• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

काठमाडौँमा विमान अवतरण हुन सकेनन्, एक भारतीय विमान लखनउ डाइभर्ट



file photo

काठमाडौँ । काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ ।

काठमाडौँको प्रतिकूल मौसमका कारण काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । आज अपराह्न्न भारतको मुम्बईबाट काठमाडौँ आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ । प्रवक्ता झाले भन्नुभयो, “आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ तर अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आइएफआर)बाट मात्रै उडान भइरहेको छ ।”

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कणरली प्रदेश आसपासमा वर्षा भइरहेको जानकारी दिनुभयो । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ । रासस