३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मगर दिवसमा परम्पराको झल्को



अ+ अ-

गण्डकी । कोही सेखु ओढिरहेका थिए, कोही डोको बोकिरहेका । कसैका काँधमा हलो/जुवा थिए त कसैका हातमा डम्फु र मादल । सोरठी र कौरा भाकामा कम्मर मर्काइमर्काइ नाच्ने युवायुवती हुन् या भाङ्ग्रामा सजिएका बूढापाका ।

मङ्गलबार पोखरा सभागृह परिसरमा यी र यस्तै दृश्यले आगन्तुकलाई तानिरहेको थियो । सन्दर्भ थियो ४२औँ मगर दिवसको । नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति कास्कीको अगुवाइमा मगरहरूले उल्लासपूर्वक दिवस मनाएका हुन् ।

गण्डक क्षेत्र आफैँमा मगर बाहुल्य भूमि हो । मगरहरू आफ्नो पहिचानमा हुरुक्क हुन्छन् । संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । मगरहरू सङ्गठित भएको यस दिनलाई मगर समुदायले ‘मगर दिवस’का रूपमा मनाउँदै आएको छ ।

यहाँका मगरले यसपालि पनि आफ्नो एकता दिवसलाई धुमधामका साथ मनाए । मगरहरूका लागि घरघरमा खुसी साट्ने र मिठोमसिनो खाने अवसर पनि हो, यो दिवस । नेपाल मगर सङ्घ स्थापना भएको दिनलाई मगर दिवसका रूपमा मनाउने थिति बसेको समन्वय समितिका उपाध्यक्ष चन्द्रबहादुर पुर्जामगरले बताउनुभयो ।

पोखरा सभागृहमा मूल समारोह आयोजना हुनुपूर्व पोखराको मुख्य सहरी क्षेत्रमा सांस्कृतिक झाँकी र पदयात्रा प्रदर्शन गरिएको उहाँले बताउनुभयो । कास्कीभित्र रहेको सङ्घका तीन दर्जनबढी एकाइ समितिले पदयात्रामा सहभागिता जनाएका थिए ।

सो अवसरमा जातीय वेशभूषासहित मगर समुदायको संस्कृति, रीतिरिवाज झल्काउने सांस्कृतिक झाँकी, गीत र नाच प्रस्तुत गरिएको थियो । झाँकीमा किशोरकिशोरीदेखि ज्येष्ठ नागरिकसम्मले उत्साहपूर्वक भाग लिएका थिए । समारोहमा सोरठी, कौरालगायत परम्परागत नाच देखाइएको थियो ।

सहभागीले दिवसका नारा उल्लेख गरिएका ‘प्लेकार्ड’ पनि बोकेका थिए । पदयात्रापछि उनीहरूले पोखरा सभागृहमा शुभकामना आदानप्रदान, खानपान र नाचगानसहित खुसीयाली साटेका थिए । उपाध्यक्ष पुर्जामगरले दिवसले देशविदेशमा रहेका मगर समुदायबीच एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो ।

“यो दिवसले मगर समुदायको हकहितको रक्षा र अधिकार प्राप्तिका लागि थप सङ्गठति हुन प्रेरित गर्दछ”, उहाँले भन्नुभयो, “राज्यको शासन प्रणालीमा मगरहरूको पहिचान स्थापित हुनुपर्छ भन्ने हाम्रो माग रहिआएको छ ।”

दिवसमा सहभागी तिलक पुनले आफ्नो समुदायको हकहितका पक्षमा आवाज उठाउनुका साथै मौलिक संस्कृतिको जगेर्नामा पनि दिवसले मद्दत पुर्याएको बताउनुभयो । उहाँले सुरुमा स्थापना दिवसका मनाउन सुरु गरिएको दिवसले अहिले सांस्कृतिक पर्वको जस्तै स्वरुप लिन थालेको उहाँको भनाइ छ ।

समाजमा रहेका विभिन्न धर्म सम्प्रदाय, जातजाति र भाषाभाषीबीचको एकता र भातृत्वलाई सुदृढ गर्नुपर्नेमा दिवसमा सहभागीले जोड दिएका थिए । समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मगर समुदायको मौलिक कला, संस्कृति पुस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले इतिहास, कला, संस्कृतिको जगेर्ना गर्न नसके कुनै पनि समाज अगाडि बढ्न नसक्ने बताउनुभयो । “ठूल्ठूला पूर्वाधार बनाउनु, बाटाघाटा निर्माण गर्नुमात्र विकास होइन, समुदायको संस्कृति र परम्परालाई पनि संरक्षण गर्नु हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो, “मगर भाषा र संस्कृतिको संरक्षणका लागि महानगर आवश्यक सहयोग गर्न तयार छ, प्रस्ताव लिएर आउनुहोला ।”

पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्न लागिएको भन्दै उहाँले पर्यटकीय आकर्षणका लागि कला र संस्कृतिको जगेर्ना अपरिहार्य रहेको बताउनुभयो । विसं २०३९ फागुन १५ गते तनहुँको दमौलीका हेमबहादुर पुनमगरको अध्यक्षतामा नेपाल लाङ्घाली परिवार सङ्घको पहिलो राष्ट्रिय महाधिवेशन भएको थियो । महाधिवेशन भएको दिनलाई नेपाल मगर सङ्घले स्थापना दिवसका रूपमा मनाउँदै आएको छ ।

सोही स्थापना दिवसलाई पछि मगर एकता दिवसका रूपमा मनाउन थालिएको सङ्घले जनाएको छ । कास्की, बागलङ, म्याग्दी, तनहुँसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगितालगायत आयोजना गरी दिवस मनाइएको छ । दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका थिए । रासस