२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

आगो बालेर तर्साए पनि भागेन हात्ती

आगो बालेर तर्साए पनि भागेन हात्ती
अ अ+ अ-

कञ्चनपुर । राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पुर्याउन थालेको छ ।

“विगतमा हात्ती आगो देखाएर, टिन ठटाएर र होहल्ला गरेर भाग्ने गरेको थियो”, शुक्लाफाँटा–५ का वडा सदस्य जीतबहादुर साउदले भन्नुभयो, “हात्ती छिर्ने बाटोमै काठका मुढा सल्काएर आगो बालेका थियौँ, हात्ती कुनै पर्वाह नगरी खेतबारीमै छिर्यो ।” साइरन बजाएर भगाउन खोजियो, पटाका पड्काइयो तैपनि हात्ती नभागेको उहाँले बताउनुभयो ।

“पेट टन्न हुनेगरी खेतबारीमा पसेर गहुँबाली खाएपछि बल्ल निकुञ्जतिर लाग्यो”, उहाँले भन्नुभयो, प्रत्येक वर्ष हात्तीले धानबाली र गहुँबाली पाक्नै लागेका बेला छिरेर नोक्सानी गर्दै आएको उहाँले गुनासो गर्नुभयो । “पाक्नै लागेको गहुँबालीमा हात्तीले पसेर नोक्सानी गर्न लागेका बेला भगाउन जानैपर्छ”, स्थानीय केशरबहादुर साउदले भन्नुभयो, “गहुँबाली आफ्नै आँखा अगाडि खाएको हेर्नै सक्दैनौँ, भगाउन जाँदा हात्तीले लखेट्न आउने भएकाले मानवीय क्षति हुने सम्भावना पनि बढेर गएको छ ।”

हात्ती छिर्ने ठाउँमा विद्युतीय मेसवायर लगाउन एक दशक अघिदेखि माग गर्दै आए पनि पूरा नभएको उहाँले बताउनुभयो । तीन दिनको अवधिमै हात्तीले वडा नं ५ गर्जमुनिका भीमबहादुर साउद, केशरबहादुर साउद, जीतबहादुर साउद, सागर बोहरा, उत्तम भण्डारी, जयबहादुर साउद, विनोद कुवँर, भानदेव पन्त, लक्ष्मी पन्त, पूजा पाल, लोकेन्द्र खत्री, अर्जुन पन्त, मालती पाल र धनबहादुर साउदको गरी झण्डै चार बिघा खेतमा लगाएको गहुँबाली हात्तीले सखाप पारेको छ । किसानको न्यूनतम दुई कठ्ठादेखि १० कठ्ठासम्म जग्गाको गहुँबाली हात्तीको बथानले नोक्सानी गरेको छ ।

तीन छावासहितको १५ को सङ्ख्यामा रहेका हात्तीको बथानले गहुँबाली खानेसँगै खुट्टाले कुल्चेर नोक्सानी पुर्याउने गरेको स्थानीय बासिन्दाको भनाइ छ । रातभर हात्ती भगाउनकै लागि जाग्राम बस्नुपर्ने अवस्था रहेको मालती पालले बताउनुभयो । “राति अबेरसम्म हात्ती भगाउनमै खटिन्छौँ”, उहाँले भन्नुभयो, “हात्ती नखाई भाग्दै भाग्दैनन्, घर नै भत्काउने डर पनि हुन्छ, त्यही भएर पनि जाग्राम बस्नुपर्ने अवस्था छ ।”

हात्तीले बर्सेनि क्षति पुर्याउँदै आए पनि हालसम्म क्षतिपूर्तिबापतको रकम स्थानीयले नपाएको गुनासो गर्नुभएको छ । हात्तीसँगै चितल, निलगाई र बँदेलले किसानका खेतमा पुगेर गहुँलगायतका बालीमा नोक्सानी गर्ने गरेको छ । खेतमा लगाएको अन्नबाली जङ्गली जनावरले खाएर नोक्सानी गर्न थालेपछि परिवारको वर्षभरिको भरणपोषणका लागि अन्न खरिद गर्न गर्जमुनि गाउँका अधिकांश बासिन्दाले रोजगारीका लागि भारततर्फ लाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।

वडाध्यक्ष चक्रबहादुर खड्काले वडा कार्यालयमा जङ्गली जनावरले खेतमा लगाएको बालीनाली नोक्सानी पुर्याएकाले क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिस गर्नका लागि ३० जना बढी किसानले निवेदन दिएको बताउनुभयो । जङ्गली जनावरले क्षति पुर्याएकोबारे सिफारिस गरिँदै आए पनि वन्यजन्तुले बालीनालीमा पुर्याउने क्षति न्यूनीकरण गर्ने भरपर्दो उपायबारे निकुञ्ज कार्यालय, नगरपालिका र प्रदेशमा पत्राचार गरे पनि अहिलेसम्म ठोसरूपमा कुनै कार्य अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो ।

निकुञ्जबाट आउने हात्तीले गर्जमुनिमात्रै नभएर वडा नं ६, ७, २ र ३ मा पनि बर्सेनि बालीनाली भित्र्याउने बेला नोक्सानी पुर्याउँदै आएको छ । तीन वर्षको अवधिमा नगरपालिका क्षेत्रका चार जनाले हात्तीको आक्रमणमा परेर ज्यान गुमाइसकेका छन् । रासस