठाउँदा पनि काममा नफर्केपछि गत पुस ३ गते प्रमुख जिल्ला अधिकारीको रोहबरमा निर्माण व्यवसायी र जनप्रतिनिधिबीच काम गर्ने प्रतिबद्धता जनाएलगत्तै स्तरोन्नतिले लिएको हो ।

“गत पुस ३ गतेको सहमति लगत्तै कामले गति लिएको छ । यसअघि उक्त सडकको पाङ्ग्रेखोलामा एक सय मिटर सडक ढलान गरिएको थियो । ग्राभेल सकेर निर्माण व्यवसायीले मालिकाबाट कालोपत्र गर्न थालेको छ”, घिमिरेले भन्नुभयो, “सम्झौताअनुसार आगामी चैतसम्म काम सम्पन्न गर्नुपर्नेछ । यो निर्माण व्यवसायका लागि अन्तिम मौका हो ।”

तीन पटकसम्म म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरेसँगै एक वर्षपछि काममा फर्केको थियोे । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय बागलुङमार्फत रू ३१ करोड लागतमा १४ किमि सडक कालोपत्र गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

करिब ७६ प्रतिशत भौतिक प्रगति भएको उक्त सडकमा कालोपत्रको मात्रै काम बाँकी रहेकाले चैत मसान्तभित्रै काम सकिने निर्माण कम्पनीका स्थलगत प्रमुख रवीन चापागाईंले बताउनुभयो । कुडुँले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालोपत्र गर्नका लागि बजेट विनयोजन भएको थियो ।

प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई स्तरोन्नति गर्न थालिएको बताइएको छ । रासस