• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथग्रहण आज



काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । राष्ट्रिय सभाका एक तिहाई अर्थात् २० जना सदस्यको कार्यकाल गतराति सकिएको थियो ।

कार्यकाल सकिनु ३५ दिनअघि नै नयाँ सदस्यको निर्वाचन गरिसक्नुपर्ने प्रावधान अनुसार १९ जना सदस्यका लागि गत माघ ११ गते चुनाव भएको थियो । त्यहि चुनावबाट निर्वाचित सदस्यले आज ११ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सपथ लिने छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल हिजो सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने छिन् । संघीय संसद् सचिवालयका अनुसार निर्वाचित सदस्यमध्ये एक जनाले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रेनु चन्दले मातृभाषामा शपथ लिन लागेकी हुन् ।

शपथग्रहण गरेका सदस्य आज अपराह्न बस्ने राष्ट्रिय सभाको बैठकमा सहभागी हुने छन् ।