१४ असार २०८३, आईतवार
,
Latest
नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राससको ६३औँ वार्षिकोत्सवः सबैमा बधाई र शुभकामना



अ+ अ-

काठमाडौँ । मुलुकको प्रमुख समाचार समितिका रुपमा निरन्तर समाचार सेवा प्रदान गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस) आजदेखि ६२ वर्ष पूरा गरी ६३ औँ वर्ष प्रवेश गरेको छ । आजको यस विशेष दिनमा यस समाचार समितिलाई जन्म दिने संस्थापकहरुप्रति हार्दिक नमन गर्दै उहाँहरुको स्मरण गर्न चाहन्छु । साथै गएको छ दशकभन्दा लामो समयदेखि मुलुकको समाचार समितिका रुपमा अनवरत सेवा दिने यस समितिमा संलग्न सबै नेतृत्व वर्ग, कर्मचारी एवं सञ्चारकर्मी सबैमा मेरो हार्दिक कृतज्ञता छ । विगतको कठिन परिस्थितिमा पनि उहाँहरुको योगदान र परिश्रमबाट आज रासस यहाँसम्म आइपुगेको छ र हामी ६३ औँ वार्षिकोत्सव मनाउन सक्ने भएका छौँ । यसका लागि सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

समाचार समितिको स्थापना मुलुकका पत्रपत्रिकाहरुलाई समाचार दिने एक सहयोगी संस्थाका रुपमा भएको तथ्य त हामीलाई विदितै छ । नेपाल सरकारले विसं २०१४ मा गठन गरेको प्रेस कमिसनले विसं २०१५ मा दिएको रिपोर्टमा देशमा पत्रपत्रिकाहरुको सङ्ख्या बढेकाले उनीहरुलाई सहयोग पुगोस् र देशैभरिबाट समाचार सङ्कलन गरी ती पत्रपत्रिकालाई उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले देशमा समाचार समिति स्थापना गर्न सुझाएको थियो । सोही सुझावअनुसार विसं २०१६ पुस १ गते नेपाल संवाद समितिको स्थापना भएको हो । देशका युवा पत्रकारहरु गोपालदास श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धरले नेपाल संवाद समितिको स्थापना गरी पत्रपत्रिकालाई समाचार उपलब्ध गराउने कामको सुरुआत गर्नुभएको थियो । यसरी नेपाल पनि समाचार समिति युगमा प्रवेश गरेको करिब पाँच महिनापछि पत्रकारहरु मणिन्द्रराज श्रेष्ठ, पशुपतिदेव पाण्डे र शङ्करनाथ शर्माले पुनः अर्को समाचार समितिको स्थापना गर्नुभएको थियो । विसं २०१७ वैशाख ३० गते मुलुकको दोस्रो समाचार समितिका रुपमा सगरमाथा संवाद समितिको स्थापना भएको इतिहास छ ।

पछि यी दुवै समाचार समितिलाई गाभेर नेपाल सरकारको व्यवस्थापन एवं मातहतमा रहने गरी २०१८ साल फागुन ७ गते राष्ट्रिय संवाद समितिको स्थापना गरिएको थियो । यसरी रासस स्थापना गर्दा नेपाल सरकारका तर्फबाट सरकारका तत्कालीन सचिव रामराज पौड्याल, नेपाल संवाद समितिका तर्फबाट गोविन्द वियोगी र सगरमाथा संवाद समितिका तर्फबाट मणिन्द्रराज श्रेष्ठ संस्थापकका रुपमा रहनुभएकोे थियो । वर्तमान राससका संस्थापक उहाँहरुप्रति म आजको यस उत्सवका दिनमा हार्दिक नमन गर्दछु ।

यसरी जन्मिएको देशको प्रमुख समाचार समिति राससले आफ्नो स्थापनाको ६२ वर्ष पूरा गरेको छ । कुनै सञ्चारमाध्यम अनवरत रुपमा ६२ वर्षसम्म सञ्चालनमा रहेर सूचना सेवा प्रदान गर्न सक्नु सामान्य कुरा होइन । अनेक राजनीतिक आरोह अवरोह, प्राकृतिक प्रकोपदेखि लिएर विविध प्रतिकूलता भोग्दै रासस आजसम्म आइपुगेको छ । छ दशकसम्मको आफ्नो सेवामा राससले धेरै अनुभव सँगालेको छ र अनेक इतिहासको साक्षी पनि बनेको छ । योसँग मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं अनेकन भोगाइहरु छन् । दलविहीन निरङ्कुश पञ्चायती व्यवस्था हुँदै विसं २०४६ मा प्रजातन्त्रको पुनःस्थापना, विसं २०६२÷६३ को जनआन्दोलन हुँदै लोकतन्त्रको स्थापना तथा संविधानसभाको निर्वाचन र यसको जनमतको आधारमा गणतान्त्रिक नेपालको स्थापनासम्मका ऐतिहासिक घटनाहरुको रासस प्रत्यक्ष साक्षी भएर रहेको छ । यसरी नेपालको इतिहासका अनेक भोगाइहरु सँगाल्दै राससले आफ्नो छ दशकभन्दा लामो इतिहास पूरा गरेको छ ।

समाचार समिति वास्तवमा मुलुकका सबै सञ्चारमाध्यमहरुको साझा सहयोगी संस्था हो । जसरी मुलुकमा समाचार समितिको जन्म त्यस समयका पत्रपत्रिकाको सहयोगका लागि भएको थियो आज पनि समाचार समितिको त्यो मुख्य उद्देश्य र धर्मबाट रासस कति पनि पछि हटेको छैन । आज पनि रासस देशका सबै सञ्चारमाध्यमहरुकै सहयोगी संस्था हो । मिडियाहरुको पनि मिडिया तथा समाचारको मुहानका रुपमा राससले आज पनि देशका सञ्चारमाध्यमहरुलाई सूचना सेवा प्रदान गर्दै आएको छ । विश्वका अन्य देशहरुमा जस्तै हामी पनि नेपालमा सञ्चारमाध्यमहरुको सहयोगी र साझा संस्थाका रुपमा सेवा प्रदान गर्न चाहन्छौँ र गरिरहेका पनि छौँ ।

रासस राज्यको समाचार समिति भएकाले यसको सेवा र यसका समाचार पेजहरुमा राज्यको स्वरुप झल्किनुपर्छ भन्ने मान्यतामा हामी छौँ । हामीले ठान्दछौँ कि यसले दिने सूचना सेवामा समेत राज्यको समावेशी झल्को देखियोस् र राज्यका हरेक जातजाति, भाषा एवं सम्प्रदायका मानिसले राससको समाचार बुलेटिनमा आफूलाई पाउन सकोस् । यसका लागि हामीले पछिल्लो समयमा यहाँ काम गर्ने सञ्चारकर्मी हुन् या कर्मचारीमा समावेशी प्रतिनिधित्वलाई ध्यान दिएका छौँ ।

त्यसैगरी राससले मुलुकका सबै मातृभाषा बुझ्नुपर्छ भन्ने हाम्रो मान्यताबमोजिम नै हामीले विभिन्न मातृभाषाका समाचार सम्प्रेषण गर्ने नीति लिएका हौँ । यसको पछिल्लो उदाहरण हामीले अवधी भाषाको समाचार सेवा सुरु गरेका छौँ । यो मातृभाषाको सेवालाई विस्तार गरी हामी जतिसक्दो धेरैभन्दा धेरै भाषासम्म पु¥याउने उद्देश्यका साथ ती प्रयासहरुलाई हामीले जारी राखेका छौँ । हाम्रो यो अभियानमा सहभागी हुन हामीले देशका प्रदेश तथा स्थानीय सरकारलाई आह्वान पनि गरिरहेका छौँ । कतिपय स्थानीय सरकारले हाम्रो समावेशी अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको कुरा पनि म आजको यस विशेष दिनमा जानकारी गराउन चाहन्छु ।

वास्तवमा समाचार समितिले मुलुकका सबै प्रकृति र विधाका सञ्चारमाध्यमहरुलाई सबै समाचार सेवा प्रदान गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । सोहीबमोजिम हामी गएको वर्षदेखि श्रव्यदृश्य सेवा पनि सुरु गरेका छौँ । पत्रकारिताका विकसित विधाहरुमा प्रविधिका कारण पछिल्लो समय डिजिटल पत्रकारिताको स्वरुप र गति बढ्दो छ । यसका लागि श्रव्यदृश्य आवश्यक रहेको ठानेर सुरु गरेको यस सेवाबाट देशका टेलिभिजनहरुका साथै अन्य अनलाइन सञ्चारमाध्यमहरु पनि लाभान्वित भएको हामीले महसुस गरेका छौँ । प्रविधिले अहिलेको पत्रकारितालाई क्षणभरमै संसारको कुनाकाप्चासम्म सूचना प्रवाह गर्नसक्ने क्षमतामा पु¥याइदिएको छ । त्यसैले सूचनाको यो द्रुत विकसित र विस्तारित बजारमा आफूलाई पनि अब्बल रुपमा स्थापित र सावित गर्न आफ्ना विविध सेवाहरुलाई थप परिस्कृत गर्दै लैजाने सोचका साथ हामी अघि बढेका छौँ । अर्को कुरा समाचार समिति सुत्दैन अर्थात् उनलाई सुत्ने समय हुँदैन भन्ने पनि हामीलाई हेक्का छ । त्यसैले हामी २४सैँ घन्टा समाचार सेवा प्रदान गर्ने सोचका साथ अघि बढिरहेको कुरा पनि आजको यस विशेष दिनमा जानकारी गराउनु उपयुक्त ठान्दछु । यसकार्यमा नेपाल सरकार मुलुकका सबै सञ्चारमाध्यमहरुका साथै सबैको साथ र सहयोग रहनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ ।

राससले हाल नेपाली, अङ्ग्रेजी र अवधी भाषामा समाचार सम्प्रेषण गर्दै आएको छ । राससले नेपाली समाचार, अङ्ग्रेजी समाचार, अन्तर्राष्ट्रिय समाचार, आलेख र विचार, तस्बिर, अडियो र श्रव्यदृश्य समाचार प्रदान गर्दै आएको छ । हामी बिहान ६ देखि राति १०ः३० बजेसम्म निरन्तर समाचार सेवामा रहेका छौँ । देशका ७७ वटै जिल्ला र केही विदेशमा पनि हाम्रा समाचारदाताहरु रहनुभएको छ र देश तथा विदेशबाट समाचार सम्प्रेषण गर्ने उहाँहरु नै हाम्रा प्रमुख आधारशिला हुनुहुन्छ । उहाँहरुसहित राससका सबै सञ्चारकर्मी र सबै कर्मचारीहरुमा आजको यस दिनमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । त्यसैगरी आजको यस दिनमा राससका सबै सेवाग्राही सञ्चारमाध्यमहरु पनि धन्यवादका पात्र हुनुहुन्छ । नागरिकलाई सत्यतत्य सूचना प्रदान गर्ने राष्ट्रिय दायित्वसहितको कर्तव्यपथको आगामी यात्रामा अझ परिस्कृत र सशक्त रुपमा अघि बढ्न यहाँहरुको आवश्यक मार्गनिर्देशनको अपेक्षा गर्दछौँ । रासस परिवारमा बधाई र सबैमा हार्दिक शुभकामना ।