२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार सुरू

खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार सुरू
अ अ+ अ-

खोटाङ । खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो ।

उपचार अभावमा खोरमा थुनेर राखिएकी फुरदिकुलाई नि:शुल्क उपचार गर्नेगरी अस्पताल भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा अनन्त अधिकारीसँग कुराकानी गरेर उपचार सुरु गरिएको छ । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि नि:शुल्क हुने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “उपचारमा संलग्न डाक्टरले फुरदिकुको समस्या चाँडै ठिक हुन्छ भनेका छन् । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि नि:शुल्क हुन्छ । फुरदिकुको कुरुवाका रूपमा बस्ने एकजना अभिभावकलाई खाने र बस्ने व्यवस्था नगरपालिकाले गर्छ ।”

मान्छे देख्दा झनक्क रिसाउने, आक्रमण गर्ने, गालीबेइज्जत बोल्ने, बेठेगान तरिकाले हिँड्नेलगायतका अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेको थियो । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले नि:शुल्क उपचारमा तदारुकता देखाएको हो ।

आर्थिक अभावमा खोरमा थुनिएकी फुरदिकुलाई नगरपालिकाले जीपमा चढाएर सोमबार अपराह्न अस्पताल पुर्याइएको थियो । विसं २०६७ मा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखा पर्न सुरु भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसबेला औषधि सेवन गराएपछि स्वास्थ्यमा सुधार भएको जनाइएको छ ।

कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोस्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको थियो । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भएको फुरदिकुलाई पुन: गत माघ ३ गतेदेखि अस्वस्थ बनेको आमा निम्ले शेर्पाले बताउनुभएको छ । पछिल्लो समय फुरदिकुले अचानक अनियन्त्रित व्यवहार दखाउन थालेपछि खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको थियो । फुरदिकु नुनथलाकै जालपा माध्यमिक विद्यालबाट विसं २०६७ मा एसएलसी उत्तीर्ण गर्नुभएको छ ।

एक छोराकी आमा फुरदिकुले विसं २०७२ मा छिमेकी जिल्ला भोजपुरको अन्नपूर्ण गाउँपालिकाका दाजाङ शेर्पासँग विवाह गर्नुभएको थियो । प्रेम विवाह गर्नुभएकी फुरदिकुको श्रीमान् दाजाङको मुटुको समस्याका कारण विसं २०७६ मा मृत्यु भयो ।

पच्चीस वर्षकै उमेरमा बिधवा बन्नुभएकी फुरदिकु तीन वर्षअघि छोरा पसनुरी शेर्पालाई लिएर पुन: माइतीघर नुनथला फर्कनुभएको थियो । श्रीमान् दाजाङको मृत्यु भएको वर्ष दिनपछि फुरदिकुलाई पुन: मानसिक सन्तुलन गुमाउने समस्या दोहोरिएको बुवा पेमाछेतर शेर्पाले बताउनुभयो ।

आमासँगै मावलीघर नुनथला बस्दै आएका छ वर्षीय पसनुरी कक्षा ३ मा पढ्दै आएका छन् । तीन वर्षकै उमेरमा बुवा गुमाएका पसनुरीको आमासमेत मानसिक रोगी भएपछि उनको भविष्य अन्योलमा परेको छ । मानसिक सन्तुलन गुमाएर खोरमा थुनिनुभएकी फुरदिकुको लागि शुभेच्छुकबाट आर्थिक सहयोग जुट्न थालेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि फुरदिकुको उद्धार एवं उपचारका लागि हालसम्म ३२ दाताबाट रु ५१ हजार तीन सय १२ सहयोग सङ्कलन भइसकेको पत्रकार चिसाङ शेर्पाले बताउनुभयो ।

फुरदिकुको सहयोगमा २६ जनाबाट सङ्कलन भएको रु ३० हजार पाँच सय भने सोमबार बुवा पेमाछेतरलाई हस्तान्तरण गरिसकिएको छ । फुरदिकुका लागि जुटेको सहयोग रकम छोरा पसनुरीको शिक्षादीक्षामा उपयोग गर्नेगरी हस्तान्तरण गरिने सहयोग सङ्कलनको नेतृत्व गर्नुभएका पत्रकार चिसाङले बताउनुभएको छ । रासस