• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

हत्या आरोपमा दुईजना पक्राउ



त्रिशूली (नुवाकोट) : नुवाकोटमा बस्दैआएका रसुवाको उत्तरगया गाउँपालिका–३ ठूलोगाउँका ७१ वर्षीय टेकप्रसाद भट्टको हत्यामा संलग्न रहेको अभियोगमा उनकी भतिजी र भतिजी ज्वाइँ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रसुवाको कालिका गाउँपालिका–२ धैबुङका ४१ वर्षीय अनिल भुषाल र उनकी श्रीमती ३१ वर्षीया दिपा भट्ट रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । दुवैजनालाई काठमाडौँबाट पक्राउ गरेर आज नुवाकोट ल्याइएको हो । उनीहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न आजै नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको छ ।

हत्याको अभियोग लागेका अनिल र दिपालाई कर्तब्य ज्यान मुद्धाको अभियोगमा कारबाही गर्न अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोलोरोपाखा जङ्गलमा गत मङ्गलबार टेकप्रसाद मृत भेटिएका थिए । अनुसन्धानका क्रममा  रिसिइवीको कारण वृद्धको हत्यामा अनिल र दिपा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दम्पतीले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।  रासस