४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

कस्तो छ हाडजोर्नीको उपचार ? वरिष्ठ भारतीय चिकित्सक शर्माको विचार

कस्तो छ हाडजोर्नीको उपचार ? वरिष्ठ भारतीय चिकित्सक शर्माको विचार
अ+ अ-

काठमाडौँ: भारतीय अर्थोपेडिक एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा डा राजीव के शर्माले हाडजोर्नीसम्बन्धी रोगको उपचार अब सरल एवं सामान्य हुँदै गएको बताउनुभएको छ ।

नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स), एपोलो हस्पिटल नयाँदिल्लीलगायतमा हाडजोर्नीसम्बन्धी फ्याकल्टी तथा सर्जनका रुपमा  समेत काम गरिसक्नुभएका प्रा डा शर्मा अर्थोपेडिक सर्जनहरुको एक ‘कन्फ्रेन्स्’ का लागि हालै काठमाडौँ आएका बेला हामीले यस विषयमा जिज्ञासा राखेका थियौँ ।

कुराकानीकाक्रममा उहाँले भन्नुभयो, “मानवीय हाडजोर्नी तथा हड्डीसम्बन्धी रोगको उपचार अब पहिलेजस्तो जटिल छैन, सामान्य हुँदै गएको छ । अहिले शरीरका हाडजोर्नी, घुँडाको अत्याधुनिक मेडिकल प्रविधि प्रयोग गरेर सफल प्रत्यारोपण (ट्रान्सप्लान्ट) गर्न या फेर्न (रिप्लेस्मेन्ट) सकिन्छ । मेडिकल अनुसन्धान तथा प्रविधिले धेरै कुरा सफल र सम्भव तुल्याइदिएको छ ।

ज्वाइन्ट रिप्लेस्मेन्ट सर्जन डा शर्माले केही वर्षअघि ९४ वर्षीय वृद्धको हिप प्रत्यारोपण गरेको प्रसङ्ग सुनाउँदै भन्नुभयो, “बालबालिका र यो उमेरका वृद्धवृद्धामा पनि ज्वाइन्ट रिप्लेस्मेन्ट हामीले गरिरहेका छौँ, हामी सफल भइरहेका छौँ, जटिलता देखिएको छैन । पहिला त यो उमेरका बिरामीमा प्रत्यारोपण गरौँ कि नगरौँ भन्ने पनि भयो । बिरामीको पनि गरिदिए हुन्थ्यो भन्ने चाहना थियो । मैले नै ‘रिप्लेस्मेन्ट’ गरेँ, सफल पनि भयो । वर्षौंसम्म आफैँले फलोअप गरेँ । ‘रिप्लेस’ गरिएको अङ्गमा कुनै समस्या आएन, ठीक रहनुभयो । म पनि निकै खुसी भएँ ।”

पहिले यस्ता समस्याहरु शल्यक्रिया गरेर निको पार्ने प्रयास गरिन्थ्यो । त्योभन्दा अहिलेको यो रिप्लेस्मेन्ट या प्रत्यारोपण ‘एड्भान्स’ हुँदै गयो, यो ठीक भएको छ । उहाँको आशय थियो अहिले बालबालिकादेखि वृद्धवृद्धाहरुसम्म पनि जोर्नी प्रत्यारोपण सम्भव मात्र होइन सामान्य हुँदै गएको छ । मानिसहरु प्रत्यारोपणका लागि तयार भए भने मेडिकल प्रविधि चुस्त दुरुस्त छ । मात्र चिकित्सकको दक्ष हात चाहिन्छ ।

तर मानिसहरु अझै पनि अङ्ग प्रत्यारोपण गर्ने काममा आशङ्का गर्ने गरेको आफूले पाएको उहाँको भनाइ छ । “मानिसहरु अहिले पनि प्रत्यारोपण गर्ने अर्थात् कुनै पनि अङ्ग फेर्ने काम सफल हुँदैन कि भन्ने सोच्ने गर्दछन् । त्यसैले उनीहरु सुरुमा त तयार पनि हुँदैनन्”, प्रा डा शर्मा भन्नुहुन्छ, “अङ्गको प्रत्यारोपणपछि सङ्क्रमण हुन्छ या जटिलता उत्पन्न हुन्छ भन्ने मानिसहरु बताउने गर्दछन् । तर त्यसो नभएर अहिले यस क्षेत्रमा धेरै सफलता प्राप्त भइरहेको छ । त्यसप्रति आमनागरिकमा सचेतनाको आवश्यकता मैले देखेको छु ।”

त्यस्तै दुखाई बढी हुने, यसरी प्रत्यारोपण गरिएको अङ्गको दिगोपना कम हुने अर्थात् पटक–पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था पनि आउनसक्ने तर्क गर्ने गरेका कारण मानिसहरु जोर्नी प्रत्यारोपणका लागि तयार नहुने गरेको आफूले पाएको उहाँको भनाइ छ । पछिल्लो समयमा निकै ‘एड्भान्स’ प्रविधि आएकाले ती प्रविधिको प्रयोग गरेर कुनै पनि दक्ष चिकित्सकले नदुखाई र सफलरुपमै जोर्नी प्रत्यारोपण गर्न सक्ने उहाँ बताउनुहुन्छ । हाल मुलचन्द हस्पिटल नयाँ दिल्लीमा ज्वाइन्ट रिप्लेस्मेन्ट विज्ञका रुपमा कार्यरत उहाँले आफूसँग हाडजोर्नीसम्बन्धी समस्या लिएर आउने कुनै पनि बिरामी निको नभई नफर्कने दाबी गर्नुहुन्छ । जोर्नी प्रत्यारोपण गरिएका बिरामीलाई आफूले २० वर्षसम्म नै ‘फलो’ गरेको र उनीहरुमा कुनै समस्या नदेखिएको पनि उहाँको भनाइ छ ।

सुनिन्छ, हिजोआज मानिसका हाड कमजोर हुँदै गएका छन् । सानातिना ठाउँबाट सामान्य लड्दा पनि हाड भाँचिने गरेको सुनिन्छ, यस्तो किन हुन्छ रु हाम्रो प्रश्नमा उहाँको उत्तर छ “मानिसहरु दिनप्रतिदिन आफैँले आफ्ना हाड कमजोर बनाइरहेका छन् ।”

कसरी ? उहाँ भन्नुहुन्छ, “पहिलो कुरा त खानपिन नै हो । मानिसमा पछिल्लो समय मीठो अर्थात् स्वादिलोमात्र खान खोज्ने र सुख अर्थात आरामदायी जीवनको खोजीका कारण उसको शरीर नै रोगको घर बनिरहेको छ । हाड र जोर्नीमा पनि यो लागू भैहाल्छ । मानिसको आफ्नै आनिबानी र खानपिनले हड्डी कमजोर हुँदै गएको देखेका छौँ । पछिल्लो समय यो अवस्था झन् बढ्दो छ ।”

धेरै खाना र बजारीया अस्वस्थकर खाना (जङ्क फुड तथा फास्ट फुड) ले शरीरमा धरै प्रकारका रोग भित्र्याएपछि त्यसले पनि हाडलाई कमजोर पारेको उहाँको भनाइ छ । मानिसमा पछिल्लो समय बढ्दो मोटोपनाले पनि हाडलाई कमजोर बनाएको र हाडजोर्नीमा समस्या देखिने गरेको उहाँ बताउनुुहुन्छ । शरीरमा बढ्दो मासुको भार पनि हाडले नै बोक्नु परेको छ । मोटोपनको भार शरीरको हाडमा परेको छ र यसले पनि हाड कमजोर बनाउँदै गएको छ । जस्तो कि शरीरमा अत्यधिक मोटोपन छ भने शरीरको त्यो वजनको भार घुँडाले धान्नुपर्दछ । यसले शरीरको भार बढाइरहेको छ र हाडलाई कमजोर बनाइरहेको छ ।

शर्मा भन्नुहुन्छ, “मानिसमा शारीरिक व्यायामको कमी हुँदै गएको छ र ‘टेबल वर्क कल्चर’ बढ्दो छ । यसरी मानिसको शरीरका हाडहरु खुम्चिएर रहनुपरिरहेको अवस्था छ । शरीर चलायमान हुन सकेन र हाडलाई आवश्यक अभ्यास पुगेन । यसकारण पनि हाड कमजोर बन्दै गएको छ । त्यसैगरी आवश्यक पोषण एवं क्याल्सियमको कमीले पनि मानिसका हड्डी कमजोर बनाएको छ । अनि मानिसहरु व्यस्तताका कारण घाममा बस्न छोडिसकेका छन् । यी सब भारतका मात्र नभएर नेपाल तथा समग्र दक्षिण एसियाकै साझा समस्यामा पर्दछन् । यस्तै कारणले नै मानिसको शरीर र शरीरसँगै उसका हड्डी र जोर्नीहरु कमजोर बन्दै गएका छन् ।

उहाँका अनुसार धुमपान हाड कमजोर पार्ने अर्को प्रमुख कारण बनेको छ । त्यसैगरी पछिल्लो समय व्यायामशाला जाने प्रचलन जुन सुरु भएको छ, यो पनि हाडजोर्नीका लागि स्वस्थकर नभएको उहाँको भनाइ छ । “शरीरको हाड र जोर्नीका लागि सबैभन्दा राम्रो व्यायाम त ‘साइक्लिङ’ र ‘स्वीमिङ’ हो, यो ‘जिम कल्चर’ पनि त्यति राम्रो होइन”, उहाँले भन्नुभयो ।

हाडजोर्नीसम्बन्धी रोगको निदानका उपाय के होलान् त ? उहाँको सुझाव छ, “सरकारहरुले हाडजोर्नीसम्बन्धी रोगको उपचारलाई सबै सर्वसाधारणको पहुँचसम्म पुग्नेगरी विस्तार गर्नुपर्छ । नागरिकको स्वास्थ्य बीमामार्फत कार्डको व्यवस्था गर्नु राम्रो हुन्छ । भारतमा वर्षमा निश्चित रकमको उपचार कार्ड नागरिकलाई दिइएको छ । नेपाललगायतका देशका सरकारले पनि यस्तो व्यवस्था गर्न सक्छन् । योभन्दा पनि महत्वपूर्ण त शिक्षा हो । शिक्षाका माध्यमबाट हाडजोर्नीसम्बन्धी रोग निदानको नीति अख्तियार गर्न सकिन्छ । यससम्बन्धी शिक्षा र पछिल्लो समयमा विकसित प्रविधि र उपचार विधिका विषयमा तालिमलगायतका कार्यक्रममा लगानी गरेर दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक छ । हाडजोर्नीसम्बन्धी रोग र यसबारे नागरिकमा आवश्यक चेतना जागृत गराउनु पनि आवश्यक छ ।”

भारतका एक प्रतिष्ठित चिकित्सकका छोरा डा शर्मा अर्थोको एम एस अध्ययनमा स्वर्णपदक प्राप्त हुनुहुन्छ । अर्थोपेडिक क्षेत्रमा ३२ वर्षको अनुभव सङ्गाल्नुभएका उहाँले अहिलेसम्म १५ हजारभन्दा बढी जोर्नी प्रत्यारोपण गरिसक्नुभएको छ । उहाँ उत्तरी भारतमा घुँडाको ‘कम्प्युटर नेभिगेटेड अर्थोप्लास्टी’ गर्ने पहिलो चिकित्सक पनि हुनुहुन्छ । सन् २००५ मा उहाँले कम्प्युटरको माध्यमबाट घुँडाको सो उपचार गर्नुभएको थियो । उहाँले करिब एक हजार घुँडाको अर्थोप्लास्टी गर्नुभएको छ भने घुँडामात्र तीन हजार प्रत्यारोपण गर्नुभएको छ ।

नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हिपको प्रत्यारोपण पनि उहाँले नै गर्नुभएको थियो । क्यान्सरका कारण हिपमा समस्या देखिएपछि पूर्वराष्ट्रपति भण्डारीको हिप प्रत्यारोपण गरिएको थियो ।

डा शर्मा नेपालमा हाडजोर्नीसम्बन्धी उपचारका पनि सहयोगी हुनुहुन्छ । जोरपाटीस्थित अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर डा कैलाश भण्डारीका अनुसार डा शर्माले सो अस्पताललाई समय समयमा सहयोग गर्दै आउनुभएको छ । सो अस्पतालका साथै नेपालका यस क्षेत्रका चिकित्सकहरुलाई उहाँले विकसित पछिल्लो प्रविधि र उपचार विधिबारे तालिम प्रदान गर्दै आउनुभएको छ । त्यसैले नेपाल सरकारले उहाँलाई केही वर्षअघि नेपालका सहयोगी एवं ख्यातिप्राप्त विदेशी नागरिकलाई प्रदान गरिने जनसेवाश्री पदकबाट सम्मान गरेको थियो ।

विश्वका विभिन्न देशमा भिजिटिङ प्रोफेसरका रुपमा आफ्ना अनुभवहरु प्रस्तुत गर्दै आउनुभएका डा शर्मा नेपालमा शिक्षा र चेतनाको स्तर बढेको देख्नुहुन्छ । “धेरै वर्षदेखि म नेपाल आइरहेको छु । यहाँ शिक्षाको विकास उल्लेखनीय छ । नेपाली नागरिकमा बढ्दो शैक्षिक र चेतनाको स्तर प्रशंसनीय छ । यस कुराले मलाई खुसी लाग्छ । यो देश र यहाँका नागरिकको भविष्य राम्रो छ”, उहाँ भन्नुहुन्छ ।रासस