२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

दूध उत्पादनमार्फत् किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना

दूध उत्पादनमार्फत् किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना
अ अ+ अ-

सिन्धुली । कमलामाई नगरपालिका–५ कि किसान गुणकुमारी घिमिरे आफ्नो गोठमा केही दिनअघि मात्रै जन्मिएको होलिस्टाइन (कोरली) गाईको बाच्छी उमा सुवेदीलाई उपहार दिँदै गर्दा निकै खुसी देखिनुहुन्थ्यो । उपहार दिने घिमिरे र लिने सुवेदी मात्रै होइन यो क्षणको साक्षी बन्न उपस्थित अन्य किसान पनि यो एतिहासिक पललाई रुचिपूर्वक नियालिरहेका थिए ।

गत वर्षको पुसमा हेफर इन्टरनेसनको अग्रसरता र कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक यहाँका ५१ किसानलाई ८० होलिस्टाइन (उच्च आनुवंशिक गुण भएका) बाच्छी वितरण गरिएको थियो । त्यसैमध्ये घिमिरेले पालेको ‘तोसेली’ नामक गाईले नेपालमै पहिलो पटक गत माघ २३ गते बाच्छी ‘गाम्सा’लाई जन्म दिएको थियो । कोरिया सरकारको सहयोगमा प्राप्त भएकाले पहिलोपटक जन्मिएको बाच्छीको नाम पनि कोरियन भाषामै राखिएको हो । ‘गाम्सा’ अर्थात् ‘धन्यवाद’ ।

बाच्छी उपहार प्रदानका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल, कमलामाई नगरपालिलकाका प्रमुख उपेन्द्रकुमार पोखरेल, कोइका नेपालका उपनिर्देशक युन्ही चुङ, हेफर इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष निना जोशी, हेफर नेपालका राष्ट्रिय निर्देशक डा तीर्थराज रेग्मी, कोरियाका सिओल डेरी सहकारीको पिएजेयु डेरी क्लिनिकका अध्यक्ष तथा प्रमुख पशु चिकित्सक डा यङ्ग–चान किन, हेफर कोरियाका कार्यकारी निर्देशक हेवोन लीलगायतको उपस्थिति थियो ।

“मेरो गोठमा जन्मिएको गाम्सा उमालाई उपहार दिन पाउनु मेरा लागि सौभाग्य हो”, कलिलो गाम्साको शरीर मुसार्दै घिमिरेले भन्नुभयो, “गत वर्ष पुसमा गाम्साजस्तै सानो बाच्छी जन्मिएकी थिइन् । आज त्यही गाईबाट जन्मिएको बाच्छी उपहार दिन पाउँदा निकै खुसी लागेको छ ।”

उपहार स्वीकार्दै सुवेदीले पनि आफू निकै खुसी भएको बताउनुभयो । “नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन बाच्छी पाउनु मेरा लागि खुसीको कुरा हो”, उहाँले भन्नुभयो, “भविष्यमै गाईपालनमा लाग्ने सोच बनाएकी मलाई उच्च आनुवंशिक गुणको बाच्छी सहयोगी बन्ने छ ।” सुवेदीले बाच्छी पाउन करिब छ महिना भने कुर्नुपर्ने हुन्छ ।

गाईले जन्माएको बाच्छी उपहार दिने चलन पनि कोरियाबाटै चलेको हो । कोरियामा यसलाई ‘पासिङ द गिफ्ट’ भनिन्छ । अर्थात् आफूले प्राप्त गरेको गाईको पहिलो बेतबाट जन्मिने बच्चालाई आफूजस्तै किसानलाई अनिवार्यरुपमा उपहारका रुपमा दिनु हो । यसबाट गाईपालन गर्ने किसानको सङ्ख्या बढाउँदै लैजाने र धेरैभन्दा धेरै किसानको आयआर्जन बढाउनु हो ।

गुणकुमारीका पति भोला अधिकारीले गाईले ब्याएको आठ दिनसम्म दैनिक २८ देखि ३० लिटरसम्म दूध दिएको  बताउनुभयो । “हामीले गत वर्ष ११ महिनाको उमेरको तोसिली (नेपाली नाम माली) गाई प्राप्त गर्दा तीन सय किलोको थियो । अहिले उसको तौल छ सय ७८ किलो  पुगेको छ । बाच्छी जन्मने बेलामा ४५ किलो तौल थियो । गाईले अहिले दैनिक ३० लिटरसम्म दूध दिइरहेको छ”, उहाँले भन्नुभयो ।

अधिकारीले गाई ब्याएको सातौँ दिनदेखि डेरीमा दूध बिक्री सुरु गरेको बताउनुभयो । “डेरीमा दूध प्रतिलिटर रु ७६ देखि रु ७७ सम्म बिक्री भएको छ”, उहाँले भन्नुभयो, “गाई ब्याएको २२ दिनदेखि दूध बढ्ने छ ।” तेह्र महिनासम्म गाई पाल्दा करिब रु एक लाख ७५ हजार खर्च भएको उल्लेख गर्दै उहाँले दूध बिक्रीबाट लागेको खर्च तीनदेखि चार महिनामा उठिसक्ने बताउनुभयो । सो गाईको दूध बिक्रीबाट मासिक रु ६० हजारसम्म आम्दानी गर्ने अधिकारीको लक्ष्य छ ।

गत वर्ष यसरी होलिस्टाइन बाच्छी पाउनेमा तल्लोराजपानी महिला उद्यमी समूहकी सदस्य रुकमणि अधिकारी पनि हुनुहुन्छ । उहाँले तत्कालीन समयमा दुई  गाई पाउनुभएको थियो । अहिले दुवै गाई गर्भवती छन् । “गत वर्षको पुसमा हामीले गाईका बाच्छी पाउँदै गर्दा कहिले ठूलो होलान र ब्याउलान, अनि आम्दानी गर्न पाइएला भन्ने लागेको थियो, तर तीमध्ये एउटा गाई ब्याएको छ”, उहाँले भन्नुभयो, “मसँग भएका दुई गाई वैशाखमा ब्याउनेवाला छन् । होलिस्टाइन गाईले पर्याप्त दूध दिने भएकाले यसको बिक्रीबाट आम्दानी बढाउन सकिन्छ भन्ने विश्वास जागेको छ ।”

अधिकारी लामो समयदेखि गाईपालनमै हुनुहुन्छ । पहिले स्थानीय जातका मात्रै गाईपालन गर्ने उहाँले एक वर्षयता स्थानीय जातका गाई घटाउँदै लैजानुभएको छ । “हाम्रो मुख्य पेसा नै गाईपालन हो, पहिले ३० वटासम्म स्थानीय जातका गाई थिए । त्यो बेलामा दैनिक ८० लिटरसम्म दूध बेचिन्थ्यो, अहिले कम भएको छ”, उहाँले भन्नुभयो, “अहिले स्थानीय जातका ११ र होलिस्टाइन दुई गाई मात्रै छन् । वैशाखमा दुई होलिस्टाइन गाई ब्याएपछि दूध बिक्री बढ्ला भन्ने आश छ ।”

स्थानीय जातका गाईले अधिकतम दिनमा १० लिटर मात्रै दूध दिने गरेको अधिकारी बताउनुहुन्छ । “असाध्यै राम्रो स्याहार पायो भने दिनमा बढीमा १० लिटर दूध दिने हो, तर होलिस्टाइन जातको गाईले दिनमा ३० देखि ४० लिटरसम्म दूध दिने रहेछ । यसबाट हाम्रो आम्दानी स्वभाविक रुपमै बढ्नेछ ।”

अधिकारी अहिले एउटा होलिस्टाइन गाईलाई दैनिक चार किलो दाना र १० किलो घाँस खुवाउनुहुन्छ । एउटा बोरा दाना खरिद गर्दा रु दुई हजार आठ सय खर्च हुने गरेको उहाँले बताउनुभयो । त्यसबाहेक हरियो घाँस र कटिङ परालमा पनि खर्च हुन्छ ।

कमलामाई नगरपालिकामा होलिस्टाइन गाईपालनका लागि विभिन्न नाममा महिलाका समूह पनि गठन भएका छन् । यहाँ दमार महिला समूह, गैँयादेवी महिला समूह, तल्लोराजपानी महिला उद्यमी समूह, माथिल्लो राजपानी महिला उद्यमी समूहलगायत छन् । यी समूहमा हाल एक सय नौ महिला आबद्ध छन् । विभिन्न समूहमा विभाजन भए पनि गाईपालनमा भने एक अर्काबीच सहकार्य भइरहने अधिकारीले बताउनुभयो । गाईलाई खुवाइने दाना पनि हेफरले ३० प्रतिशत छुटमा उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष कमलामाई–४ र ५ मा हेफर इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सिन्धुली एकीकृत विकास सेवा नेपाल र लाभान्वित समुदायको सहकार्यमा दुग्ध क्षेत्र रुपान्तरण परियोजना सञ्चालन गरिएको थियो । उक्त परियोजना नेपाल सरकार तथा हेफर कोरियाबाट नेपालको दुग्ध क्षेत्र रुपान्तरण गर्ने उद्देश्यले सुरु भएको हो । तत्कालीन समयमा प्राप्त भएका ८० मध्ये पाँच गाई भने मरिसकेका छन् । हाल ७३ गाई गर्भवती छन् ।

‘मिल्की वे’ परियोजना

नेपाल सरकार, दक्षिण कोरिया सरकार र कमलामाई नगरपालिकाको संयुक्त पहल तथा हेफर इन्टरनेसनलको सहजीकरणमा यहाँ ‘मिल्की वे’ परियोजना सुरु भएको छ । सोही परियोजनाअन्तर्गत होलिस्टाइन गाई यहाँका किसानलाई वितरण गरिएको हो । गत वर्ष ५१ किसानलाई ती गाई वितरण गरिएका थिए । आगामी पाँच वर्षमा पाँच सय किसानलाई होलिस्टाइन गाई वितरण गर्ने लक्ष्य रहेको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

“यसै परियोजनाअन्तर्गत अहिले यहाँ नेपाल–कोरिया मोडेल डेरी भिलेज उद्घाटन गर्न पाउँदा खुसी लागेको  छ”, उहाँले भन्नुभयो, “नगरपालिकालाई दूध र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी परियोजना सुरु भएको हो ।” यस परियोजनामार्फत अन्तर्राष्ट्रिय गुणस्तरको दूध उत्पादन गर्दै किसानको जीवनस्तर उकास्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो ।

हाल नगरपालिकामा मासिक ३० हजार लिटर दूध उत्पादन भइरहेकामा मिल्की वे परियोजनाअन्तर्गत प्राप्त भएका होलिस्टाइन गाईमार्फत आगामी दुई वर्षमा मासिक दुई लाख लिटर दूध उत्पादन हुने अपेक्षा गरिएको प्रमुख  पोखरेलले जानकारी दिनुभयो । “यहाँको माग मासिक ३० देखि ३५ हजार लिटर दूध हो, आगामी दिनमा दूधको उत्पादन बढेसँगै बजारीकरणका लागि नेपाल–कोरिया मोडेल डेरी भिलेज स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो ।

परियोजनामार्फत दूधको बिक्री बढाउन दुग्धजन्य पदार्थको उत्पादन गर्ने योजना रहेको प्रमुख पोखरेलले बताउनुभयो । “उत्पादन हुने दूधबाट ‘डट्स’ बनाएर विदेशमा निर्यात गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । मिल्की वे परियोजनाले दूधमा मात्रै आत्मनिर्भर नबनाएर किसानको आम्दानी पनि बढाउने छ ।

“दूध उत्पादन भएपछि आत्मनिर्भर त हुने नै भइयो, यसबाट आम्दानी बढाएर आगामी दिनमा काम खोज्दै विदेश जानुपर्ने अवस्था अन्त्य गर्ने हाम्रो योजना छ”, प्रमुख पोखरेलले भन्नुभयो, “एउटा मात्र होलिस्टाइन गाईपालेर पनि दूध बिक्रीबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्न सकिने अवस्था बनाउनु हाम्रो उद्देश्य हो ।”

दूध उत्पादन बढेसँगै सहकारीमार्फत डेरी सञ्चालन गर्ने योजना बनाएको प्रमुख पोखरेलले बताउनुभयो । “यो वर्ष ७५ होलिस्टाइन गाई थप हुने छन्, दूध बिक्री नभएर किसानले बाटोमा फाल्नुपर्ने अवस्था आउन नदिनका लागि नगरपालिका सचेत छ”, उहाँले भन्नुभयो ।

गत मङ्गलबार मोडेल डेरी भिलेजको उद्घाटन गर्दै नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले यो कोरियाद्वारा अन्य मुलुकमा स्थापना गरिएको पहिलो डेरी भिलेज भएको बताउनुभयो । “यस वर्ष दक्षिण कोरिया र नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवस्थामा होलिस्टाइन गाईको पहिलो बाच्छीको आगमन दुई देशबीचको चिरस्थायी मित्रताको प्रतीक बनेको छ”, उहाँले भन्नुभयो, “सिन्धुलीको नमूना डेरी भिलेजको सफलताका लागि कोरियाले ज्ञान र स्रोतको हस्तान्तरणलाई निरन्तरता दिनेछ ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले कृषि क्षेत्रको मेरुदण्डका रुपमा रहेका साना किसानका लागि दिगो विकास र समृद्धिलाई प्रवद्र्धन गर्ने गरी डेरी क्षेत्रलाई आधुनिकीकरण गर्ने दिशामा यो सराहनीय काम भएको बताउनुभयो ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा वर्षमा २५ लाख ७० हजार मेट्रिक टन दूध उत्पादन हुन्छ । साथै दैनिकरुपमा ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने र त्यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा, ३३ प्रतिशत अनौपचारिक क्षेत्र तथा बाँकी ५० प्रतिशत घरेलू प्रयोजनमा खपत हुने गरेको पाइएको छ । रासस